शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनए कार्यालयमा कुटपिटमा संलग्न युवासंघका कार्यकर्ता पक्राउ

बिहीबार, १६ कात्तिक २०८०, २२ : ११
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालयमा पत्रकारमाथि कुटपिटका साथै नयाँ कार्यसमिति बनाएका अध्यक्ष आरके शर्मालगायतमाथि दुर्व्यवहारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा उदयपुर घर भएका युवा संघका कार्यकर्ता दीपेन्द्र तामाङ रहेका छन् । उनलाई बिहीबार राजधानीको गौरीघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

मंगलबार युवा संघका कार्यकर्ताले बालुवाटारस्थित संघको कार्यालयमा बेल्जियम निवासी पत्रकार तथा एनआरएनए अभियन्ता ओम शर्मामाथि आक्रमण गरेका थिए । सो घटनाको अनुसन्धानका संघको कार्यालयमा रहेको सीसीटीभी फुटेज मगाएर अनुसन्धान गर्दा उनको संलग्नता देखिएको प्रहरीको भनाइ छ । 

यस्तै सोही घटनामा एनआरएनएका अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीलगायतमाथि पनि दुर्व्यवहार भएको थियो । सो घटनापछि पीडित ओम शर्माले उजुरी दिएका थिए । यस्तै आरके शर्माले पनि अर्को छुट्टै उजुरी दिएका थिए । 

संघको कार्यालयमा निर्वाचित अध्यक्ष बद्री केसीले युवासंघलाई बोलाएर कार्यक्रम राखेको भन्दै आरके शर्मालगायतले विरोध गरेपछि दुई पक्षीय विवादका क्रममा आक्रमण भएको बताइएको छ । एमाले नेता महेश बस्नेत समेत सहभागी कार्यक्रममा भएको यो घटनापछि केसीले पनि प्रहरी वृत्त दरबारमार्गमा शान्तिसुरक्षाको माग गर्दै उजुरी दिएका थिए । 

११ औँ महाधिवेशनमा धाँधली गरेर बद्री केसीले चुनाव जितेको आरके पक्षले आरोप लगाएपछि एनआरएनएमा दुई पक्षीय विवाद चर्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप