मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
दसैँ

दसैँमा बढे विद्युतीय सवारी प्रयोगकर्ता, प्राधिकरणको स्टेसनमा एकै दिन २ हजार सवारी चार्ज

बिहीबार, ०९ कात्तिक २०८०, १३ : ३९
बिहीबार, ०९ कात्तिक २०८०

काठमाडौँ । चाडवाडको समयमा डिजेल/पेट्रोल गाडी छाडेर विद्युतीय सवारीको प्रयोगकर्ता बढेका छन् । चाडपर्व मनाउन घर जाने र मनाएर फर्कनेहरुले विद्युतीय सवारीको प्रयोग बढाएको नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

विद्युत् प्राधिकरणको तथ्यांकअनुसार एकै दिन २ हजार १३८ जनाले प्राधिकरणको चार्जिङ स्टेसनबाट सवारी चार्ज गरेका छन् । एकै दिन प्राधिकरणले स्थापना गरेका देशका विभिन्न स्थानका चार्जिङ स्टेसनबाटै २१ सयभन्दा धेरै चार्ज गरिएको पहिलोपटक हो ।

यसबाट प्राधिकरणले बिजुलीको शुल्क र सेवाशुल्क गरी १ लाख ८७ हजार २१३ रुपैयाँ सङ्कलन गरेको छ । विद्युतीय सवारी प्रयोगकर्ताले १ लाख ५६हजार रुपैयाँको चार्ज गर्दा ३१ हजार रुपैयाँ सेवा शुल्क तिरेका छन् ।

एकै दिन २१ सयभन्दा धेरैले प्राधिकरणको चार्जिङ स्टेसनबाट सवारी चार्ज गर्दा १७ हजार १९८ किलोग्राम कार्बन उत्सर्जन हुनबाट रोकिएको प्राधिकरणले जनाएको छ । एक दिनमै विद्युतीय सवारी चार्जमार्फत २२ हजार युनिट बिजुली खपत हुँदा २० हजार लिटर पेट्रोल/डिजेल बचेको प्राधिकरणले जनाएको छ ।

विद्युतीय सवारी चार्जको यो तथ्याङ्क प्राधिकरण मातहतका चार्जिङ स्टेसनको मात्रै हो । प्राधिकरणले हालसम्म देशका विभिन्न ५१ स्थानमा विद्युतीय चार्जर जडान गरिसकेको छ । जसमध्ये प्राधिकरणकै केन्द्रीय कार्यालय लगायत देशका मुख्य–मुख्य हाइवेमा चार्जिङ स्टेसन जडान भइसकेका छन् ।

यसबाहेक, विद्युतीय सवारी बिक्रेता सिप्रदीले देशभर ३०० भन्दा धेरै चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको जनाएको छ । यसबाहेक, एमजीले २० स्थानमा चार्जिङ स्टेसन जडान गरेको जनाएको छ भने हुन्डाईले देशभरका ४० स्थानमा चार्जिङ स्टेसन जडान गरेको छ ।

कोरियाली कम्पनी कियाले देशका ७ स्थानमा चार्जिङ स्टेसन जडान गर्दा टेस्लाले ५ स्थानमा जडान गरेको छ । यसबाहेक, वीवाईडीले ३ वटा फास्टचार्जरसहित देशभर अन्य २५ स्थानमा एसी चार्जर जडान गरेको छ । प्राधिकरणले जडान गरेको ५१ स्थानमा चार्जरमार्फत सबै विद्युतीय सवारी चार्ज गर्न मिल्छ ।

कम्पनीहरूले स्थापना गरेको चार्जरमा भने स्वयं कम्पनीहरूको मात्रै चार्ज गर्न मिल्ने व्यवस्था गरिएको छ । प्राधिकरणको ५१ वटा चार्जिङ स्टेसनमार्फत नै एक दिनमा २१ सय विद्युतीय सवारी चार्ज भएको तथ्याङ्क आएको हो । यो तथ्याङ्कमा कम्पनीहरूले देशका सयौँ स्थानमा जडान गरेका चार्जरमार्फत गरिएको चार्जको तथ्याङ्क समेटिएको छैन ।

चालू आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको अवधिमा नै ८९८ वटा विद्युतीय सवारी भित्रिएका छन् । यस अवधिमा ५० किलोवाटसम्मका २५५ विद्युतीय सवारी भित्रँदा १०० किलोवाटसम्मका ६३१ सवारी भित्रिएका छन् । यस्तै, २०० किलोवाटसम्मका ९ र ३०० किलोवाटसम्मका ३ विद्युतीय सवारी भित्रिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप