फतुवा विजयपुर नगरपालिकाको ताला २० दिन पछि खुल्यो
रौतहट । तलबको माग गर्दै शिक्षक कर्मचारीले रौतहटको फतुवा विजयपुर नगरपालिकामा गरेको तालाबन्दी २० दिन पछि शुक्रबार खोलिएको छ।
छठ पर्व अघि सम्पूर्ण शिक्षक कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने सर्तमा जनप्रतिनिधि र कर्मचारीको रोहवरमा ताला खोलिएको हो।
फतुवा विजयपुरको निलम्बित मेयर गोपाल राय यादवको पहलमा सबै ११ जना वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, तथा शिक्षक र नगरका कर्मचारीहरू भेला भएका थिए।
छलफलमा नगर अन्तर्गतका सम्पूर्ण शिक्षक कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता छठ पर्व अघि वितरण गराउने वडाअध्यक्षहरुले जिम्मा लिएपछि नगरपालिकामा लगाइएको तालाबन्दी खुला गरिएको सहभागी वडा ९ का अध्यक्ष पप्पु भन्ने राकेश यादवले बताए।
बडा दसैँको मुखमा तलब सुविधा पाउने सम्भावना नदेखिए पछि गत असोज १९ गते शिक्षक र कर्मचारीले नगरपालिकाको मुलगेटमा गरेको तालाबन्दी गरेका थिए।
फतुवा विजयपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत को हुने भने टुङ्गो नलाग्दा छठ पर्व सम्म तलब तथा सामाजिक सुरक्षा भत्ता निकासा हुने सम्भावना झिनो देखिएको छ।
मन्त्रालयले फतुवामा केही दिन अघि नयाँ प्रशासकीय अधिकृतको रूपमा पठाएको उपसचिव सुरेन्द्र प्रधान लाई जनप्रतिनिधिले विभिन्न आरोप लगाउँदै हाजिर हुन दिएनन्।
प्रधान आएपछि पहिले देखि कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव पनि कार्यालय आउन छोडेकाले फतुवा विजयपुर नगरपालिकामा अन्योलपूर्ण अवस्था बनेको छ।
कार्यवाहक मेयर आम्बेया खातुनले नयाँ हाकिमको रुपमा उपसचिव प्रधान आउनु पर्ने , बाँकी वडा अध्यक्षहरूले प्रधानलाई हाजिर हुने नदिने अडान लिएका छन्।
असार १० गते भित्र हुनुपर्ने नगर परिषद् जनप्रतिनिधि बिच आपसी तालमेल नमिलेको कारण हालसम्म पनि हुन नसक्दा नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि शून्य भएको छ।
नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन् भने हिन्दूहरूको महान् पर्व दसैँ तिहार र छठजस्ता लोक पर्वमा हजारौँ मानिस वृद्ध, वृद्धा, एकल महिला लगायतले सामाजिक सुरक्षा भत्ता पाउन बाट वञ्चित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण