बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

१२ स्वर्णसहित कोटेश्वर डोजाङ च्याम्पियन, अशोक सम्मानित

आइतबार, २८ असोज २०८०, १० : २८
आइतबार, २८ असोज २०८०

काठमाडौँ । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले ‘कोटेश्वर डोजाङ तेक्वान्दो प्रतियोगिता’ मा सर्वाधिक १२ वटा स्वर्ण पदक जितेको छ । शनिबार अबेर सम्पन्न उक्त प्रतियोगितामा कोटेश्वरले नौ रजत र १४ वटा कांस्य पदक पनि जित्यो ।

विजयी दशमीको उपलक्ष्यमा आयोजित उक्त प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमी १० स्वर्ण, आठ रजत र सात वटा कांस्य पदकसहित दोस्रो स्थान हासिल गर्‍यो । तेस्रो स्थानमा रहेको सुन्दरीमाइले सात स्वर्ण, ६ रजत र सात कांस्य पदक जित्यो । 

प्रतियोगिताको विजयी टोली र खेलाडीलाई तेक्वान्दोका ओलम्पियन विधान लामा, नेपालकी पहिलो महिला ब्लाक बेल्टधारी ब्रिगेडियर सुधा सेन मल्ल, तेक्वान्दोका ओलम्पियन दीपक विष्ट, तेक्वान्दोका पूर्वमुख्य प्रशिक्षक ध्रुव गुरुङ, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन श्रेष्ठलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा १३ टोलीका दुई सय ८७ जना खेलाडी सहभागी थिए ।

प्रतियोगिताका क्रममा कोटेश्वर तेक्वान्दो डोजाङले नेपाली तेक्वान्दोमा योगदान पुर्‍याएकोमा अशोक खड्कालाई सम्मान गरेको थियो । तेक्वान्दोका ओलम्पियन विधान लामा, नेपालकी पहिलो महिला ब्लाक बेल्टधारी ब्रिगेडियर सुधा सेन मल्ल र तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन श्रेष्ठले खड्कालाई कदरपत्र प्रदान गरे । 

थुप्रै अन्तर्राष्ट्रिय र्‍याङकिङ च्याम्पियन्सिपमा निर्णयकको भूमिका निर्वाह गर्नुका साथै एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको नाम राखेको र प्रशिक्षकको रूपमा थुप्रै तेक्वान्दो खेलाडी उत्पादन गरेकोले खड्कालाई सम्मान गरिएको आयोजक डोजाङले जनाएको छ । 

गत वर्ष विश्व तेक्वान्दोमा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका खड्काले हालसम्म दुई दर्जनभन्दा बढी अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णयको भूमिका निर्वाह गरिसकेका छन् । बेल्जियम ओपन, स्विडिस ओपन, अस्ट्रेलियन ओपनजस्ता वर्ल्ड र्‍याङकिङ प्रतियोगितामा सर्वश्रेष्ठ निर्णायक घोषित भइसकेका खड्का पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मीमध्ये एक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप