शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘एनआरएन द सिङ्गर’ मा बेलायतकी यूक्ति विमली विजयी

सोमबार, २९ असोज २०८०, ०६ : ४६
सोमबार, २९ असोज २०८०

लन्डन । ‘एनआरएन द सिङ्गर’ २०२३ को उपाधि बेलायतकी युक्ति विमलीले जितेकी छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालको व्यवस्थापनमा भएको गायन प्रतियोगिता ‘एनआरएन द सिङ्गर’ मा युक्ति विजयी भएकी हुन् ।

उनले पाँच लाख नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेकी छन् । उनी कार्यक्रममा प्रत्यक्ष रूपमा उपस्थित नभएको हुँदा उनको पुरस्कार गैरआवासीय नेपाली संघ युरोप संयोजक सन्तोष भट्टराईले लिएका छन् । गैर आवासीय नेपाली संघ यूके अध्यक्षमार्फत पुरस्कार विजेतामार्फत पुर्‍याउने भट्टराईले जनाए । 'विदेशमा बसेर नेपाली कला संस्कृतिलाई माया गर्ने आफ्नो चाहनामा थप प्रोत्साहन मिलेको छ । मलाई यो स्थानमा पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण, आफन्त तथा इष्टमित्रलगायत गैरआवासीय नेपाली संघका साथै निर्णायक मण्डललाईसमेत धन्यवाद दिन चाहन्छु'- युक्तिले भनिन् ।

आफू जहाँ बसे पनि नेपाली भाषा र नेपाली संस्कृतिलाई बिर्सन नहुने बताउने १७ वर्षीय युक्तिले बेलायतमा ‘ए’ लेभल गरेकी छन् । पहिलोपटक गरिएको रियालिटी शो ‘एनआरएन द सिङ्गर’ का लागि ३७ देशका तीनसय बढी सहभागी थिए, जसमध्येबाट उत्कृष्ट ४० जना छनौट गरेर प्रतियोगिता सुरु भएको थियो । यसैगरी फर्ष्ट रनर अप कर्मा दोंग तामांग र सेकेन्ड रनर अप नर्वे र सुभाष चन्द्र पुन मगर, पोर्चुगल ले क्रमशः दुई लाख र एक लाख नगद पुरस्कार ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ मूल नाराका साथ ‘एनआरएन द सिङ्गर’ को निर्णायक मण्डलमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई नेपालबाट, शर्मिला बर्देवा यूकेबाट र रुपककुमार शाही अस्ट्रियाबाट रहेका थिए ।

‘एनआरएन द सिङ्गर’ को ग्राण्ड फिनाले मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा आइतबार काठमाडौँमा भएको थियो । मन्त्री किराँतीले गैरआवासीय नेपालीहरूले नेपाल र नेपाली भूमिलाई बिर्सन नहुने बताउँदै आफ्नो कला संस्कृतिलाई निरन्तरता दिन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप