शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
जसपामा विवाद

जसपा पर्सामा विवाद भइरहेको बेला जिल्ला अध्यक्षले बोलाए अगुवा कार्यकर्ता भेला

बिहीबार, ०९ कात्तिक २०८०, १७ : ३३
बिहीबार, ०९ कात्तिक २०८०

पर्सा । जनता समाजवादी पार्टी (जसपा) नेपालको पर्सा जिल्ला समितिमा नेतृत्व सम्बन्धी विवाद चलिरहेकै बेला अर्को एउटा समूहले जिल्ला अगुवा कार्यकर्ता भेला बोलाएको छ ।

एउटा समूहले अर्को समूहका अध्यक्षलाई हटाएर नयाँ अध्यक्ष बनाएपछि त्यहाँ विवाद उत्पन्न भएको हो । यसरी विवाद उत्पन्न भएपछि मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदल गठन भए पनि नयाँ अध्यक्ष सिंहासन साह तेलीले जिल्लाको अगुवा कार्यकर्ता भेला बोलाएका छन् ।

असोज १० गते वीरगञ्जमा जिल्ला समितिको एउटा समूहको बैठक बसेको थियो । सो बैठकले बहुमतको निर्णय भन्दै रामनरेश यादवलाई अध्यक्षबाट हटाएर बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीलाई अध्यक्ष बनाएको थियो । तर त्यो निर्णयलाई अस्वीकार गर्दै रामनरेश यादवले विद्रोह गरेका थिए । पार्टीमा विवाद बढ्दै गएपछि मधेस प्रदेश कमिटीले हस्तक्षेप बढाएको छ । रामनरेश यादव र सिंहासन साह तेलीले आफूलाई जिल्लाको अध्यक्ष दाबी गर्दै राजनीतिक गतिविधि गरिरहेका छन् ।

कात्तिक १५ गते जिल्ला अगुवा कार्यकर्ता भेला बोलाएको जसपाका केन्द्रीय सदस्य प्रदीप यादवले बताए । पर्साका जिल्ला अध्यक्ष सिंहासन हुन्, त्यसमा विवाद देखिएपछि प्रदेश समितिले छानबिन समिति गठन गरेको छ तर अहिलेसम्म छानबिन सुरु नभएको कारण अध्यक्ष सिंहासनले भेला बोलाएको उनले बताए ।

कात्तिक १५ गते अगुवा कार्यकर्ता भेला सम्पन्न गरेर १७ गते पार्टी प्रवेश कार्यक्रम पनि अध्यक्ष सिंहासनकै अध्यक्षतामा राखिएको छ ।

यता रामनरेश यादवले पनि पर्सा जिल्ला अध्यक्ष आफू नै रहेको भन्दै आफ्नो अध्यक्षतामा कार्यक्रम गर्दै आएका छन् ।

चार वर्ष कार्यवाहक अध्यक्ष

पर्सा जिल्लामा लामो समयदेखि अध्यक्षको विवाद चल्दै आएको हो । २०७५ माघमा जसपाका केन्द्रीय सदस्य एवं वर्तमान सांसद प्रदीप यादव जिल्ला अधिवेशनबाट पर्साको अध्यक्ष चयन भएका थिए । अध्यक्षका लागि चुनाव भएको थियो । उनको विरुद्धमा मञ्जुर अन्सारीले उम्मेदवारी दिएका थिए । तर मन्जुरले चार मतमात्र ल्याएका थिए । 

प्रदीप यादव जिल्लाको अध्यक्ष भएको ६ महिनापछि केन्द्रीय समितिको बैठकले लाटभिया देशको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा सहभागी भएको आरोपमा २०७६ असारमा ६ मा उनलाई निलम्बन गरेको थियो ।

यादव जिल्ला अध्यक्षबाट हटेपछि विधान अनुसार उपाध्यक्ष सुन्दर कुर्मीलाई कार्यवाहक अध्यक्ष बनाउनुपर्ने थियो तर पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको जोडबलमा जिल्ला सदस्य रहेका रामनरेश यादवलाई कार्यवाहक अध्यक्ष बनाइएको थियो ।

त्यसरी उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी नदिएर जिल्ला सदस्यलाई जिल्लाको अध्यक्ष बनाएपछि जिल्ला कमिटीमा झन् असन्तुष्टि बढ्यो । उपाध्यक्ष सुन्दर कुर्मीले पनि आफू कार्यवाहक अध्यक्ष हुन नपाएकोमा अन्तुष्टि जनाइरहेका थिए । तर उनलाई विभिन्न प्रलोभनमा पारेर थामथुम पारिएको थियो । रामनरेश यादव कार्यवाहक भएर काम गर्न थालेपछि जिल्लामा पटक पटक विवाद उत्पन्न भइरहेको थियो ।

अधिवेशन गराउनका लागि उनलाई दबाब परिरहेको थियो । प्रदीप यादव निलम्बनबाट फुकुवा भएपछि पार्टीले रामनरेश यादवलाई नै अध्यक्ष कायम राखेको थियो । प्रत्येक दुई वर्षमा अधिवेशन गराउने प्रावधान हुँदा हुँदै अध्यक्ष रामनरेश यादवले विभिन्न बहानामा त्यसलाई टार्दै गए ।

एक पटक त उनलाई कार्यवाहक अध्यक्षबाट हटाउने चर्चा पनि चलेको थियो तर त्यतिबेला जसपाका तत्कालीन नेता विजय सरावगी पार्टी छाड्ने तयारीमा थिए । कार्यवाहक अध्यक्षबाट हटाए आफू पनि पार्टी छाड्ने धम्की दिएपछि स्थानीय चुनावसम्म उनलाई नै कायम राखियो ।

स्थानीय चुनाव सकेपछि पनि अधिवेशन गराउन पहल नगरेपछि पटकपटक जिल्लामा विवाद उत्पन्न भएको थियो । कयौँ पटक केन्द्रीय अध्यक्ष उपेन्द्र यादव आफैँ गएर पनि विवाद समाधान गरेका थिए ।

प्रतिनिधि सभाको चुनाव सकिए पनि अधिवेशन गराउने सुर नभएपछि जिल्ला कमिटीको बहुमत सदस्यको बैठक बसेर उनलाई हटाएको पर्साका नेताहरू बताउँछन् । उनलाई हटाएपछि अहिले मधेस कमिटीले कार्यदल गठन गरी हस्तक्षेपकारी भूमिकामा आएको छ । कार्यदलले कमिटी पुनर्गठन गर्ने आन्तरिक तयारीमा लागेको बेला अध्यक्ष सिंहासनले पार्टी गतिविधिमा तीव्रता दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप