सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणको तयारी तीव्र

शनिबार, ११ कात्तिक २०८०, २० : ०८
शनिबार, ११ कात्तिक २०८०

बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको बुद्धजन्मस्थल लुम्बिनीमा हुने भ्रमणको तयारी थालिएको छ । महासचिव गुटरेसको नेपालको चारदिने भ्रमणका क्रममा कात्तिक १४ गते बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणका लागि समय तय भएपछि लुम्बिनी विकास कोषले तयारी थालेको हो ।

कोषले शनिबार लुम्बिनी सांस्कृतिक नगरपालिका र भिक्षु भिक्षुणीसहित सरोकारवालाहरुसँग बैठक बसेर महासचिव गुटरेसको भ्रमणलाई भव्य बनाउने तयारी गरेको छ ।  महासचिव गुटरेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा कात्तिक १२ (अक्टोबर २९) मा नेपाल भ्रमणमा आउँदैछन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष, संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले महासचिव गुटरेसको लुम्बिनी भ्रमण भव्य बनाउने गरी तयारीमा जुट्न आग्रह गरे । महासचिवको लुम्बिनी भ्रमणबाट विश्वशान्तिको सन्देश विश्वभर दिन सकिने उनको भनाइ छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित महासचिव गुटरेसले लुम्बिनी भ्रमण गर्ने कार्यक्रम रहेको छ । महासचिव गुटरेस कात्तिक १४ गते बिहान ८ः ३५ बजे गौतमबुद्व अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्ने र त्यहाँबाट हेलिकप्टरबाट सिधै लुम्बिनी आउने कार्यक्रम रहेको छ । 
त्यसपछि महासचिव गुटरेस चार नम्बर गेट, शान्तिदिप हुँदै मायादेवी मन्दिरसम्म जानेछन् ।  बैठकमा कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराई, लुम्बिनि सांस्कृतिक नगरपालिकाका प्रमुख सजरूद्विन खान, उपप्रमुख कल्पना हरिजन, कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको उपस्थिति रहेको थियो । 

यसअघि महासचिव गुटरेसले अक्टुबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो। तर, अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि भ्रमण स्थगित गरिएको थियो।  गुटरेसले कात्तिक १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका पनि तय भएको छ ।

महासचिव गुटरेस सन् १९९५ देखि २००० सम्म पोर्चुगलका प्रधानमन्त्री थिए। संयुक्त राष्ट्रसङ्घको महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो । उनी पहिलो कार्यकालका लागि सन् २०१६ मा महासचिवमा नियुक्त भएका थिए।  
यसअघि सन् २००८ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान कि मुनले नेपाल भ्रमण गरेका थिए । त्यतिखेर पनि मुनले लुम्बिनी भ्रमण गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप