आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सर्वोच्चबाट बिदा हुँदै न्यायाधीश सिन्हाले भने-आउँदा असहज अवस्था थियो, अहिले खुसी भएर जाँदैछु

मङ्गलबार, १४ कात्तिक २०८०, १८ : २१
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले आफू सर्वोच्च अदालतबाट बिदा हुँदा अत्यन्तै खुसी भएर बिदा भएको बताएका छन् । मंगलबार सर्वोच्च अदालत परिसरमा भएको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश सिन्हाले खुसीसाथ बाहिरिन लागेको बताएका हुन् । 

आफू न्यायाधीशका रुपमा सर्वोच्च अदालत प्रवेश गर्दा अत्यन्तै असहज महशुस भएको र अवस्था पनि त्यति सहज नरहेको स्मरण गर्दै सर्वोच्चबाट बाहिरिँदा भने आफू खुसीसाथ बाहिरिएको बताएका हुन् । सहकर्मी न्यायाधीश र सर्वोच्च अदालतका कर्मचारीलाई सम्बोधन गर्दै सिन्हाले भने, ‘म सर्वोच्च अदालतमा आउँदा अवस्था अत्यन्तै असहज थियो । धेरै कारणले त्यतिबेला असहज भएको थियो । तर आज बिदा हुँदै गर्दा म अत्यन्तै खुसी छु, खुसी भएरै बिदा हुँदैछु ।’ न्यायाधीश सिन्हाले त्यतिबेला के कति कारणले स्थिति असहज थियो भन्ने कुरा भने बताएनन् । 

न्यायाधीश सिन्हाले आफू पदीय हैसियतले सर्वोच्च अदालतबाट बिदा भएपनि मित्रता वा कानुनी पाटोबाट अवकाशमा नगएको बताए । आफूले जानेको सीप र आफूसँग रहेको क्षमता आवश्यक परेको अवस्थामा सर्वोच्च प्रशासन वा न्याय सेवाले प्रयोगमा ल्याउन सक्नेसमेत न्यायाधीश सिन्हाले बताए ।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडाले बहुमुखी प्रतिभा भन्ने शब्दको व्याख्या गर्नुपरे न्यायाधीश अनिलकुमार सिन्हालाई हेरे पुग्ने बताए । सिन्हासँग आफ्नो ३५ वर्षदेखिको मित्रवत् सम्बन्ध रहेको स्मरण गर्दै कामु प्रधानन्यायाधीश खतिवडाले भने, ‘हामी भन्ने गर्छौ नि बहुमुखी प्रतिभा भनेर, हो त्यसको व्याख्या गर्नु परेमा अनिलकुमार सिन्हालाई हेरे पुग्छ, त्यो भन्दा बढी अरु केही भन्नै पर्दैन ।’

कामु प्रधानन्यायाधीश खतिवडाले अगाडि भने, ‘म मलेज पढ्दादेखिकै उहाँको साथी हो । म सरकारी वकिल रहँदा उहाँ डिफेन्स लयर हुनुहुन्थ्यो, त्यतिबेला पनि हामी पक्ष र विपक्षमा रहेर बहस गर्‍यौँ । बहस मित्रता, सम्बन्ध, ज्ञान, अध्ययन सबैमा उहाँको दख्खल छ, त्यसैकारण उहाँलाई बहुमुखी प्रतिभाको धनी भनेको हो ।’

सिन्हा सर्वोच्च अदालतमा आउँदा भन्दा जाँदा शिर अझै उच्च बनाएर जान लाग्नुभएको भन्दै खतिवडाले प्रशंशासमेत गरे ।

६५ वर्षे उमेर हदका कारण बुधबारबाट अनिवार्य अवकाशमा जान लागेका सिन्हाले सर्वोच्च अदालतमा ७ वर्ष ३ महिना सेवा गरेका छन् । वरिष्ठ अधिवक्ताबाट सर्वोच्च अदालतको न्यायाधीशमा २०७३ सालमा नियुक्त भएका सिन्हा मुख्यतः कर्पोरेट ल मा दख्खल राख्ने गर्दथे । सर्वोच्च अदालतका न्यायाधीश बनेपछि फौजदारी मुद्दामा समेत न्यायाधीश सिन्हाको धेरै फैसलाले नजिर स्थापित गरेका छन् । 

अधिवक्ता तथा वरिष्ठ अधिवक्ता र सर्वोच्चका न्यायाधीशका रुपमा काम गर्दासमेत न्यायाधीश सिन्हा कहिल्यै विवादमा आएका थिएनन् । सर्वोच्चमा ७ वर्ष ३ महिना काम गरी विवादरहित रहेर बुधबारबाट अनिवार्य अवकाशमा जान लागेका सिन्हालाई मंगलबार अपरान्ह ४ बजे सर्वोच्च परिसरमा बिदाइ गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप