सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङमा हिमपात, किसान खुसी

मङ्गलबार, ३० असोज २०८०, २१ : ४५
मङ्गलबार, ३० असोज २०८०

मनाङ । हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन । 

जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए । 

“विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै सुरुआत भएको छ”, अध्यक्ष गुरुङले भने । उनका अनुसार तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेकलगायत माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपात हुन सुरु भएपछि स्थनीयवासीमा खुसियाली छाएको छ । समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने स्थानीय बताउँछन् । 

स्थानीय याङदुङ गुरुङले सयममा हिमपात हुँदा किसानमा खुसी छाएको बताए । “हिमपात नहुँदा पानीको अभावले उत्पादन कम हुन्छ, यहाँ हिउँकै भरमा खेतीपाती हुने भएकाले अहिले सुरुआत भएको छ, यसले किसानलाई फाइदा हुन्छ”, उनले भने । 

हिमपात भएपछि याक, चौँरीलाई घाँस पनि राम्रोसँग पलाउने गुरुङले बताए । “हिमपातको सुरुआत भएकाले मङ्सिरको पहिलो सातादेखि खर्कबाट याक, चौँरी बेसी झार्ने बेला भएको छ”, उनले भने । हिमाली जिल्लाका मानिसलाई त हिमपात भएपछि खुसी हुने गरेको उनले बताए । 

गत वर्ष हिमपात नहुँदा खेतीबालीलाई पानीको अभाव भएको थियो । यस वर्ष समयमा नै हिमपातको सुरुआत हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको छ । समयमा नै हिमपात भएपछि जमिनको तल्लो सतहसम्म पानीले भिज्ने र उत्पादन राम्रो हुने गुरुङले बताए । 

गुरुङले भने, “पहिले पहिलेको तुलनामा अहिले हिमपात कम हुने गरेको छ, तर पनि समयमा परिदिए राम्रो हुने थियो, उत्पादन राम्रो हुने आशा लिएका छौँ, यस वर्ष समयमा नै सुरु भएको छ ।” यहाँ उत्पादन हुने स्याउ, करु, जौ, फापर, आलुलगायतका बाली पानी पुग्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप