शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

भित्र्याउन लागेको बालीनाली असिनाले नष्ट भएपछि कर्णालीका किसानलाई छाक टार्ने चिन्ता

बुधबार, ०१ कात्तिक २०८०, ०९ : ३५
बुधबार, ०१ कात्तिक २०८०

सुर्खेत । हप्ता दिन अघि नै मौसमविद्हरूले कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको बताएका थिए । तर, आइतबार र सोमबार कर्णालीका जिल्लाहरूमा वर्षासँगै असिनाले बालीनालीमा ठुलो क्षति पुगेको छ । घरमा भित्र्याउनै लाग्ने अवस्थाको धानबाली, कोदो, फलफूलदेखि तरकारी हावाहुरीसँगै परेको असिनापानीले सखाप पारेपछि किसान चिन्तित बनेका छन् ।

आइतबार साँझ परेको असिनापानीले पश्चिम दैलेखका ठाटीकाँध गाउँपालिका, आठबिस, चामुण्डाबिन्द्रासैनी नगरपालिका लगायतका क्षेत्रमा करोडौँको क्षति पुर्‍याएको छ ।

ठाटीकाँध गाउँपालिका–४, गैरागाउँका खम्ब बडुवाल असिनापानीले धानबाली नष्ट गरेपछि चिन्तित छन् । उनको खेतमा चारदेखि पाँच महिनासम्म भात खानपुग्ने धान उत्पादन हुन्थ्यो तर, असिनाले सबै नष्ट गरिदियो । ‘हेर्नुस्, असोज महिनामा यस्तो खालको विपद् कहिल्यै आएको थिएन, भकारी भर्ने बेलामा यस्तो पीडा आइलाग्यो,’ उनी भन्छन्, ‘भकारी रित्तै भएपछि अब हामीले खाने के ? छाक केले टार्ने भन्ने चिन्ता भयो ।’

उनीमात्र होइन, वडा नम्बर ३ र ४ का गरी करिब ६०० कृषकको बाली पूर्ण रूपमा नष्ट भएको छ । गैरागाउँ, छितालाख्ना, धनकोट, ज्यामिचौर, भेरिपाल्त र बाचपानीमा काट्नै लागेको धान बाली पूर्णरूपमा सखाप भएको छ ।

वडा नम्बर ४ का वडाध्यक्ष केहरसिंह कठायत आगामी वर्षका लागि बीउसमेत नरहने गरी बालीनाली नष्ट भएको बताउँछन् । उनको पनि १० पाथी बीउ रोपेको धानबाली पूर्णरुपमा सखाप भएको छ ।

‘गैरागाउँको जिउलाबाट उत्पादन हुने धानले केही कृषकलाई दुई÷चार महिना भात खानपुग्थ्यो भने धेरै जमिन भएका कृषकलाई वर्षभरि नै भात खान पुग्ने उत्पादन हुन्थ्यो,’ कठायतले रातोपाटीसँग भने, ‘असिनाले सबै बाली सखाप पारेपछि छाक केले टार्ने भन्ने चिन्ता गाउँमा छ ।’

गैरागाउँ, धनकोट लगायतका बस्ती पूर्ण रूपमा कृषिमा आश्रित छन् । लेकाली वातावरण भएकाले यहाँ कोदो, भटमास, आलु लगायतका तरकारी प्रशस्त उत्पादन हुन्छन् । साथै सुन्तला उत्पादनको हब मानिन्छ गैरागाउँ । असिनाले सबै नष्ट गरेपछि कृषकलाई रुनु न हाँस्नु भएको वडाध्यक्ष कठायत बताउँछन् ।

करोडौँको बालीनाली सखाप भए पनि यकिन तथ्याङ्क भने सङ्कलन हुन बाँकी छ । सोमबार पालिकाको विपद् शाखाको टोली, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, कृषि शाखासहितको टोलीले अनुगमन समेत गरेको छ ।

ठाटीकाँध गाउँपालिकाको विपद् शाखाका दीपक रावल असिनाले सबैजसो बाली नोक्सान भएको बताउँछन् । तथ्याङ्क सङ्कलनको काम भइरहेको र क्षतिबारे जिल्ला प्रशासन र प्रदेश सरकारलाई जानकारी गराइसकिएको उनको भनाइ छ ।

आठबिस नगरपालिकाको वडा नम्बर ९ को छेपाडी, पुर्छा, ७ को माथिल्लो भेग, ६ को सिंहासैन, ताउनी लम्धार, ५ को गोर्खी, सेखर्क, लयापातल, बाँजकाटियाँ लगायतमा पनि धानबाली नष्ट भएको छ । आठबिस–६ लम्धारका लक्ष्मण थापा भित्र्याउने बेलामा धानबाली नष्ट भएपछि तनावमा छन् । निराश हुँदै उनले भने, ‘बर्खाभरि बगाएको पसिना र दुःख क्षणभरमा खेर गयो ।’

आठबिस नगरपालिकाका प्रमुख तर्क बडुवाल क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको बताउँछन् । ‘विवरण सङ्कलन गरेरमात्र के गर्नु, राहत दिन सकिने अवस्था छैन,’ उनले भने, ‘सहयोग गर्ने ठाउँ कतैबाट हुँदैन, नोक्सान यति भयो भन्ने मात्र हुन्छ । हामीले दिन सक्ने राहत हात्तीको मुखमा जिरा भनेजस्तै हुन्छ ।’

उनले प्रदेश र संघ सरकारले कृषकलाई राहत उपलब्ध गराउनुपर्ने बताए ।

प्रदेश सरकारका कानुन मन्त्री कृष्णबहादुर जिसी पीडित कृषकलाई सरकारले राहतको व्यवस्था गर्ने बताउँछन् । प्रदेश सरकारले बनाएको कार्यविधि अनुसार २० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराइने उनको भनाइ छ ।

राहतका लागि प्रदेश सरकारले ६ करोड विनियोजन गरेको छ । अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कृषकलाई राहत दिने उनको भनाइ छ ।

सोमबार साँझको हावाहुरीसहितको पानीले सुर्खेत लगायतका अन्य जिल्लाको धानबालीमा समेत क्षति पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप