आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपा उपसभापति अर्यालको गुनासो–गृहमन्त्री श्रेष्ठले भेट्ने समय दिएनन्

सोमबार, २० कात्तिक २०८०, १६ : ०१
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट्ने समय नदिएको गुनासो गरेका छन् । 

रुकुम र जाजरकोटका प्रमुख जिल्ला अधिकारीहरुले मन्त्री र सांसदहरुलाई मात्रै स्वागत गर्नुपरेपछि  भूकम्प पीडितलाई राहत वितरण गर्ने कुरामा समस्या आएको र त्यो समस्या समाधानका लागि सुझाव दिन गृहमन्त्रीलाई भेट्न खोज्दा नपाएको उनको गुनासो थियो । 

सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उपसभापति अर्यालले मन्त्री र सांसदहरुलाई स्वागत गर्न दुई जना सहसचिव पठाएर भएपनि भूकम्प पीडितलाई राहत दिने काममा सिडियोहरुलाई लगाउन सरकारलाई सचेत गराए । उनले सरकार आम उपभोक्ताको हितका लागि जिम्मेवार नभएको आरोप पनि पटक पटक लगाए ।

बैठकमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले सरकार जिम्मेवार नभएकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकिएको बताइन् । उनले संसदीय समितिले यसअघिको बैठकमा मात्रै चिनी लगायतका अति आवश्यकीय वस्तुहरुको सहज ढंगले आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएपनि सरकारले सो अनुसार कामै नगरेको स्मरण गराइन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद हेमराज राईले मुलुक कमिशनतन्त्रको, घुसखोरी, कालोबजारीहरुको, अराजकताको एउटा ठूलो भूमरी भित्र प्रवेश गरेको जस्तो अनुभूति आफूले गरेको बताए । सरकार र सरकारी निकायलाई जति अनुगमन गरेपनि उसले इमान्दार ढंगले काम नगरेकाले कारणले उपभोक्ताहरु मारमा पर्नुपरेको उनको निष्कर्ष थियो 

सांसद राईले सरकारले जिम्मेवारी बोध गरेमात्रै उपभोक्ता मारमा पर्ने विद्यमान अवस्थाको अन्त्य गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप