बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकप २०२३ : प्रभाव पार्न सक्ने खेलाडी – एडन मारक्रम (दक्षिण अफ्रिका)

शनिबार, २० असोज २०८०, ०६ : ५७
शनिबार, २० असोज २०८०

दक्षिण अफ्रिकी टोलीका अलराउन्डर खेलाडी हुन्, एडन मारक्रम । उनी दक्षिण अफ्रिकालाई उमेर समूहको विश्वकपको उपाधि दिलाउने पहिलो कप्तान पनि हुन् । दक्षिण अफ्रिकाको सिनियर टोलीले भने हालसम्म एकदिवसीय विश्वकपको उपाधि जित्न सकेको छैन ।

२९ वर्षीय एडन मारक्रमले सन् २०१४ मा दक्षिण अफ्रिकालाई यू—१९ विश्वकपको उपाधि चुमाएका थिए । त्यो विश्वकपको फाइनलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । त्यो विश्वकपमा एडन मारक्रम दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका थिए । समग्रमा भने उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा तेस्रो स्थानमा थिए ।  

मारक्रमले सन् २०१७ को अक्टोबर २२ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले पहिलो एकदिवसीय खेल बंगलादेशविरुद्ध खेलेका थिए । आफ्नो ‘डेब्यू’ खेलमै उनले ६६ रन बनाएका थिए । दक्षिण अफ्रिका दुई सय रनले विजयी भएको त्यो खेलमा उनले दुई विकेट पनि लिएका थिए ।

उनले हालसम्म दक्षिण अफ्रिकाका लागि ५५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीय खेलमा उनले ३५.४२ को औसतले कुल एक हजार ६ सय ६५ रन बनाएका छन् । उनले दुई शतक र सातवटा अर्धशतक पनि हिर्काएका छन् । एकदिवसीय क्रिकेटमा उनको उच्च स्कोर एक सय ७५ रन हो ।

यसैगरी मारक्रमले दक्षिण अफ्रिकाका लागि ३५ टेस्ट पनि खेलेका छन् । टेस्ट क्रिकेटमा उनले ३६.२६ को औसतले कुल दुई हजार दुई सय ८५ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले ६ शतक र १० वटा अर्धशतक बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय ५२ रन हो ।

यसका अतिरिक्त उनले देशका लागि ३७ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै ३९.३७ को औसतले कुल एक हजार ६३ रन बनाएका छन् । टी—२० क्रिकेटमा उनले नौवटा अर्धशतक पनि प्रहार गरेका छन् । टी—२० मा उनको उच्च स्कोर ७० रन हो ।

मारक्रमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १६, टेस्ट क्रिकेटमा दुई र टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा नौवटा विकेटसमेत लिएका छन् । गत महिना खेलिएको अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृङ्खलामा उनी प्लेयर अफ दी सिरिज घोषित भएका थिए । पाँच खेलको उक्त शृङ्खलामा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३—२ ले हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप