बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

प्रभाव पार्न सक्ने खेलाडी – डेभोन कनवे (न्युजिल्यान्ड)

सोमबार, २२ असोज २०८०, ११ : ५२
सोमबार, २२ असोज २०८०

न्युजिल्यान्डका आक्रामक ब्याट्सम्यान हुन्, डेभोन कनवे । ३२ वर्षीय कनवेबाट यो विश्वकपमा न्युजिल्यान्डले निकै आशा गरेको छ । उनी माथिल्लो क्रमका ब्याट्सम्यान हुन् । टोलीलाई आवश्यक पर्दा उनी विकेटकिपरको भूमिका निर्वाह गर्न पनि सक्षम छन् । 

जारी विश्वकपको उद्घाटन खेलमा साबिक विजेता इङ्ल्यान्डलाई हराउन पनि कनवेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । इङ्गल्यान्डविरुद्धको उक्त खेलमा कनवेले अविजित एक सय ५२ रनको महत्त्वपूर्ण पाली खेलेका थिए । 

कनवेले केवल एक सय २१ बलको सामना गरी तीन छक्का र १९ वटा चौका हिर्काएका थिए । टोलीको कुल स्कोर केवल १० रन रहँदा पहिलो विकेट गुमाएको न्युजिल्यान्डलाई कनवे र रचिन रविन्द्रले मिलेर विजय लक्ष्यसम्म पुर्‍याएका थिए ।

बायाँहाते ब्याट्सम्यान कनवेले बेलाबखत बलिङ पनि गर्छन् । ब्याटिङ बायाँ हातले गरे पनि उनी बलिङ भने दायाँ हातले गर्छन् । तर, मध्यमतेज गतिका यी बलरलाई न्युजिल्यान्डले अन्तर्राष्ट्रिय क्रिकेटमा बलरका रूपमा भने प्रयोग गरेको छैन ।

कनवेले न्युजिल्यान्डका लागि हालसम्म २३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । एकदिवसीय क्रिकेटमा उनले ५४ को औसतले कुल एक हजार २६ रन बनाएका छन् । एकदिवसीय खेलमा उनले पाँच शतक र तीनवटा अर्धशतक बनाएका छन् । 

एकदिवसीय खेलमा उनको उच्च स्कोर भने अविजित एक सय ५२ रन हो । उनले देशका लागि १६ वटा टेस्ट पनि खेलेका छन् । टेस्ट क्रिकेटमा उनले ५०.१० को औसतले कुल एक हजार चार सय तीन रन बनाएका छन् । टेस्टमा उनले चार शतक र आठवटा अर्धशतक बनाएका छन् । 

टेस्ट क्रिकेटमा उनको उच्च स्कोर दुई सय रन हो । यसका अतिरिक्त उनले ४१ वटा टी—२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ४१.६० को औसतले एक हजार दुई सय ४८ रन बनाएका छन् । टी—२० मा उनको उच्च स्कोर अविजित ९९ रन हो । 

कनवेले भारतीय रंगशालामा खेलेको चारवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा कुल तीन सय सात रन बनाएका छन् । खासगरी स्पिन बलरविरुद्ध उनको प्रदर्शन उत्कृष्ट देखिन्छ । यो वर्ष स्पिनरविरुद्ध उनले कुल दुई सय ७४ रन बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप