शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा कृषि गणना : तथ्याङ्क भरपर्दो नभएको कृषि विकास निर्देशनालयको भनाई

बुधबार, १५ कात्तिक २०८०, १२ : ०२
बुधबार, १५ कात्तिक २०८०

पोखरा । सातौँ कृषि गणनाले नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको देखाएको छ । अघिल्लो कृषि गणनामा ७१ प्रतिशत किसान थिए । अहिले ६२ प्रतिशत मात्रै किसान छन् । 

गण्डकी प्रदेशमा भने ४ लाख १२ हजार ६ सय ७७ कृषक परिवारले खेती गर्ने गरेका छन् । प्रदेशको १ लाख ७३ हजार ७ सय ७३ हेक्टर जग्गामा खेती हुन्छ । गण्डकीको सबैभन्दा धेरै कास्कीमा ५३ हजार २ सय २८ किसान परिवारले १९ हजार १ सय ६४ हेक्टर जग्गामा खेती किसानी गर्छन् । 

सरकारले वि.सं. २०१८ देखि हरेक १० वर्षमा कृषि गणना गर्दै आएको छ । २०७८ चैत १ गतेदेखि गण्डकीका ११ वटै जिल्लामा कृषि गणना कार्यालय खोलेर २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ कृषि गणना गरिएको हो ।

यसबाट तीनै तहका सरकारलाई आवश्यक पर्ने कृषि तथ्याङ्क सङ्कलन गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ । गण्डकीका ८५ वटै पालिकाको छुट्टाछुट्टै तथ्याङ्क निकालिएको छ । प्रदेशभरि ६ लाख ६२ हजार ४ सय ८० परिवारको बसोबास छ । प्रदेशको पूरा घरधुरीमध्ये ६२ प्रतिशत घरधुरी कृषकको छ । 

तथ्याङ्क अनुसार गण्डकीका ३५.९ प्रतिशत जमिनमा बाह्रै महिना सिँचाइ पुगेको छ । गण्डकी प्रदेशका ७.५ प्रतिशत किसान परिवारले सरकारी अनुदान लिएका छन् । मुख्य किसानमा पुरुष ५२ र महिला ४८ प्रतिशत छन् । 

प्रदेशमा ३५ प्रतिशत किसानलाई कृषि आयबाट वर्ष भरी खान पुग्छ । गण्डकीमा २१ प्रतिशत भन्दा बढी किसानले कृषिबाहेक अन्य पेशा पनि गर्छन् । गण्डकीका सबैभन्दा बढी मकैखेती हुने देखाएको छ । धान र गहुँभन्दा बढी मकैखेती हुने अध्ययनमा देखिएको छ ।

६० हजार ८ सय ६३ हेक्टरमा धानखेती हुन्छ भने ६७ हजार २ सय ८८ हेक्टरमा मकै खेती हुन्छन् । गहुँखेती भने ११ हजार १ सय १३ हेक्टरमा गरिँदै आएको छ । कृषिबालीको उत्पादकत्व घटिरहेका बेला फलफूलतर्फ भने उल्लेख्य वृद्धि भएको छ । गण्डकी प्रदेशमा आँप, केरा, सुन्तला, कागती र स्याउको क्षेत्रफल बढ्दै गएको कृषि गणनामा उल्लेख छ । २ सय ३ हेक्टरमा आँप, १ हजार ३ सय ३ हेक्टरमा केरा, २ हजार ८९ हेक्टरमा सुन्तला, ५ सय ४ हेक्टरमा कागती र ३ सय ६१ हेक्टरमा स्याउ खेती हुन्छ । 

प्रदेशमा रैथाने गाईगोरु पाल्न छोडे पनि उन्नत जातका गाईको सङ्ख्या अत्यधिक बढेको छ । प्रदेशभरि २ लाख ४९ हजार गाईगोरु छन् भने राँगाभैंसी ४ लाख ४८ हजार, खसी, बोका, च्यांग्रा १५ लाख ७८ हजार, सुँगुर, बंगुर र बदेल १ लाख ३४ हजार छन् ।

किसानहरू बिस्तारै यान्त्रीकरणमा प्रवेश गरेका छन् । तथ्याङ्क अनुसार १५.५ प्रतिशतले मात्रै फलामे हलो प्रयोग गरेर किसानी गर्छन् । २४ प्रतिशत किसानको पहुँचमा ट्याक्टर पुगिसकेको छ भने १७.८ प्रतिशत किसानकोमा पावरटेलर छ । कृषि बीमा तर्फ भने किसानको उत्साह खासै छैन । गण्डकीमा ६.८ प्रतिशत किसानले मात्रै बीमा गरेका छन् । 

तर सरकारले निकालेको तथ्याङ्क विश्वासिलो भने नभएको सरोकारवालाको गुनासो छ । प्रदेशमा भएको तथ्याङ्क र अहिले कृषि गणनाको तथ्याङ्कमा ठुलो अन्तर देखिएको कृषि विकास निर्देशनालयका निर्देशक बासु रेग्मी बताउँछन् ।

‘हामीले पनि तथ्याङ्क निकालेका छौँ । स्याङ्जामा मात्रै २ हजार हेक्टरमा सुन्तला खेती हुन्छ । अहिले प्रदेशभरि २ हजार हेक्टरमा सुन्तलाखेती हुने तथ्याङ्क निकालिएछ,’ उनले भने, ‘यस्तो तथ्याङ्क कहाँ प्रयोग गर्ने ? नीति निर्माण कसरी बस्तुगत र यथार्थपरक हुन्छ ?’ कृषि सँग सम्बन्धित निकायका प्रमुखहरूले अहिलेको तथ्याङ्कमा पुनरावलोकन गर्नुपर्ने र त्रुटि सच्याउनुपर्ने सुझाव दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप