बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

प्रभाव पार्न सक्ने खेलाडी– जोस बट्लर (इङ्ल्यान्ड)

आइतबार, २८ असोज २०८०, १३ : १६
आइतबार, २८ असोज २०८०

काठमाडौँ । उपाधि जोगाउने अभियानसहित जारी विश्वकप यात्रामा होमिएको साबिक विजेता इङ्ल्यान्डको सबैभन्दा अनुभवी खेलाडीमध्ये एक हुन्, जोस बट्लर । उनी टोलीका आक्रामक ब्याट्सम्यान हुन् । ३३ वर्षीय बट्लर टोलीका विकेटकिपर पनि हुन् । 

बट्लर टोलीका कप्तान पनि हुन् । दायाँहाते यी ब्याट्सम्यान मध्यक्रममा क्रिज समाल्न आउँछन् । जारी विश्वकपको उद्घाटन खेलमा न्युजिल्यान्डविरुद्ध पनि उनले ४३ रन बनाएका थिए । यद्यपि, आफ्नो पहिलो खेलमा इङ्ल्यान्ड पराजित भएको थियो । 

बंगलादेशविरुद्धको दोस्रो खेलमा भने उनी खासै चल्न सकेनन् । त्यो खेलमा १० बलको सामना गरी एक छक्का र एक चौकाको मद्दतले २० रन बनाउँदै उनी पेभेलियन फर्किएका थिए । तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटलाई जोड्दा उनले १० हजार पाँच सयभन्दा बढी रन बनाइसकेका छन् । 

बट्लरले हालसम्म देशका लागि एक सय ७१ वटा एकदिवसीय प्रतियोगिता खेलिसकेका छन् । उनले एकदिवसीय खेलमा ४१.४० को औसतले कुल चार हजार आठ सय ८६ रन बनाएका छन् । उनले एकदिवसीय खेलमा ११ शतक र २५ वटा अर्धशतक पनि प्रहार गरेका छन् । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङतर्फ उनको उत्कृष्ट प्रदर्शन अविजित एक सय ६२ रन हो । उनले ३५ वटा स्टम्पिङ पनि गरेका छन् । कुशल फिल्डरसमेत रहेका बट्लरले एकदिवसीय खेलमा दुई सय १५ वटा क्याच पनि लिएका छन् । 

यसैगरी उनले टेस्ट क्रिकेटमा ५७ खेल खेल्दै ३१.९४ को औसतले कुल दुई हजार नौ सय सात रन बनाएका छन् । उनले टेस्ट क्रिकेटमा दुई शतक र १८ वटा अर्धशतक पनि प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय ५२ रन हो । 

टेस्ट क्रिकेटमा उनले हालसम्म एउटा स्टम्पिङ गरेका छन् भने एक सय ५३ वटा क्याच पनि लिएका छन् । यसका अतिरिक्त उनले देशका लागि एक सय नौवटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । 

उनले टी—२० अन्तर्राष्ट्रियमा ३५.१ को औसतले कुल दुई हजार सात सय ६६ रन बनाएका छन् । टी—२० मा उनले एक शतक र २० वटा अर्धशतक पनि प्रहार गरेका छन् । उनको उच्च स्कोर भने अविजित एक सय एक रन हो । 

बट्लरले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ११ वटा स्टम्पिङ गरेका छन् भने ६० वटा क्याच पनि लिएका छन् । सम्भवतः आफ्नो खेल जीवनको अन्तिम एकदिवसीय विश्वकप खेलिरहेका बट्लरबाट यो विश्वकपमा इङ्ल्यान्डले निकै ठुलो आशा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप