शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

पर्साको जसपाभित्र पटक–पटक किन हुन्छ विवाद ?

४ वर्षदेखि कार्यबाहककै भर, २ जनाद्वारा आ–आफू जिल्ला अध्यक्ष भएको दावी
शनिबार, २० असोज २०८०, ११ : ३०
शनिबार, २० असोज २०८०

पर्सा । जनता समाजवादी पार्टी नेपाल (जसपा) को सबैभन्दा बढी विवाद हुने जिल्ला हो पर्सा । अहिले जिल्ला अध्यक्षमा विवाद भएपछि मधेस प्रदेश कमिटीले हस्तक्षेप गरेको छ । एउटा समूहले अर्को समूहका अध्यक्षलाई हटाएपछि मधेस पार्टीको प्रदेश कमिटीले त्यसको अध्ययनका साथै कमिटी पुनर्गठनका लागि कार्यदल गठन गरेको छ । कार्यदलले आफ्नो काम पनि सुरु गरिसकेको छ ।

असोज १० गते वीरगञ्जमा जसपा जिल्ला समितिको एउटा समूहको बैठकले बहुमतको निर्णय भन्दै रामनरेश यादवलाई जिल्ला अध्यक्षबाट हटाएर बहुदरामाइ नगरपालिकाका मेयर सिंहासन साह तेलीलाई अध्यक्ष बनाएको थियो । 

तर, रामनरेश यादवले त्यो निर्णय नमान्ने भएका छन् । यादव र तेलीले आफूलाई जिल्लाको अध्यक्ष दावी गर्दै राजनीतिक गतिविधि गरिरहेका छन् । 

उता, मधेस प्रदेश कमिटीले हाल दुवै अध्यक्षलाई मान्यता दिएको छैन । मधेस प्रदेश कमिटीका एक सदस्यले भने, ‘दुवै अध्यक्ष आआफ्नो अडानबाट नहटेपछि हामी कमिटी नै पुनर्गठन गर्ने पक्षमा पुगेका छौं ।’ जिल्ला कमिटी पुनर्गठन गर्ने भएपछि अध्यक्षका लागि अजय सर्राफ, बृजमोहन तेली, प्रेमबहादुर पटेललगायत आकाँक्षी देखिएका छन् । पार्टीको नयाँ विधान अनुसार जिल्ला जिल्लाका समिति पुनर्गठन गर्ने काम भइरहेको छ । त्यही अनुसार पर्साको कमिटी पनि पुनर्गठन गरिने ती नेताले बताए । 

पार्टीको एउटा समूहको बैठकले हटाएपछि रातोपाटीको सम्पर्कमा आएका रामनरेश यादवले भने, ‘दुई चार जना टाठाबाठाले बैठक बसेर होहल्ला गर्दैमा अध्यक्षबाट हट्ने कुरा हुँदैन । बहुमत छ भनेर हुन्छ, बहुमत देखाउनु पर्यो नि ?’ पार्टीको अध्यक्ष विनाको जिल्ला समितिको बैठक कस्तो बैठक हो, आफै अनुमान गर्नुहोस् भन्दै उनले पर्सा जिल्लाको अध्यक्ष आफू नै रहेको बताए । 

रामनरेश ४ वर्षसम्म पार्टीको जिल्ला अध्यक्ष हुँदा अधिवेशन गराउन नसकेको, जिल्लामा पार्टी कमजोर भएको लगायत कारण देखाउँदै उनलाई हटाइएको दावी पार्टी नेता तथा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताए ।  

यसै गरी, मधेस प्रदेश कमिटीका अध्यक्ष रामबाबु यादवको संयोजकत्वमा विवाद समाधान गर्न गठन भएको कार्यदलमा प्रदेश कमिटीका उपाध्यक्षद्वय रामपृत पासवान र सुशिल कुमार यादव, मुख्य सचिव दिनेश कुमार यादव तथा सचिव युसुफ अली सदस्य रहेका छन् । 

प्रदेश अध्यक्ष रामबाबु यादवले पर्सामा देखिएको विवाद कार्यदलले अध्ययन तथा अध्ययनबाट जे निष्कर्ष आउँछ, त्यही अनुसार अगाडि बढ्ने बताए । 

४ वर्ष कार्यबाहककै भर 

२०७५ माघमा जसपाका केन्द्रीय सदस्य एवं वर्तमान सांसद प्रदीप यादव जिल्ला अधिवेशनबाट जसपा पर्साको अध्यक्ष चयन भएका थिए । उनी विरुद्ध उम्मेदारी दिएका मञ्जुर अन्सारीले केवल चार मत मात्र ल्याएका थिए ।  

प्रदीप यादव जिल्लाको अध्यक्ष भएको छ महिनापछि अभागी ठहरिए । लाटभिया देशको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा सहभागी भएको आरोपमा २०७६ असारमा ६ मा केन्द्रीय समितिको बसेको बैठकले  उनलाई निलम्बन गर्यो । 

प्रदीप यादव जिल्ला अध्यक्षबाट हटेपछि विधानअनुसार कार्यबाहक अध्यक्ष उपाध्यक्ष सुन्दर कुर्मीलाई बनाइनुपर्ने थियो । तर, पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको जोडबलमा जिल्ला सदस्य रहेका रामनरेश यादवलाई कार्यबाहक अध्यक्ष बनाइयो । 

त्यसरी जिल्ला सदस्यलाई जिल्ला अध्यक्ष बनाइएपछि जिल्ला पार्टी कमिटीमा झन असन्तुष्टि बढ्यो । उपाध्यक्ष सुन्दर कुर्मीले आफू कार्यबाहक अध्यक्ष हुन नपाएकोमा अन्तुष्टि जनाइ रहेको बेला उनलाई विभिन्न प्रलोभनमा पारेर थामथुम पारियो । 

प्रदीप यादव निलम्बनबाट फुकुवा भएपछि पनि पार्टीले रामनरेश यादवलाई नै कायम राखेको थियो । प्रत्येक दुई दुई वर्षमा अधिवेशन गराउने प्रावधान हुँदा हुँदै अध्यक्ष यादवले विभिन्न बहानामा त्यसलाई टार्दै गए । 

विजय सरावगीले पार्टी छाड्ने तयारी गरिरहेको बेला उनलाई कार्यवाहक अध्यक्षबाट हटाउने कुरा पनि भएको थियो । तर, कार्यबाहक अध्यक्षबाट हटाए आफू पनि पार्टी छाड्ने धम्की दिएपछि स्थानीय चुनावसम्म उनलाई नै कायम राखियो । 

स्थानीयदेखि प्रतिनिधि सभाको चुनाव सकिएपछि पनि जिल्ला अधिवेशन गराउने नाम नलिएपछि पटक पटक जिल्लामा विवाद उत्पन्न भएको थियो । कतियौं पटक केन्द्रीय अध्यक्ष उपेन्द्र यादव आफै गएर पनि विवाद समाधान गरेका थिए । 

अहिले जिल्ला कमिटीको बहुमत सदस्यको बैठक बसेर उनलाई हटाएको पर्साका नेताहरु बताउँछन् । उनलाई हटाएपछि अहिले मधेस कमिटी कार्यदल गठन गरेर नै हस्तक्षेपकारी भूमिकामा आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप