सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
विदेश भ्रमण

तीनवटै सुरक्षा निकायका प्रमुख विदेश भ्रमणमा

प्रहरीमा निमित्तको पनि निमित्त तोकिए
बुधबार, २४ असोज २०८०, ११ : १६
बुधबार, २४ असोज २०८०

काठमाडौँ । धार्मिक र साम्प्रदायिक समस्या बढ्दै जाँदा मुलुकको तीनवटै सुरक्षा निकायका प्रमुखहरूचाहिँ विदेश भ्रमणमा लागेका छन् । सुरक्षा निकायका प्र्मुखहरु विदेश भ्रमणमा रमाइरहँदा सुरक्षामा थप चुनौती थपिने जानकारहरू बताउँछन् ।

प्रहरी महानिरीक्षक वसन्त कुँवर अहिले बेलायत भ्रमणमा छन् । असोज २० मा ४ सदस्यीय टिमसहित उनी संयुक्त अधिराज्य बेलायत गएका हुन् । असोज २२ देखि २६ सम्म आयोजना हुने ‘ईन्टिग्रेटेड प्रोग्राम फर स्ट्रेन्थिङ सेक्युरिटी एण्ड जस्टिस फेज–२’मा सहभागी हुन आईजीपी कुँवर बेलायत भ्रमणमा गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आइजिपीसँग डिआइजी विष्णु केसी, एसएसपी दानबहादुर कार्की र शेखर खनाल बेलायत भ्रमणमा छन् ।

प्रधान सेनापति प्रभुराम शर्मा पनि संयुक्त अधिराज्य बेलायतको भ्रमणमा छन् । प्रधान सेनापति असोज २१ मा बेलायत प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधान सेनापति शर्माले वेल्स ब्रेकनस्थित सेन्नी ब्रीज ट्रेनिङ एरिया क्याम्पमा सञ्चालित क्याम्ब्रियन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेटघाट गरेका छन् ।

शर्माले बेलायती समकक्षी जनरल सन्डेर्स र अन्य कमाण्डान्टहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । प्रधान सेनापतिसँग उपरथी सन्तोषकुमार ढकाल र सेनापतिका स्टाफ अधिकृत सहभागी छन् । प्रधान सेनापतिको अनुपस्थितिमा रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार समालेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधान सेनापति असोज २७ मा नेपाल फर्किँदै छन् ।

मङ्गलवार सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल पनि अमेरिका प्रस्थान गरेका छन् । आईजीपी अर्याल ‘इन्टरनेशल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फेरेन्स’ मा सहभागी हुन अमेरिका गएका हुन् । सो सम्मेलन असोज २७ देखि ३० सम्म सञ्चालन हुने सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले जनाएको छ । आईजीपी अर्यालको अनुपस्थितिमा एआईजी नारायणदत्त पौडेलले निमित्त आईजीपीको जिम्मेवारी सम्हालेका छन् ।

सुरक्षा निकायमा नेतृत्व तह विदेश भ्रमणमा जाँदा निमित्तको पनि निमित्तले दैनिक कामकाज गर्ने जिम्मेवारी लिने अवस्था सिर्जना भएको छ । नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर बेलायत जाँदा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई निमित्त आईजीपीको जिम्मेवारीमा थिए । तर, असोज २३ एआईजी राई पनि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखी ३० सम्म सञ्चालन हुने ‘ईन्टरनेशल एसोसिएसन आफ चिफ अफ पुलिस कन्फेरेन्स’मा सहभागी हुन राई अमेरिका गएका हुन् । एआईजी राईले आफ्ना समकक्षी एआईजी दीपक थापालाई दैनिक कामकाज समाल्ने गरी निमित्तको जिम्मेवारी दिएका छन् । एआईजी थापा उपत्यका प्रहरी कार्यालयका प्रमुख हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप