बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लघुकथा : ह्यारी र कुकुर

आइतबार, १९ कात्तिक २०८०, १२ : २९
आइतबार, १९ कात्तिक २०८०

उसको खास नाउँ हरिप्रसाद थियो। गाउँमा छउन्जेल उसलाई हरे भन्थे। पढन सहर छिरेर जागीर खान थालेपछि उसलाई हरि भन्न थाले। अनि ग्रीनकार्ड लटरी परेर अमेरिका छिरेपछि त उसलाई ह्यारी भन्न थाले। 

ऊ गाउँमा छउन्जेल खेतबारी त प्रशस्तै थिए। सहरमा लोकसेवा पास गरेर अफिसर भएपछि प्रशस्तै धन कमायो । निकै कुलघरानकै देखिन्थ्यो। कामदार, सेवादार थुप्रै थिए। एक पाइला हिँडन पर्दैनथ्यो। गाडी र ड्राइभर सधैँ तयार रहन्थे। राजनीतिकर्ता र ब्यापारीहरुसंग उठबस थियो। ठाँटबाट ठूलै थियो। चाकरी गर्नेहरू मौरीझैँ झुम्मिन्थे। नमस्कार पस्कनेको ताँती लाग्थ्यो। 

यत्रो शानसौगातमा बसिरहेका हरिलाई लटरी परेपछि अमेरिका जाने लोभ लाग्यो। अमेरिका छिरेर ह्यारी भएपछि उसले अमेरिकन ड्रीमको ढाँचामा आफूलाई ढाल्न थाल्यो । अमेरिकनले बोलेजस्तो जिब्रो बटारेर ट्याक्क टुक्क अँग्रेजी बोल्न थाल्यो । 

ठूलै घर, ठूलै गाडी र ठूल्ठूलै मानिसको सम्पर्कमा रहन थाल्यो । एनाटोलियन शेफर्ड जातको ठूलै कुकुर पनि पाल्यो । अमेरिकामा पनि ‘म के कम’ भन्ने भावना बोकेर आफू पनि उच्च वर्गको अमेरिकन नै भएँ भनेर सोच्न थाल्यो ।

बिहान बेलुकै कुकुर डोर्याएर ऊ पार्कमा हिँडन जान्थ्यो तर यहाँ आफ्नो देशमा जस्तो चाकरी चाप्लुसी गरी पछि लाग्नेहरू थिएनन्। न त गाडी हाँकिदिने ड्राइभर नै थिए। नमस्कार टकर्याउनेहरू पनि थिएनन्। 

तर, ऊ जस्तै कुकुर डोर्याएर हिँडाउनेहरू चाहीँ छिनछिनमै भेटिन्थे। नमस्कारको बदला ‘हेलो, हाई र ह्वाटस् अप’ को आदान प्रदान मात्र हुन्थ्यो। यहाँ पार्कमा कुकुर डोर्याउनेहरुमा कल्ले कसलाई मान गर्ने र ? 

‘हेलो, ह्यारी, के छ हालखबर । धेरै पछि भो त,’ मोर्निङ वाकमा आएको विकासले पार्कमा कुकुर डोर्याइरहेको हरिलाई सोध्यो। 

ह्यारी चाहीँ भर्खर टिपेको कुकुरको गु पोको पारेको प्लाष्टिक लुकाउन खोज्दै ‘हेलो, विकास’ भनेर लाजले भुतुक्क भएर मुसुक्क मुस्कायो। 

‘पछाडि के लुकाएको ?’ थाहा पाएर पनि विकासले सोध्यो।

‘के गर्ने हेर न, शान हुन्छ भनेर कुकुर पालियो। अब बिहानै बेलुकै यसको गु सोहर्दा सोहर्दै जिन्दगी जाने भो भन्या,’ ह्यारीले आफ्नो देश छोडेर आएर पछुतो लागेको झैँ गरी उत्तर दियो।

विकाससंग कुरा गर्दागर्दै ह्यारीले पार्कमा सबैतिर हेर्यो। कोही कुकुरलाई गराइरहेका। कोही गु सोहरिरहेका । कोइ गु प्लाष्टिकमा पोको पारिरहेका। 

उसलाई अब फेरि ह्यारीबाट हरि अनि हरिबाट हरेमै फर्किन पाए हुन्थ्यो जस्तो लाग्यो।

हालः लस एन्जेलस
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राकेश कार्की
राकेश कार्की
लेखकबाट थप