मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकको पछिल्लो निर्देशनले उद्योगी व्यवसायीहरूको मनोबल बढ्ने आशा जगायो : अध्यक्ष ढकाल

सोमबार, २२ असोज २०८०, १३ : ४०
सोमबार, २२ असोज २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले उद्योगी व्यवसायीहरूको थोरै भए पनि मनोबल बढ्ने आशा जगाएको बताएका छन् । आइतबार नेपाल जग्गा तथा आवास विकास महासंघले आयोजना गरेको रियल इस्टेट व्यवसायी बृहत् भेला–२०८० कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

उनले सरकार र राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरूलाई ढिलै भए पनि बुझ्ने कोसिस गरेको जिकिर गरे । उनले लामो समयदेखि घरजग्गा कारोबारमा कित्ताकाट खोल्न र शेयर बजार कर्जा सीमा बढाउन आग्रह गरे पनि नमानेको तर अहिले आफूले गरेको निर्णय गलत भएको भन्दै परिमार्जन गर्नु स्वागतयोग्य रहेको बताए । 

उनले भने, ‘कोभिडपछि सहज रूपमा बैंकबाट कर्जा लिएको कारण अर्थतन्त्रमा समस्या आएको हामीलाई आरोप छ । तर वास्तविकतामा त्यस्तो होइन । सहज रूपमा कर्जा पाउँदा सहज रूपमा खर्च भयो होला । बैङ्कहरूले त्यो बेला सहज रूपमा कर्जा विस्तार गर्ने र नियमनकारी निकायहरूले पनि नियमन गरेका नै हुन् । त्यो दोष निजी क्षेत्रलाई मात्रै दिन मिल्दैन । अर्थतन्त्रमा जुन चुनौती र समस्या आयो त्यसमा सबै पक्षको दोष छ । सरकार,नियमनकारी निकाय राष्ट्र बैंक र निजी क्षेत्र मिलेर अहिलेको समस्या भन्दा बाहिर आउनुपर्छ ।’ 

‘अहिले मानिसहरूको मनोबल कमजोर भएको अवस्था छ । राष्ट्र बैंकको नीति आज एउटा आयो भोलि अर्को कस्तो आउने हो भन्ने व्यवसायीहरूलाई त्रास भइरहेको अवस्था छ । उद्योगी व्यवसायीहरूको मनोबल बढाउनको लागि प्रणालीलाई सुधार गर्दै लैजानुपर्ने सुझाव दिँदै आएका छौँ । निजी क्षेत्रले दिएका सुझावहरू पहिला सुनिएन तर अहिले निजी क्षेत्रले दिएका सुझावहरू निजी क्षेत्रको स्वास्थ्यको लागि मात्रै होइन रहेछन् भन्ने कुरा सरकार र राष्ट्रले अहिले आएर बुझ्न थालेको छ । त्यसैले अर्थतन्त्रलाई पहिलाकै लयमा फर्काउनको लागि एउटै एजेन्डा लिएर अगाडि बढ्नुपर्छ । नेपालको जनसङ्ख्याको १ प्रतिशत ६० लाख मानिसहरू शेयर बजारमा आबद्ध छन् । ६० लाख आबद्ध भएको व्यवसायलाई सरकारले इग्नोर गर्न मिल्दैन । राष्ट्र बैंकले केही दिन पहिला राष्ट्र बैंकले पुँजीबजारका विषयमा गरेको निर्णय गलत रहेछ भन्ने लागेर परिमार्जन भएको छ । नीति परिमार्जन भएसँगै आशा जगाउने काम भएको छ,’ उनले थपे

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायलाई उद्योगको रूपमा परिणत गर्न आवश्यक रहेको बताए । उनले घरजग्गा व्यवसाय विश्वमा नै मान्यता भएको व्यवसाय  भएकाले उद्योगको रूपमा विकास गर्न जरुरी रहेको बताए । 

घरजग्गा व्यवसायले विश्वलाई सहरीकरण गर्ने काम गर्ने भन्दै नेपाललाई पनि सहरीकरण गरी व्यवस्थित गर्ने काम गरिरहेको उनको भनाई थियो । उनले सरकारले घरजग्गा व्यवसायीहरूलाई हेलचेक्राँई गर्ने र प्रतिष्ठित व्यवसायीहरूलाई पनि दलालको जस्तो व्यवहार गर्ने काम भइरहेको बताए । उनले घरजग्गा व्यवसायलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए ।

त्यस्तै,नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले प्रत्यक्ष लगानीको अवधि र रकम तोक्नुपर्ने बताए । उनले अन्य क्षेत्रमा अवधि तोकेर लगानी गर्न प्रोत्साहन गरिरहेको अवस्थामा घरजग्गा क्षेत्रमा भने अवधि नतोकेकाले अवधि तोकेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने आवश्यकता रहेको सुझाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप