मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसमा महासमितिको तयारी तीव्र, प्रतिनिधि छनोटको चटारो

केही नेता हिन्दु राष्ट्रको मुद्दा उठाउने तयारीमा
मङ्गलबार, २३ असोज २०८०, १२ : ०८
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकको तयारी तीब्र पारेको छ । मंसिर १३ देखि १५ मा काठमाडाँैमा हुने महासमिति बैठकका लागि कांग्रेसलाई अहिले प्रतिनिधि चयनको चराटो छ ।

असोज मसान्तको समयावधि तोकेर महासमिति सदस्यको निर्वाचनतिर कांग्रेस केन्द्रित छ । ४३ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेका छन् भने ३४ जिल्लामा निर्वाचन हुँदैछ । केही जिल्लाका आंशिक क्षेत्रमा निर्वाचन बाँकी छ भने केहीमा सबै क्षेत्रमा निर्वाचन हुन बाँकी रहेको निर्वाचन समिति सदस्य सचिव जगन्नाथ श्रेष्ठले रातोपाटीलाई बताए ।

कोशी प्रदेशमा पाँचथर, इलाम, संखुुवासभा र धनकुटाबाट प्रतिनिधि छनोट भइसकेका छन् । मधेस प्रदेशमा सप्तरी र सिराहाबाट सबै प्रतिनिधि छनोट भएका छन् । बागमती प्रदेशका रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, चितवन, भक्तपुर, मकवानपुरको निर्वाचन सकिँदा गण्डकी प्रदेशका गोरखा, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, नवलपरासीमा पनि निर्वाचन सकिएको सचिव श्रेष्ठले बताए ।

लुम्बिनी प्रदेशका गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, बाँके तथा कर्णाली प्रदेशका रुकुम (पश्चिम), डोल्पा, मुगु, हुम्ला, कालिकोट, जाजरकोट र सुर्खेतबाट पनि प्रतिनिधिको टुङ्गो लागिसकेको छ ।

सुदूरपश्चिम प्रदेशका बझाङ, अछाम, दार्चुला, बैतडी र डडेल्धुराको निर्वाचन भएको विवरण निर्वाचन समितिलाई प्राप्त भएको श्रेष्ठको भनाइ छ ।

महासमिति सदस्य छनोट भएको रसुवाका एक जना अन्य पार्टीमा गएको र एक जनालाई अनुशासन समितिले कारबाही सिफारिस गरेकाले निर्वाचन समितिले अर्को प्रतिनिधिको नाम मागेको छ ।

चितवनबाट ११ जना निर्वाचित हुनुपर्नेमा १० को नाममात्र समितिमा आएको छ । हुम्लामा एक जना निर्वाचनमा बागी उम्मेदवार बनेकाले कारबाहीमा परेपछि १० जनाको नाममात्र फाइनल भएर आएको छ । ती क्षेत्रमा नयाँ प्रतिनिधिको नाम पठाउन निर्वाचन समितिले निर्देशन दिएको सचिव श्रेष्ठले बताए ।

तेह्रथुम, रौतहट, सिन्धुपाल्चोक, नवलपुर, रुपन्देही, बर्दिया, बाजुरामा पनि महासमिति सदस्यको निर्वाचन सम्पन्न भएको उनको भनाइ छ ।

यसमध्ये बर्दियाको क्षेत्र नं. १ बाट १० जनाको नाम र क्षेत्र नं. २ बाट १२ जनाको नाम आएकाले सच्याउन पठाइएको समितिले जनाएको छ । समिति सदस्य श्रेष्ठका अनुसार ३४ जिल्लामा कतै आंशिक र कैत सबै क्षेत्रमा निर्वाचन हुन बाँकी छ । ललितपुर र ताप्लेजुङमा भने निर्वाचन प्रतिनिधिसमेत पठाउन बाँकी छ ।

भोजपुर, झापा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, पर्सा, दोलखा, रामेछाप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु अर्घाखाँची, दैलेख, सिन्धुली, सल्यान, डोटी, कञ्चनपुर र जुम्लाको कुनै पनि निर्वाचन क्षेत्रबाट प्रतिनिधिको छनोट हुन सकेका छैन ।

यता मोरङका क्षेत्र नम्बर ३, ५ र ६, सुनसरी १, उदयपुर १ र २, धनुषा २ र ३, महोत्तरी २ बाहेकको बाँकी, सर्लाही १ र ३ मा बाँकी, बारा ३, धादिङ १, काठमाडौँ ८, पाल्पा २, दाङ १ र ३ र कैलाली २ र ३ मा निर्वाचन हुन बाँकी रहेको श्रेष्ठले बताए ।

कांग्रेसको विधान अनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ । यसपटक कांग्रेसको महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी रहने छन् ।

कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसंख्याको बनोटको आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन् ।

१६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृसंस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुन्छ ।

कांग्रेसका ३५ देशमा जनसम्पर्क समिति छन् । क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुने छन् । भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुनेछन् । कांग्रेसका अहिले १३ भ्रातृसंस्था र १८ शुभेच्छुक संस्था छन् । यी सबै गरी २५ भन्दा बढी प्रतिनिधि महासमिति बैठकमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनमा २५ जिल्लामा मात्र महासमिति सदस्यका लागि निर्वाचन भएको थियो । बाँकी जिल्लामा महाधिवेशन प्रतिनिधिमात्र चयन गरिएको थियो ।

महाधिवेशनताका महासमिति सदस्य चयन नभएपछि अहिले धमाधम निर्वाचन भइरहेको छ । कांग्रेसले केन्द्रमा पनि नीतिमाथि कुनै छलफल नगरी पदाधिकारी र सदस्यको निर्वाचनमात्रै गरेको थियो ।

६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले अहिले महासमित बैठकमै आगामी नीति तय गर्न लागेको देखिन्छ ।

विधानले नीति महाधिवेशनको व्यवस्था नगरेको र सहभागी प्रतिनिधिको विषयमा जटिलता देखिएपछि कांग्रेसले महासमितिलाई नीति महाधिवेशनको विकल्पमा व्याख्या गरेको छ ।

कांग्रेसको विधानमा महाधिवेशन भएको वर्षमा बाहेक प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ । महासमितिमा समसामयिक राजनीतिक विषयमा विचार निर्माण गर्नुको साथै विधान र नियमावलीका विषयमा छलफल हुने कांग्रेसमा अभ्यास छ ।

आसन्न महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक मुद्दा समेटेर प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

महामन्त्री थापाका अनुसार राष्ट्रिय राजनीति, समाजवादीको विषय, परराष्ट्र, आर्थिक स्थिति, युवा विदेश पलायन लगायतका विषय नीतिगत प्रस्तावमा आउने छन् ।

महामन्त्री शर्माले वर्तमान राजनीतिक विषय वस्तु समेटर राजनीतिक प्रतिवेदन तयार पार्ने छन् । गठबन्धन, सरकार, विपक्ष पार्टीको गतिविधि, मुलुकको राजनीतिक अवस्था लगायतका विषयले शर्माको प्रतिवेदनमा स्थान पाउने छन् ।

यस्तै महामन्त्री थापाको प्रतिवेदन पार्टीको सांगठनिक गतिविधिमा मात्र केन्द्रित हुने छ । सरकारको स्थिरताका लागि निर्वाचन प्रणाली संशोधन, क्रियाशील सदस्यताबाटै पार्टी सभापति निर्वाचित, प्रदेश र स्थानीय संरचनालाई अधिकारसम्पन्न बनाउनुपर्ने मुद्दा अघि सार्ने नेताहरुको तयारी छ ।

नेता शंकर भण्डारी, भीम पराजुली लगायतका नेताहरु हिन्दु राष्ट्रको मुद्दा उठाउने तयारीमा छन् । यसअघिको महासमिति बैठकमा पनि हिन्दु राष्ट्रको मुद्दाले प्रवेश पाएको थियो । यद्यपि पार्टीले उक्त मुद्दालाई औपचारिक रुपमा बहसको विषय भने बनाएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप