सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंक र उद्योग वाणिज्य महासंघबीच डेटा आदानप्रदानको सम्झौता

शुक्रबार, १७ कात्तिक २०८०, १४ : ५९
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन/अनुसन्धानको प्रयोजनका लागि आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ । गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा शुक्रबार केन्द्रीय बैंक बालुवाटारमा आयोजित कार्यक्रममा उक्त समझदारी भएको हो । 

समझदारीपत्रमा बैंकका तर्फबाट आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयारीका लागि महासंघमा आबद्ध उद्योगहरूले प्रत्येक त्रयमासमा आवश्यक तथ्याङ्क र सूचनाहरू राष्ट्र बैंकलाई उपलब्ध गराउने सहमति भएको छ । त्यसको निम्ति महासंघले उद्योगहरूसँग आवश्यकताअनुसार समन्वय र सहजीकरण गर्नेछ । 

साथै, बैंकले समयसमयमा गर्ने आकस्मिक तथा विशेष अध्ययनका लागि आवश्यक पर्ने औद्योगिक तथ्याङ्क र सूचना जुनसुकै समयमा महासंघमा आबद्ध उद्योगहरूले बैंकलाई उपलब्ध गराउने समझदारी भएको छ ।

महासंघ वा उद्योगले उपलब्ध गराउने तथ्याङ्क नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले अध्ययन विश्लेषण तथा एकीकृत रूपमा प्रकाशन गर्ने प्रयोजनको लागि मात्र उपयोग गरिनेछ । सम्बन्धित निकाय र उद्योगबाट प्राप्त तथ्याङ्क र सूचनाको पूर्ण रूपमा गोपनीयता कायम गरिने दुई पक्षीय समझदारी छ ।

त्यसरी उपलब्ध गराइएको तथ्याङ्क र सूचना बृहत् आर्थिक नीति निर्माण गर्ने प्रयोजनबाहेक व्यक्तिगत रूपमा अध्ययन अनुसन्धान, प्रकाशन र अन्य कुनै पनि प्रयोजनका लागि उपयोग नगरिने समझदारी भएको छ । तथापि, उद्योग व्यवसायको पहिचान नहुनेगरी प्रकाशित भएको तथ्याङ्क सूचनाको उपयोगमा भने बाधा पर्ने छैन ।

कार्यक्रममा गभर्नर अधिकारीले बैंक र महासंघबीचको समझदारीबाट तथ्याङ्क र सूचनाको आदानप्रदानमा सहजीकरण हुने उल्लेख गर्दै त्यसले बैंकका नीतिगत व्यवस्थाको तर्जुमा र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

यसैगरी, महासंघका अध्यक्ष ढकालले औद्योगिक क्षेत्रका तथ्याङ्क र सूचना नियमित रूपमा बैंकलाई उपलब्ध गराउन महासंघले समन्वय गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, बैंकका निर्देशकद्वय मुक्तिनाथ सापकोटा र नारायणप्रसाद पोखरेल तथा महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप