कप्तान रोहित भन्छन्– ‘सन्दीपको पुनरागमनले उत्साही छौँ’

काठमाडौँ । नेपालले सोमबार घरेलु मैदानमा टी—२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिता खेल्दैछ । सन् २०२४ मा आयोजना हुने नवौँ टी—२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा टोली विश्वकपमा छनोट हुनेछन् ।
नेपालले आफ्नो पहिलो खेल सोमबार सिंगापुरसँग खेल्दैछ । त्यो खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । पहिलो खेलअघि आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नो टोली सन्तुलित रहेको र छनोट प्रतियोगिताको लागि आफूहरू तयार रहेको बताएका छन् ।
कप्तान रोहितले प्रभावशाली स्पिनर सन्दीप लामिछानेको पुनरागमनले पनि नेपाली टोली सन्तुलित भएको प्रतिक्रिया दिए । यसअघि खेलिएको त्रिकोणात्मक टी—२० शृङ्खलामा सन्दीप अनुपस्थित रहेका थिए । तर, विश्वकप छनोटका लागि घोषित टोलीमा सन्दीपलाई पनि समावेश गरिएको छ ।
‘हाम्रो टोली विश्वकप छनोट खेल्न तयार छ । सन्दीप लामिछाने फर्किएपछि टोली सन्तुलित पनि भएको छ,’ उनले भने । उनले आफ्नो टोलीको ब्याटिङ र बलिङ दुवै राम्रो रहेको पनि बताए ।
नेपाली टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईले पनि आफ्नो टोली प्रतियोगिताका लागि तयार रहेको बताए । उनले विश्वकपमा छनोट हुनु आफ्नो टोलीको एकमात्र लक्ष्य भएको पनि बताए । उनले सन्दीपको पुनरागमनले टोली थप सन्तुलित भएको प्रतिक्रिया पनि दिए ।
‘यतिबेला हाम्रो एकमात्र लक्ष्य टी—२० विश्वकपमा छनोट हुनु हो । हाम्रो टोली सन्तुलित पनि छ । लगातार विभिन्न प्रतियोगिता खेलेकाले खेलाडीको आत्मविश्वास पनि बढेको छ । हामी जितप्रति आशावादी छौँ । सन्दीपको आगमनले टोली थप सन्तुलित पनि बनेको छ,’ उनले भने ।
प्रशिक्षक देसाईले प्रतियोगितामा सहभागी सबै टोली उत्तिकै बलियो भएको प्रतिक्रिया दिँदै आफूहरूले कसैलाई पनि कमजोर सम्झनै भुल नगरेको बताए । ‘हामी सबैलाई थाहा छ, टी—२० भनेको फास्ट खेल हो । त्यसैले क्षणभरमै परिस्थिति फेरिन सक्छ । तर, हाम्रा सबै खेलाडी अनुभवी र अभ्यस्त छन् । हामी सबैको ध्यान अहिले विश्वकप छनोटमै केन्द्रित छ,’ उनले भनेका छन् ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ 'म्याङ्गो राइड' सुरु, कुलमानले गरे झन्डा हल्लाएर बिदाइ (तस्बिरहरू)
-
सङ्घीय अनुदानमा निर्भरता घटाउन कर्णालीले आन्तरिक आयमा ध्यान दिनुपर्छ
-
विराटनगरका मेयर कोइराला इजरायलबाट स्वदेश फर्किए
-
प्रदेश सधैँ अनुदानमा आश्रित हुनु हुँदैन
-
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
-
एम्बाप्पे अस्पतालबाट डिस्चार्ज