आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

एक करोड ६३ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

बिहीबार, ०२ कात्तिक २०८०, २२ : ०२
बिहीबार, ०२ कात्तिक २०८०

लम्की । कैलालीको लम्की चुहा अस्पताललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य उपकरण मेसिनरी सामग्री हस्तान्तरण गरेको छ ।  मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत अस्पताललाई केन्द्रले सिकलसेल एनोमिया रोग पत्ता लगाउनको लागि रगत परीक्षण गर्ने मेसिनलगायत तीन वटा ल्याबमा आवश्यक पर्ने रु ६२ लाख ९९ हजार सात सय ५० मुल्य बराबरका  स्वास्थ्य उपकरण (मेसिनरी सामग्री) आज हस्तान्तरण गरेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक नीरज अर्यालले बताए ।

अस्पतालमा उपकरण जडान भएपछि थारु समुदायका मानिसलाई मात्र लाग्ने सिकलसेल एनोमिया रोगको परीक्षण गर्न अब यस क्षेत्रका सेवाग्राहीलाई सहज हुने भएको छ ।

“म निर्देशक भएपछि लम्की चुहा अस्पतालको तीन पटक भ्रमण गरेको छु । यहाँका जनप्रतिनिधिको काम गर्ने दृढ इच्छाशक्ति देख्दा एकदमै खुसी भएको छु । माननीय मुख्यमन्त्री कमलबहादुर शाह यसै क्षेत्रको भएका कारण उहाँको  विशेष  पहल र लम्की चुहा नगरपालिकाका नगरप्रमुख लगाएतकाको समूहले गरेको मागको आधारमा उक्त सामग्री हस्तान्तरण गरेका छौँ”, उनले भने, “उपकरण भएर मात्र भएन दक्ष जनशक्ति र उपकरणको सही उपयोग गरी यस क्षेत्रका जनतालाई सेवा दिन सक्नुपर्छ । यस क्षेत्रका जनताले सेवा पाउनेमा हामी ढुक्क छौँ ।”

लम्कीचुहा नगरपालिकाले सञ्चालन गरेको लम्की चुहा अस्पताललाई उपकरणका साथै जनशक्तिको अतिआवश्यक रहेको अस्पतालका सदस्य सचिव गङ्गाराम उपाध्यायले बताए । त्यसका लागि प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयबाट सहयोग पाउनेमा आफू आशावादी रहेको उनले सुनाए ।

लम्की चुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाहीले स्वास्थ्य सामग्री बुझ्दै सुदूरपश्चिम प्रदेश सरकार र मुख्यमन्त्री कमलबहादुर शाहलगायत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई धन्यवाद दिए । अस्पतालको विकासको लागि हामी प्रतिबद्ध छौँ नगरप्रमुख शाहीले भने, “स्वास्थ्यभन्दा ठूलो कुरा केही छैन ।” अस्पतालमा दिन प्रतिदिन परिवर्तन पाएका छौँ नगरप्रमुख शाहीले भने, “हामी निर्वाचित भएपछि हाम्रो पहिलो प्राथमिकता स्वास्थ्य नै हो ।”   

अस्पतालमा ब्लड बैङ्कको माग गरेका छौं । नगरपालिकाबाट रु ३० लाख बजेट छुट्याएका छौँ । यो वर्षदेखि ब्लड बैङ्क स्थापनाको लागि काम सुरु हुन्छ ।” लम्कीचुहा अस्पतालमा दैनिक पाँच सय बढी बिरामी उपचारको लागि आउने गरेको बताउँदै जनशक्ति, भौतिक संरचना र उपकरणको आवश्यक रहेको नगरप्रमुख शाहीले बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको लम्कीचुहा अस्पतालमा रु ६३ लाख र बर्दगोरिया गाउँपालिकाको बौनियामा भरखरै सञ्चालनमा आएको दोदोधरा अस्पताललाई थप प्रभावकारी बनाउन रु एक करोड बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप