शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ

भारतबाट दसैँ मनाउन फर्किनेहरूको घुइँचो, घर जाने टिकट पाउन सकस

यात्रुहरूका लागि ‘हेल्प डेस्क’ सञ्चालन
सोमबार, २९ असोज २०८०, ०९ : २०
सोमबार, २९ असोज २०८०

धनगढी । घटस्थापनादेखि सुदूरपश्चिमका सीमानाकामा चहलपहल निकै नै बढेको छ । कामको सिलसिलामा भारत पसेकाहरू दसैँ मनाउन घर फर्किन थालेपछि भारतसँग जोडिएका सीमा नाकामा भिडभाडसँगै चहलपहल बढेको हो । 

यतिमात्रै होइन,  सुदूरपश्चिमको तराईका जिल्लाबाट दसैँ मनाउन पहाड जानेको पनि भीड लाग्न थालेको छ । सुदूरपश्चिम प्रदेशको राजधानीको समेत रहेको धनगढी तथा अत्तरियास्थित बसपार्कमा दसैँ मनाउन पहाडी जिल्लामा जानेको निकै नै भीड लाग्न थालेको छ । खास गरी सुदूरपश्चिम प्रदेशका पहाडी एव हिमाली जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, डोटी जानेहरूको धनगढी तथा अत्तरिया बसपार्कमा घुइँचो लागेको हो ।

यसैबिच यात्रुहरूले बसपार्कमा टिकट पाउन समेत सास्ती भइरहेको बताएका छन् । बझाङ जान लागेका दीपक सिंहले बडो मुस्किलले टिकट पाएको सुनाए । तर यो बेला बसमा ओभर लोड हुने पो हो कि भन्ने पनि चिन्ता व्यक्त गरे ।

भारतबाट फर्किएका कतिपय यात्रुहरूले गृह जिल्ला जाने सवारी साधन समेत नपाएको गुनासो सुनाएका छन् । लामो दुरीको यात्राका लागि अग्रिम टिकट सकिएको र अतिरिक्त गाडी आए मात्र सबै यात्रुलाई सहज हुने यातायात व्यवसायीहरूले बताएका छन् ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिले यात्रुहरूको चापलाई मध्यनजर राख्दै थप बस उपलब्ध गराउने जनाएको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिका कार्यालय प्रमुख देवीलाल जोशीले यतिबेला काठमाडौँबाट धनगढी आउने र भारतबाट फर्किएकाहरू गाउँ जानेको चाप बढी रहेको बताउँदै जसलाई मध्यनजर गर्दै थप गाडी पठाइरहेको बताए । सबै रुटमा चार सय गाडी चलिरहेको बताउँदै जोशीले यात्रुहरूको चापलाई मध्यनजर गरेर थप गाडीहरू पनि पठाइरहेको जानकारी दिए । 

त्यस्तै यात्रुहरूले समयमा टिकट नपाउने र सुरक्षित यात्राको लागि सवारी सधानमा कार्यरत जनशक्तिलाई तालिम दिने र प्रभावकारी सेवा दिन निर्देशन दिएको उनको भनाइ छ ।

रिभर साइड यातायात प्रालि लम्कीका महासचिव सुरेन्द्र पाण्डेले हाल २ सय बस सञ्चालनमा रहेको जानकारी दिए । पाण्डेले पनि यात्रुहरूको चापलाई मध्यनजर गरी थप बस सञ्चालनमा ल्याएको बताए ।

Gauriphanta (2)

७ स्थानमा ‘हेल्प डेस्क’

दसैँलाई मध्यनजर गरी सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले बसपार्कमा एउटा ट्राफिक बिट भए पनि चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

साथै सुदूरपश्चिम प्रदेशका ७ वटा सीमावर्ती क्षेत्रमा सहायता कक्ष ‘हेल्प डेस्क’ स्थापना गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका हुन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)ले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चाडपर्व सुरक्षा तथा यात्रु आवागमन व्यवस्थापन गर्न विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको जनाएका छन् ।

कैलालीको गौरीफन्टा र मोहना, दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी लगायतका ७ ठाउँमा सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी र सशस्त्रका सहायता कक्ष छठसम्म सहायता कक्ष कायम रहने गरी स्थापना गरिएको हो । चाडपर्वमा यात्रुको आवागमन बढी हुँदा सार्वजनिक सवारीको भाडामा ठगिने, भिडभाडको मौका छोपेर लुटपाट, चोरी/डकैती हुने, लामो दूरीका सवारी साधनमा अनिवार्य २ जना चालक राख्ने मापदण्ड पालना नहुने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने जस्ता गतिविधि नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर नाका क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गराइएको हो ।

टिकट काउन्टर आसपास भाडामा हुने ठगी नियन्त्रण गर्न सादा पोसाकका सुरक्षाकर्मीलाई पनि तैनाथ गरिएको छ । प्रहरीले मुख्य सहर र बढी भिडभाड हुने स्थानमा सहायता कक्षलाई केन्द्रित गरेको छ । रोजगारीबाट तथा भारतीय बजारमा किनमेल गरेर फर्किएका नेपाली देश टेक्न नपाउँदै सीमा पारी नै लुटपाटमा पर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप