मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
वैदेशिक लगानी

प्रतिबद्धताको ३६ प्रतिशत मात्रै भित्रिन्छ विदेशी लगानी

चालू आर्थिक वर्षको तीन महिनामा साढे १६ अर्ब प्रतिबद्धता
सोमबार, ०६ कात्तिक २०८०, १४ : ४४
सोमबार, ०६ कात्तिक २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा साढे १६ अर्ब रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि असोजसम्मको अवधिमा १५१ वटा उद्योग स्थापनाका लागि साढे १६ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको हो ।

यसमध्ये असोजमा १ अर्ब ९८ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ, जसमा ४० वटा उद्योगका लागि झण्डै २ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको हो । यसअघि भदौमा ५१ वटा उद्योगका लागि २ अर्ब ६९ करोड २४ लाख रुपैयाँ प्रतिबद्धता र साउनमा ६० उद्योगका लागि ११ अर्ब ९३ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो ।

तथ्याङ्कले चालू आर्थिक वर्षको साउनमा करिब १२ अर्ब रुपैयाँको प्रतिबद्धता आएको देखाउँछ । तर, त्यस यताका दुई महिनामा भने क्रमशः २ अर्ब ६९ करोड र १ अर्ब ९८ करोड रुपैयाँ मात्रै प्रतिबद्धता आएको देखिन्छ । 

विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३८ अर्ब ४० करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । त्यस अवधिमा ३२७ वटा उद्योग स्थापनाको प्रस्ताव आएको थियो ।

५ वर्षमा साढे २ खर्ब प्रतिबद्धता

उद्योग विभागका अनुसार पछिल्लो ५ आर्थिक वर्षमा साढे २ खर्ब रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७९/८० सम्ममा २ खर्ब ४३ अर्ब रुपैयाँभन्दा धेरैको लगानी प्रतिबद्धता आएको हो । यस अवधिमा १७ सय ७३ उद्योग स्थापनाको प्रस्ताव आउँदा ७९ हजार जनालाई रोजगारी प्रस्ताव गरिएको छ ।

तर, यस अवधिमा आएको प्रतिबद्धतामध्ये ठुला उद्योगमा कम लगानीको प्रतिबद्धता आएको छ । १७ सयभन्दा धेरै उद्योग स्थापनाको प्रतिबद्धता आउँदा ठुला उद्योग स्थापनामा ५१ मात्रै प्रतिबद्धता आएको देखिन्छ । 

यसबाहेक, २१३ वटा मध्यम स्तरका उद्योग स्थापनाको प्रस्ताव आउँदा १३ सय ४२ वटा साना उद्योग स्थापनाको प्रतिबद्धता आएको तथ्याङ्कमा देखिन्छ ।

विभागको वेबसाइटमा राखिएको आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्मको अवधिमा ८ क्षेत्रमा लगानी प्रतिबद्धता भित्रिएको छ । जसमध्ये, कृषि तथा वनमा ४८ वटा उद्योग स्थापनाको प्रतिबद्धता आउँदा, ऊर्जामा १५, सूचना प्रविधिमा ११०, पूर्वाधारमा ८, उत्पादनमूलक उद्योगमा २२४, उत्खननमा ५, सेवामा ४३६ र पर्यटनमा ५९८ वटा लगानी प्रस्ताव आएका छन् । यसमध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा लगानी प्रतिबद्धता आएको देखिन्छ ।

यस क्रममा पर्यटन क्षेत्रमार्फत २० हजार जनालाई रोजगारी सिर्जना हुने देखिएको छ । यस्तै, सेवामूलक उद्योगमा आएको प्रस्तावको प्रतिबद्धताअनुसार उद्योग स्थापना भएमा १९ हजारले रोजगारी पाउनेछन् । 

यसपछि उत्पादनमूलक उद्योगमा आएको प्रतिबद्धताअनुसार उद्योग स्थापना भएमा ११ हजारभन्दा धेरैले रोजगारी पाउनेछन् ।

कुन वर्ष कति लगानीको प्रतिबद्धता ?

विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ४०० वटा उद्योग स्थापनाको प्रतिबद्धता आएको छ । यो त्यसयता प्रत्येक वर्ष आएका लगानी प्रतिबद्धताको तुलनामा सबैभन्दा धेरै उद्योग स्थापनाको प्रस्ताव हो । ४०० उद्योग स्थापनाका लागि कूल ५५ अर्ब रुपैयाँ लगानी गर्ने र १३ हजारले रोजगारी पाउने तथ्याङ्कमा छ । 

यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ३४४ उद्योग स्थापनाको प्रतिबद्धता आउँदा कूल २५ अर्बको लगानी प्रस्ताव र १४ हजारलाई रोजगारीको प्रतिबद्धता छ ।

आर्थिक वर्ष २०७६/७७ मा २२३ वटा उद्योग स्थापनाका लागि कूल ३७ अर्ब लगानी प्रस्ताव र १० हजारले रोजगारी पाउने प्रतिबद्धता आएको थियो । 

आर्थिक वर्ष २०७७/७८ मा १८४ उद्योग स्थापनाको प्रस्ताव आउँदा कूल ३२ अर्ब लगानीमार्फत ५ हजारलाई रोजगारीको प्रतिबद्धता आएको थियो । 

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा २९५ उद्योग स्थापनाका लागि कूल ५४ अर्ब लगानीमार्फत १६ हजारलाई रोजगारीको प्रतिबद्धता आएको थियो । 

यसबाहेक गत आर्थिक वर्ष २०७९/८० मा कूल ३८ अर्ब ४० करोड रुपैयाँको लगानी प्रतिबद्धतामार्फत ५४ उद्योग स्थापना गर्दै १७ हजारलाई रोजगारीको प्रस्ताव आएको छ ।

प्रतिबद्धताको ३६ प्रतिशत मात्रै भित्रिन्छ लगानी

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा प्रत्येक वर्ष भित्रिने लगानीको प्रतिबद्धताको ३६ प्रतिशत मात्रै लगानी भित्रिन्छ । केन्द्रीय बैंकले गरेको विदेशी लगानीसम्बन्धी सर्वेक्षणको तथ्याङ्कले सन् १९९५/९६ देखि सन् २०२१/२२ सम्ममा आएको प्रतिबद्धताको तुलनामा ३६ प्रतिशत मात्रै लगानी भित्रिने गरेको हो । यस अवधिमा कूल ४ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आउँदा जम्मा १ खर्ब ४८ अर्ब रुपैयाँ मात्रै रकम भित्रिएको हो ।

आर्थिक वर्ष २०२१/२२ मा ५४ अर्ब रुपैयाँ प्रतिबद्धता आउँदा १८ अर्ब मात्रै भित्रिएको छ । यो प्रतिबद्धताको ३४ प्रतिशत हो । 

यस्तै, आर्थिक वर्ष २०२०/२१ मा ३२ अर्ब प्रतिबद्धता आउँदा १९ अर्ब मात्रै भित्रिएको थियो । यो प्रतिबद्धताको ६० प्रतिशत हो । 

यसबाहेक, आर्थिक वर्ष २०१९/२० मा प्रतिबद्धताको ५१ प्रतिशत, आर्थिक वर्ष २०१८/१९ मा प्रतिबद्धताको ५१.३ प्रतिशत र आर्थिक वर्ष २०१७/१८ मा प्रतिबद्धताको ३१ प्रतिशत मात्रै लगानी भित्रिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप