बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बीआरआईमा उच्चस्तरीय सहकार्यका लागि राष्ट्रपति सीले गरे ठोस कदमको घोषणा

बुधबार, ०१ कात्तिक २०८०, १२ : ५३
बुधबार, ०१ कात्तिक २०८०

बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङले बुधबार ‘बेल्ट एन्ड रोड इनिशियटिभ’मा आठ वटा मुख्य कदमको घोषणा गरेका छन् । जसअनुसार पहिलोमा चीनले मल्टिडाइमेन्सनल बेल्ट एन्ड रोड कनेक्टिभिटी बनाउनेछ । यस्तै चाइना–युरोप रेल्वे एक्सप्रेसमा चीनले उच्चस्तरीय विकासलाई तीव्रता दिनेछ, क्यास्पियन सागर आरपार अन्तर्राष्ट्रिय यातायात करिडोरमा सहभागी हुनेछ भने  चाइना–युरोप रेल्वे एक्सप्रेस कर्पोरेशन फोरमको पनि आयोजना गर्नेछ । 

यसैगरी अन्य पक्षहरुसँग मिलेर चीनले युरो–एसियामा नयाँ लजिष्टिक करिडोर बनाउनेछ । बन्दरगाह, ढुवानी र व्यापार सेवा सबैलाई सिल्क रोड जलमार्गमा समायोजन पनि गरिनेछ  यसबाहेक  नयाँ अन्तर्राष्ट्रिय ल्यान्ड–सी व्यापार करिडोर र हवाई सिल्क रोडको निर्माणलाई पनि तीव्रता दिइने सिको भनाई छ ।

यसैगरी दोस्रोमा चीनले खुला विश्व अर्थतन्त्रलाई टेवा दिने बताइएको छ । सन् २०२४–२८ को अवधिमा वस्तु र सेवा व्यापार क्रमशः ३२० खर्ब र ५० खर्ब डलर नाघ्ने सीको भनाइ छ । सिल्क रोड ई–कमर्स सहकार्यका लागि परीक्षण क्षेत्र स्थापना गरिनेछ भने स्वतन्त्र व्यापार सम्झौता गरेर थप देशहरूसँग लगानी संरक्षण सन्धि गरिने सीको भनाइ छ । 

यसैगरी म्यानुफ्याक्चरिङ क्षेत्रमा विदेशी लगानी पहुँचमा रहेको सबै प्रतिबन्धहरू चीनले हटाउनेछ भने सीमा आरपार सेवा व्यापार र लगानी, डिजिटल र अन्य प्रडक्टका बजार पहुँच विस्तार र सरकारी स्वामित्वका कम्पनी, डिजिटल अर्थतन्त्र, बौद्धिक सम्पत्ति र सरकारी खरिदारी सबैलाई खुला बनाउने प्रयास गरिनेछ । बर्सेनि चीनले ग्लोबल डिजिटल व्यापार एक्सपो गर्ने पनि उनले बताए ।

तेस्रो कदमचाहिँ चीनले बीआरआईका लागि व्यवहारिक सहयोग गर्नेछ । सिग्नेचर परियोजना र साना तर चतुर खालका जीविका कार्यक्रम दुवैको प्रवर्द्धन गर्ने बताइएको छ । बीआरआई परियोजनामा थप लगानी खन्याउने वाचा उनले गरेका छन् । चीनले हजार ओटा साना स्तरका जीविका सहायता परियोजना चलाउनेछ  भने व्यावसायिक शिक्षा सहकार्य पनि अभिवृद्धि गर्नेछ । चौथोमा चीनले हरित विकास प्रवर्द्धनलाई जारी राख्नेछ । हरित पूर्वाधार, हरित ऊर्जा र हरित यातायातमा सहकार्य बढाउनेछ । बीआरआई इन्टरनेशनल ग्रिन डेभलपमेन्ट कोलिशनलाई थप टेवा दिनेछ ।

पाँचौँमा उन्नत वैज्ञानिक र प्राविधिक नवप्रवर्तनलाई जारी राखिनेछ । चीनले बेल्ट एन्ड रोड विज्ञान, प्रविधि र नवप्रवर्तन सहकार्य कार्य योजना लागू गर्नेछ । सिका अनुसार विज्ञान र प्रविधि आदानप्रदान गर्न पहिलो बेल्ट एन्ड रोड सम्मेलन गरिनेछ । बीआरआईमा सहभागी देशहरूसँग मिलेर बनाइएका संयुक्त प्रयोगशालाको सङ्ख्या बढाएर आउँदो ५ वर्षमा सय पुर्‍याइनेछ । अन्य देशका युवा वैज्ञानिकहरूलाई चीनमा छोटो अवधिको कार्यक्रममा काम गर्ने अवसर दिइने पनि सिले बताए ।

छैंटौँमा बीआरआईका सदस्य देशका आम जनताबीच आदानप्रदानलाई सघाउनेछ । बीआरआईका साझेदार देशका नागरिकहरुबीच संवाद बढाउन चीनले लियाङ्चु फोरम आयोजना गर्नेछ । यसबाहेक बीआरआईमा संलग्न देशहरुबीच कला, संस्कृति र पयर्टन आदिको अभिवृद्धिका लागि संघसंस्था गठनको योजना छ । सिल्क रोड कार्यक्रममा चीनको सरकारी छात्रवृत्तिलाई निरन्तरता दिइने बताइएको छ ।

सातौं चाहिँ चीनले एकीकरणमा आधारित बेल्ट एन्ड रोड सहकार्यको प्रवर्द्धन गर्नेछ । यसका लागि अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग मिलेर अनुसन्धान गरिनेछ भने तालिम दिइनेछ । आठौँमा भने चीनले बीआरआई साझेदारहरूसँग मिलेर ऊर्जा कर, वित्त, हरित विकास, विपद् न्यूनीकरण, भ्रष्टाचार विरोधी, बौद्धिक समूह, सञ्चार, संस्कृति समेतका कयौँ क्षेत्रलाई समेट्ने गरी बहुपक्षीय सहकार्य मञ्चको निर्माणलाई दरिलो बनाइनेछ । एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप