बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमालेमाथि प्रचण्डको आरोप : कहिल्यै सत्तामा फर्किन पाउँदिन कि भनेर विक्षिप्त छ

आइतबार, २८ असोज २०८०, २३ : २२
आइतबार, २८ असोज २०८०

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले कहिल्यै सत्तामा फर्किन पाउँदिन कि भनेर विक्षिप्त भएको आरोप लगाएका छन् । आइतबार चितवनको  भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले कोशीको घटनाक्रमलाई जोड्दै एमालेमाथि उनी खनिएका हुन् । 

कांग्रेसका शेखर पक्षका ८ सांसदले एमालेसँग मिलेर मुख्यमन्त्री भएपछि प्रचण्डले एमालेप्रति लक्षित गर्दै अभिव्यक्ति दिए  । तर एमालेले गठबन्धन विभाजन गर्न खेलेको षड्यन्त्र असफल पारेको दाबी गरे । गठबन्धन सरकार नै पूर्ण कार्यकाल रहने उनले दाबी गरे । 

‘कहिल्यै सत्तामा फर्किन पाइँदैन कि भनेर एकथरी निकै विक्षिप्त भएका छन् । सायद तपाईँले महसुस गर्नुभएको होला । अहिले भर्खरै कोशी प्रदेशमा जे राजनीति परिदृश्य तपाईँले देख्नुभयो होला, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे यहाँ खेल्न सकिन्छ कि यहाँभित्र कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भन्ने योजना अन्तर्गत यो काम भएका थिए’, उनले भने, ‘तर हिजो प्रधानमन्त्रीको हैसियतले म, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको नेतृत्वमा एउटा सहमति भएपछि , त्यो षड्यन्त्रलाई पनि निस्तेज पारिएको छ । अब यो गठबन्धन पूर्ण कार्यकाल यही स्पिरिडमा देश र जनताको पक्षमा काम गर्ने विश्वास मत तपाईँलाई दिलाउन चाहन्छु ।’ 

सरकारले सुशासन र आर्थिक समृद्धिको पक्षमा राम्रो काम गरेको एमालेलाई मन नपरेकाले के गरी गठबन्धन कमजोर पार्ने, के गरी यो गठबन्धन उल्टाउने भन्ने योजनामा लागेको आरोप लगाए ।   यो गठबन्धन सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा, देशको राष्ट्रिय स्वाधीनतालाई अझ बलियो बनाउने भारत, अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत बनाउने नेपाललाई राजनीति स्थायित्व र गतिशील बनाउने प्रक्रिया रहेको पनि उनले जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप