मोदीलाई अध्यक्ष नेपालको आग्रह : अब सिमानाका विषयमा पनि स्पष्ट हुनुहोस्
कैलाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताएका छन् । समाजवादी जागरण अभियानअन्तर्गत आज १२ औँ दिन सुदूरपश्चिमको टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले धरान, सर्लाही र नेपालगन्जका साम्प्रदायिक घटनाले त्यस्तो सङ्केत गरेको बताएका हुन् ।
उनले भने, ‘सामाजिक सद्भावलाई भड्काउने केही कोसिस भइरहेको छ । त्यस्ता प्रयत्नहरूलाई हामीले असफल पार्नुपर्छ ।’ उनले जनताको बिचमा प्रेम, आपसी सद्भाव वृद्धि गर्नका लागि आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘यस्तो कुरामा सरकार सचेत रहोस् ।’ संसारको कुनै पनि व्यवस्था आफैँमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिष्कारको क्रम निरन्तर रहने उनले बताए ।
उनले देशको सिमानाका बारेमा संयमित भएर बोल्नु पर्ने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इङ्गित गर्दै उनले भने, ‘एक अर्को देशको राष्ट्रियता, अखण्डता र स्वाधीनताको सम्मान हुने गरी अभिव्यक्ति दिनुहोस् ।’ नेपालको संसद्मा भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गरेको स्मरण गर्दै उनले भने, ‘जसरी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर नेपालको संसद्मा बोल्नुभयो, नेपाली जनताको मन जित्नुभयो, अब सिमानाका विषयमा पनि स्पष्ट हुनुहोस् ।’
एक अर्को प्रसङ्गमा अध्यक्ष नेपालले युवाहरूमा राजनीतिप्रति वितृष्णा सिर्जना हुने गरी भ्रम सिर्जना गरिएको बताउँदै एकीकृत समाजवादीले युवाहरूलाई समेट्दै अगाडि बढिरहेको र जागरण अभियानका क्रममा हजारौँ युवाहरूलाई समेटेको बताए । उनले भने, ‘युवाहरू निराश नहुनुहोस्, हामी छौँ, जनताको माझमा जाँदा सकारात्मक प्रभाव पाएका छौँ, युवाहरूको आकर्षण बढेको छ, अब निराश हुनुपर्दैन ।’
समाजवादी जागरण अभियानका क्रममा २६ असोज, शुक्रबारका दिन कैलाली जिल्लाका लम्की, सुख्खड, अत्तरिया हुँदै धनगढीमा विविध कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त अभियान २७ असोज, शनिबार कञ्चनपुर जिल्लाको पुनर्वास, झलारी हुँदै लालपुर र महेन्द्रनगरसम्म पुग्ने छ । अभियान २८ असोज, आइतबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा विविध कार्यक्रमसहित समापन हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण