आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा दसैँ तिहार महोत्सव सम्पन्न

आइतबार, २८ असोज २०८०, २० : ०७
आइतबार, २८ असोज २०८०

अमेरिकाको डीसी महानगर क्षेत्रमा दसैँ तिहार महोत्सव २०२३ भव्यताका साथ सम्पन्न भएको छ । भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टीको फेयरग्राउण्डमा अक्टोबर १४, शनिबारका दिन कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा गायक तथा गीतकार कालीप्रसाद बास्कोटा मुख्य आकर्षणका केन्द्र थिए । उनले आधा दर्जनभन्दा बढी आफ्ना कालजयी र प्रसिद्ध गीत प्रस्तुत गरेका थिए ।

अमेरिकाको न्युह्याम्सरबाट आएका हिमालयन ड्रिम्सको टोलीले आधा दर्जनभन्दा बढी सांगीतिक प्रस्तुति दिएको थियो ।

यसैगरी अमेरिकी ‘द भ्वाइस’ मा सेमिफाइनलमा पुगेकी बाल्टिमोरकी नेपाली चेली परिजिता बास्तोलाले पनि कार्यक्रममा गीत गाएकी थिइन् ।

यस्तै फिरोज स्याङ्गदेन तथा उनको ब्याण्ड (संगीत मण्डली)ले पनि कार्यक्रममा प्रस्तुति दिएको थियो । अमेरिकामै जन्मेकी भर्जिनिया सेन्टरभिलकी नेपाली चेली प्रकृति देउजाले पनि नेपाली र अंग्रेजी गीत गाएकी थिइन् । यस्तै, अमेरिकाको भर्जिनियामै जन्मिएकी रेहाना दाहालले पनि आफ्नो प्रस्तुतिबाट दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिइन् ।

न्युयोर्कबाट आएका कलाकार तथा जादुगर महादेव त्रिपाठीले दुई पटक फरक प्रस्तुति गरेका थिए ।

दसैँ तिहार फेस्ट अर्थात् दसैँ तिहार महोत्सव २०२३ वासिङ्टन डीसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली समुदाय तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी आयोजना गरिएको हो ।

अमेरिकामा बसोबास गरिरहेका नेपाली र विदेशीमाझ नेपाली संस्कृति प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा दसैँ बजार, नेपाली खानाका परिकार, नेवारी खाना, थारु खाना, सेलरोटी, गहना पसल र लुगा तथा अन्य विभिन्न सामानका प्रदर्शनी कक्ष राखिएको थियो ।

महोत्सवमा दिउँसोको समयमा मंगलधुन, लाखे नाच, रथ प्रदर्शनी लगायतका सांस्कृतिक कार्यक्रम तथा तामाङ, नेवार, गुरुङ र अन्य जातजातिका पहिचान झल्किने प्रस्तुति थियो ।

महोत्सव थ्री इन्टरटेनमेन्टले आयोजना गरेको थियो । दसैँ तिहार महोत्सवमा प्रथम भाग्यशाली चिट्ठा विजेतालाई अमेरिकाबाट नेपाल जाने र आउने टिकट प्रदान गर्नुका साथै दोस्रो भाग्यशाली विजेतालाई अमेरिकाभित्रको यात्रामा ४५० डलरसम्मको छुट र तेस्रो विजेतालाई ६५ इन्चको टिभी प्रदान गर्ने उद्देश्यले चिट्ठाको घोषणा गरिएको थियो ।

कार्यक्रममा राजश्री श्रेष्ठ, कलाकार निशा अधिकारी, प्रसिद्ध कलाकर पवनकली मम्पी घोष लगायतले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम अनेष्ट रियल स्टेटले आयोजना गरेको हो भने अन्जना बुढाथोकीले सबैलाई धन्यवाद दिएकी थिइन् ।

कार्यक्रमका बिच मेरिल्याण्ड राज्यका नेपाली मूलका विधानसभा सदस्य डा ह्यारी भण्डारीसहित विदेशी स्थानीय नेताहरु समेतले शुभकामनासहित आफ्ना भनाइ राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप