बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
बजार

भारतमा ५७ प्रतिशतसम्म बढ्यो प्याजको मूल्य, नेपालमा पनि मूल्यवृद्धि

आइतबार, १२ कात्तिक २०८०, ०७ : २४
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । भारतीय खुद्रा बजारमा प्याजको मूल्य ५७ प्रतिशतसम्मले बढेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । अङ्ग्रेजी पत्रिका द हिन्दुका अनुसार भारतीय बजारमा सरदर ५७ प्रतिशतसम्मले प्याजको मूल्यवृद्धि भएको हो ।

अक्टोबर २७ सम्मको अवधिमा उक्त प्रतिशतको मूल्यवृद्धिसँगै भारतीय बजारमा प्याजको खुद्रा मूल्य प्रतिकिलो ४७ भारु पुगेको छ । यो नेपाली मूल्यअनुसार प्रतिकिलो ७५ रुपैयाँ हुन आउँछ । यससँगै, भारत सरकारले थोक मूल्यमा प्रतिकिलो २५ भारुसम्म अनुदानमा भण्डारणको प्याज बिक्री बढाउने निर्णय गरेको हिन्दुले उल्लेख गरेको छ ।

अघिल्लो वर्षको यही अवधिमा भारतीय बजारमा प्याजको खुद्रा मूल्य प्रतिकिलो ३० भारु कायम थियो । जुन, यो वर्षको अक्टोबरको तुलनामा १७ भारु प्रतिकिलोले न्यून हो । उपभोक्ता मामिला मन्त्रालयका सचिव रोहितकुमार सिंहले मूल्यवृद्धि नियन्त्रण गर्न भण्डारणको प्याज बिक्रीमा ल्याउने निर्णय गरेको जानकारी दिए ।

यही निर्णयअनुसार भारतको केन्द्र सरकारले मध्य अगस्टयता १.७ लाख टन भण्डारणको प्याज बजारमा पठाइसकेको छ । र, उक्त प्याज भारतको २२ राज्य सरकारमा पठाइएको उपभोक्ता मन्त्रालयले जनाएको छ । भारतमा मौसमका कारणले यो वर्ष प्याजको उत्पादनमा भारी गिरावट आएको छ ।

नेपालमा मूल्य बढेको बढ्यै

भारतीय बजारमा मूल्यवृद्धिको असर नेपालको थोक बजारमा समेत देखिएको छ । दसैँताका थोक बजारमा प्रतिकिलो ७६ रुपैयाँसम्म बिक्री भइरहेको प्याजको मूल्य यति बेला १०७ रुपैयाँ प्रतिकिलो पुगेको छ । यो प्रतिकिलो ३१ रुपैयाँसम्मको मूल्यवृद्धि हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा हुने थोक बिक्रीमै मूल्य बढेपछि खुद्रा बजारमा झनै मूल्य बढेको छ । यसअघि भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको थियो । भारतको उक्त निर्णयसँगै नेपाली थोक बजारमा प्रतिकिलो ६१ रुपैयाँमा बिक्री भइरहेको प्याजको मूल्य बढेर प्रतिकिलो ७५ रुपैयाँसम्म पुगेको थियो ।

नेपालमा खपत हुने कूल प्याजमध्ये ९५ प्रतिशत प्याज भारतीय बजारमार्फत आपूर्ति हुन्छ । यस्तै, भारतबाट नेपाल आउने प्याजको मूल्य भन्सारमा प्रतिकिलो २५ भारु मूल्याङ्कन हुने गरेको नेपाल आलु प्याज सङ्घका अध्यक्ष मोहन बानियाले बताए । सोही मूल्यमा व्यापारीले भन्सारमा राजश्व बुझाउने उनको भनाई छ ।

भदौ पहिलो सातामा भारतले मूल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्यसहित प्याजमा ४० प्रतिशत कर लगाउनुअघि नेपाल सरकारले मूल्य अभिवृद्धि कर लगाएको थियो । सरकारले चालू आर्थिक वर्ष २०८०-८१ को बजेट भाषणमार्फत प्याजमा मूल्य अभिवृद्धि कर लगाएको थियो । भारतले प्याजमा लगाएको निर्यात कर डिसेम्बर अन्तिमसम्म कायम रहनेछ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतको सो निर्णयबाट नेपाली बजारमा प्याजको थोक मूल्य प्रतिकिलो ५२ रुपैयाँ पुगेको थियो । बजेट भाषणअघि कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकिलो ३५ रुपैयाँमा प्याजको कारोबार भएको थियो । सरकारले बजेटमार्फत १३ प्रतिशत भ्याट लगाएपछि नेपाली बजारमा प्याजको मूल्य ५२ रुपैयाँसम्म पुगेको थियो ।

त्यसयता निरन्तर बढ्दै आइरहेको प्याजको थोक तथा खुद्रा मूल्य बढेको बढ्यै छ । नेपाली बजारमा खपत हुने कूल प्याजको ९५ प्रतिशत प्याज भारतबाट आउने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठ बताउँछन् । उनका अनुसार कालीमाटीमा मात्रै दैनिक सरदर ८० टन प्याज आयात हुन्छ ।

भारतबाट कति आउँछ प्याज ?

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९-८० मा भारतबाट ६ अर्ब ८६ करोड रुपैयाँको प्याज आयात भएको थियो । भारतबाट ताजा, सुकाइएको र बिउ गरी तीन प्रकारमा प्याज आयात हुने गरेको तथ्याङ्क छ । जसमा ताजा प्याजका रूपमा ६ अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, सुकेको प्याज ११ करोड रुपैयाँको आयात भएको छ भने २३ लाख रुपैयाँ बराबरको बिउ आयात भएको छ ।

आर्थिक वर्ष २०७८-७९ मा भारतबाट ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्याज आयात भएको थियो । विभागको तथ्यांकअनुसार उक्त अवधिमा ताजा प्याज ६ अर्ब १७ करोड रुपैयाँको भित्रिएको छ । यस्तै, २७ करोडको सुख्खा प्याज आयात भएकोमा ९३ लाख रुपैयाँको बिउ आयात भएको थियो । नेपालको माग धान्न भारतबाट वार्षिक २० करोड किलोग्राम आसपास प्याज आयात हुने गरेको छ ।

यसबाहेक, चालू आर्थिक वर्ष २०८०-८१ को दुई महिनाको अवधिमा भारतबाट ९५ करोड ७३ लाख रुपैयाँभन्दा बढीको प्याज भित्रिएको छ । साउन र भदौ महिनामा भारतबाट २ करोड ३१ लाख किलोग्राम प्याज भित्रँदा उक्त मूल्य बाहिरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप