मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमती प्रदेश : दसैँको अवधिमा १७ जनाको मृत्यु

सोमबार, १३ कात्तिक २०८०, १३ : १५
सोमबार, १३ कात्तिक २०८०

मकवानपुर । चाडपर्वको समयमा बागमती प्रदेशका १० जिल्लामा भएका विभिन्न घटनामा परेर १७ जनाले ज्यान गुमाएका छन् । प्रदेशको १३ जिल्ला मध्ये काठमाडौँ उपत्यका बाहेक १० जिल्ला क्षेत्राधिकार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार प्रदेशका विभिन्न जिल्लामा भएको घटनामा १७ जनाको मृत्यु भएको छ ।

दसैँको अवधिमा भएका दुर्घटनामा परेर प्रदेशका ३ जिल्लामा ६ जनाको मृत्यु भएको छ भने अन्य घटनामा ११ गरी १७ जनाको मृत्यु भएको छ । प्रदेशको मकवानपुर, चितवन र नुवाकोटमा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । उक्त अवधिमा प्रदेशका ३ जिल्लामा ६ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये मकवानपुरका ४, चितवन र नुवाकोटमा १÷१ वटा सवारी दुर्घटना भएको थियो ।

गत कात्तिक ३ देखि ११ गतेसम्मको अवधिमा प्रदेशको मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, चितवन र काभ्रेमा भएका विभिन्न घटनामा परेर ११ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता दीपक रेग्मीले जानकारी दिए । उनका अनुसार सो अवधिमा चितवनमा ४, धादिङमा २, नुवाकोटमा २, सिन्धुपाल्चोक, काभ्रे र मकवानपुरका १÷१ वटा घटनामा ११ जनाको मृत्यु भएको हो ।

मकवानपुरको भीमफेदी गाउँपालिकामा एक वृद्धको भीरबाट लडेर मृत्यु भएको छ । गत आइतबार दिउँसो २ः४५ बजेको समयमा भीमफेदी गाउँपालिका–३, बेसारघारीका ७० वर्षीय गणेश बहादुर स्याङ्तानको भीरबाट लडेर मृत्यु भएको हो । घर नजिकै घाँस काट्न गएका स्याङ्तान भीरबाट लडेर मृत्यु भएको थियो ।

धादिङ जिल्लाको गजुरी गाउँपालिका–६ राम्चेमा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ सिद्धलेख गाउँपालिका–७ भैसे घर भई हाल गजुरी गाउँपालिका–६ राम्चे बस्ने ३२ वर्षीया रिता भुजेल रहेको प्रहरीले जानकारी दिएको छ । गत कात्तिक ८ गते बुधबार बिहान १० बजे खाना खाएर सुतेकोमा दिउँसो ४ः४५ बजेको समयमा सुतेकै अवस्थामा मृत फेला परेकी थिइन् ।

यस्तै, धादिङको गल्छी गाउँपालिका–४, चरौदीस्थित त्रिशुली नदीमा एकजना महिलाको शव फेला परेको छ । गत ११ गते शनिबार दिउँसो २ः४० बजेको समयमा ४० वर्षीया महिलाको शव फेला परेको थियो । खोला तर्न प्रयोग गरिएको तुइनको तारमा अड्किएको अवस्थामा ती महिलाको शव फेला परेको थियो । उनको हालसम्म सनाखत हुन सकेको छैन ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ पौवास्थित भित्री सडकखण्डको नालिमा एक जना पुरुष मृत फेला परेका थिए । गत ८ गते बुधबार इन्द्रवती गाउँपालिका–७ पोखरेका ३३ वर्षीय सागर वि.क मृत पेला परेका थिए । गत मंगलबार दिउँसो २ बजेको समयमा काठमाडौँबाट सिन्धुपाल्चोक हिँडेको वि.क उक्त स्थानमा मृत भेटिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

नुवाकोटको बिदुर नगरपालिका–५ पिपलटारमा एक पुरुषको शव फेला परेको थियो । प्रहरीका अनुसार धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भई हाल बिदुर नगरपालिका–५ मा लेबर काम गर्ने ५० वर्षीय सुका काजी कुमाल गत बुधबार आफ्नै डेरामा मृत अवस्थामा फेला परेका थिए । जन्डिसको बिरामी रहेका कुमाल मादकपदार्थ सेवन गर्ने गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको जनाइएको छ ।

नुवाकोटका खोला तर्ने क्रममा पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । नुवाकोटको लिखु गाउँपालिका–३ ढाडफेदीमा खोला तर्ने क्रममा चिप्लेर लड्दा गत कात्तिक ६ गते बिहान ११ः४५ बजेको समयमा ७५ वर्षीय बुद्धवीर तामाङको मृत्यु भएको हो ।

चितवनमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार चितवनको  भरतपुर महानगरपालिका–२२, बोटे टोलस्थित राप्ती खोलाले बगाउँदा स्थानीय राजन बोटेको मृत्यु भएको हो । गत ९ गते बिहान १०ः३० बजेको समयमा राप्ती खोलामा नुहाउने क्रममा बोटेलाई बगाएको थियो । खोलाले बगाएर बेपत्ता भएका बोटेको शव घटनास्थलबाट १५ मिटर तल फेला परेका थियो ।

चितवनको भरतपुर महानगरपालिका–३ बेल चोकमा आश्रममा आश्रित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय बुद्धि बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङ भदौ २४ गतेदेखि आश्रममा बस्दै आएकोमा ४ गते बिहान ७ः४५ बजेको समयमा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए ।

गत ४ गते चितवनकै भरतपुर महानगरपालिका–१० भाटभटेनीमा दिउँसो १ः३५ बजेको समयमा ४५ वर्षीय प्रकाश आले मगर मृत फेला परेका थिए । अनुसन्धानको क्रममा मगरले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

चितवनकोे भरतपुर महानगरपालिका–१ नम्बर वडा कार्यालय भवन पछाडि नारायणी नदीमा गत ११ गते शनिबार एक जना पुरुष व्यक्तिको शव फेला परेको थियो । शनिबार दिउँसो २ः२० मिनेटको समयमा ६५ वर्षीय पुरुष व्यक्तिको शव नारायणी नदीको तिरमा तैरिरहेको अवस्थामा फेला परेको थियो । उनको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

गत ११ गते शनिबार नै काभ्रेको धुलिखेल नगरपालिका–१२ शंखुपाटी चौरस्थित आश्रममा आश्रित वृद्धाको मृत्यु भएको थियो । शनिबार  साँझ ६ बजेको समयमा मानव कल्याण आश्रममा बस्दै आएकी ६७ वर्षीया राममाया नगरकोटीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

गत कात्तिक ८ गते बुधबार मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा बुधबार साँझ स्कुटर दुर्घटना भएको थियो । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०२–०२७ प ४८४२ नम्बरको स्कुटर बुधबार साँझ ५ः४० बजेको समयमा जुरिखेतमा सडकबाट अन्दाजी १०० मिटर तल खस्दा स्कुटरमा सवार काठमाडौँ महानगरपालिका–२७, महाबौद्धकी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएकी थापाको उपचारको क्रममा हेटौँडा अस्पतालमा बुधबार साँझ मृत्यु भएको थियो । स्कुटर चालक थापाका श्रीमान् ६५ वर्षीय शशीराज पाण्डेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, गत कात्तिक ९ गते बिहीबार पूर्व–पश्चिम सडकखण्डस्थित हेटौँडा–१५, रातोमाटेमा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु भएको थियो । बिहीबार बिहान ५ः४५ बजेको समयमा रातोमाटे स्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्बरको हाइड्रा क्रेन अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–३०, विश्रामपुर बस्ने १८ वर्षीय क्रेनका सहचालक विपिन महतो रहेको प्रहरी जनाएको छ । उक्त दुर्घटनामा क्रेनले चपेको अवस्थामा महतोको उद्धार गरिएको थियो । घाइते महतोको उपचारका क्रममा हेटौँडा अस्पतालमा  मृत्यु भएको थियो । दुर्घटनामा क्रेनका चालक लालपर्सा बस्ने ३० वर्षीय दशरथ पासवान भने सामान्य घाइते भएका थिए ।

गत कात्तिक १० गते त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–१, बाघझोरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–६ का ३४ वर्षीय सुमन लामा रहेको प्रहरी जनाएको छ । शुक्रबार भैंसेबाट हेटौँडा तर्फ आउँदै गरेको ना १७ प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खस्दा लामा घाइते भएका थिए । मोटरसाइकल चालक लामाको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने ३० वर्षीय रोमन बस्नेत घाइते भएका छन् । घाइते बस्नेतको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

गत कात्तिक ८ गते बुधबार मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–७, लामिटारमा मोटरसाइकल दुर्घटना हुँदा बागमती गाउँपालिका–६, ठाडोखोलाका २२ वर्षीय सन्तोष दर्लामीको मृत्यु भएको थियो । बुधबार साँझ ८ः४० बजेको समयमा लामिटारमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका सन्तोषको उपचारको क्रममा काठमाडौंस्थित न्यूरो अस्पतालमा शुक्रबार राती मृत्यु भएको प्रहरीले जनाएको छ । बागमती गाउँपालिकाको झुरझुरेबाट हेटौंडातर्फ आउँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा  मोटरसाइकलमा सवार बागमती गाउँपालिका–६, ठाडीखोलाका २२ वर्षीय प्रदीप लोप्चन भने सामान्य घाइते भएका थिए ।

गत बिहीबार चितवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको थियो । बिहीबार राती खैरहनी नगरपालिका–१ बहेरा चोकको पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५, का २३ वर्षीय आनन लामाको मृत्यु भएको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६ प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख २३५४ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत बिहीबार नुवाकोटको बेलकोटगढी नगरपालिका–७, बुद्धसिङ घाटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा ५० वर्षीया साबित्रा अधिकारी रहेको प्रहरी जनाएको छ । बिहीबार बिहान ११ः४५ बजेको समयमा त्रिशुलीबाट काठमाडौँ जाँदै गरेको बा ४ ख ५७९३ नम्बरको बसले तारुकाबाट बिदुर आउँदै गरेको बा प्र ०३–००४ प ९२१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक २३ वर्षीय अर्जुन अधिकारी र साबित्रा दुवै गम्भीर घाइते भइएका थिए । घाइते साबित्राको उपचारको क्रममा मृत्यु भएको थियो । घाइते अर्जुनलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ रिफर गरेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप