शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
तिहार

फूलमा आत्मनिर्भर बन्दै लुम्बिनी प्रदेश

स्थानीय फूललाई प्रोत्साहन गर्न प्लास्टिकका माला बिक्रीमा रोक
बिहीबार, २३ कात्तिक २०८०, १० : ३१
बिहीबार, २३ कात्तिक २०८०

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ की कोपिला काफ्लेको नेतृत्वमा गठन भएको तिलोत्तमा मोडर्न फूल उत्पादक समूहले अहिले १० कट्ठा जग्गामा सयपत्री फूल उत्पादन गरेको छ ।

सुरुमा ५ कट्ठा क्षेत्रफलमा फूल उत्पादन गरेको उक्त समूहले अहिले १० कट्ठामा फूल लगाएको हो । अहिले कम्तीमा ५ हजार माला हुने फूल उत्पादन भएको अध्यक्ष काफ्लेले बताइन् । २५ जना रहेको उक्त समूहले तिहार, बिहे, पूजा आदिका लागि चाहिने फूल व्यावसायिक रूपमा उत्पादन गरिरहेको छ ।

भारतबाट फूल आयात रोकेर आफ्नै गाउँ ठाउँको फूल प्रयोग गर्ने बानी बसाल्न तिलोत्तमा, बुटवलमा बजारीकरण गरिएको काफ्लेको भनाइ छ । अन्य  सहरमा पनि फूल पठाउने योजना रहेको उनले बताइन् ।

9

तिलोत्तमा नगरपालिका– २ का ईश्वरी भण्डारीले ग्रीनजोन एग्रोफर्म स्थापना गरी फूल उत्पादन गर्न थालेको ४ वर्ष भयो । गत साल १० कट्ठा जग्गामा सयपत्री उत्पादन गरेका भण्डारीले अहिले २ बिघामा खेती गरेका छन् ।

बुटवल उपमहानगरपालिका–१५, चम्कीपुरमा रहेको फोकस मल्टी एग्रो कन्सर्न एण्ड रिसर्च सेन्टरले पनि तिहार लक्षित फूल उत्पादन गरेको छ । गत वर्ष व्यावसायिक रूपमा ३५ सयभन्दा बढी सयपत्री फूलको माला उत्पादन गरेको उक्त सेन्टरले अहिले १० हजार माला उत्पादन गर्ने लक्ष्य राखेको छ ।

गत वर्ष ८ कट्ठामा फूल खेती गरिएकोमा अहिले बढाएर १५ कट्ठामा लगाइएको फार्मका अध्यक्ष राजेश कुँवरले बताए । विगतमा भारतबाट फूल आउने लुम्बिनी प्रदेश पछिल्ला वर्ष फूलमा आत्मनिर्भर भएको छ ।

फूलको बजार राम्रो हुँदै गएपछि किसानहरूले क्षेत्रफल बढाउने र नयाँ किसान पनि व्यावसायिक रूपमा फूल खेती गर्न आकर्षित भएको पुष्प व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष रमेश पाण्डेले बताए ।

लुम्बिनी प्रदेशका बाह्रै जिल्लामा विभिन्न जातका फूल खेती विस्तार भएको उनको भनाइ छ । फूलबाट राम्रो आम्दानी हुने देखेपछि तराई र पहाड दुवै क्षेत्रका किसान व्यावसायिक फूल खेतीमा लागेको उनले बताए ।

7

केही ठाउँमा समूह बनाएर र केही ठाउँमा एकल रूपमै किसानले व्यावसायिक रूपमा फूल खेती गर्ने गरेका छन् । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयकी बागवानी विकास अधिकृत सुन्ना बरालीले लुम्बिनीको रुकुम र प्युठानमा फूल खेती तुलनात्मक रूपमा कम भए पनि अन्य जिल्लामा उल्लेख्य खेती हुने गरेको छ ।

उनले प्रदेशमा २८ हेक्टर जमिनमा फूल खेती भएको जानकारी दिँदै लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको बताइन् ।

बरालीका अनुसार लुम्बिनीमा अहिले करिब ८० प्रतिशत फूल आन्तरिक उत्पादनबाट धानिएको छ भने लुम्बिनीमा उत्पादित फूल स्याङ्जा, पोखरा लगायतका ठाउँमा समेत जाने गरेको छ ।

बिरुवा रोपेको तीन महिनामै उत्पादन लिन सकिने र वर्षमा तीन पटकसम्म खेती गर्न सकिने भएकाले किसानहरू फूल खेतीमा आकर्षित भएको उनको भनाइ छ ।

sayapatri (5)

सरकारको सहयोग

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पुष्प व्यवसाय प्रवर्द्धन सहयोग कार्यक्रम अन्तर्गत बाह्रवटै जिल्लामा सञ्चालन गरेको छ ।

ज्ञान केन्द्रबाट किसान अगुवाहरूलाई पुष्प खेतीको तालिम दिने, बजारीकरणमा सहयोग गर्ने, केही कृषि उपकरण प्रदान गर्ने काम भएको प्रदेशका कृषि व्यवसाय प्रवर्द्धन महाशाखा प्रमुख वरिष्ठ कृषि बाली संरक्षण अधिकृत घनश्याम चौधरीले रातोपाटीलाई बताए ।

दाङसहित केही जिल्लाका पालिकाले स्थानीय उत्पादन प्रवर्द्धनका लागि स्वदेशमै उत्पादित फूलको माला प्रयोग गर्न आग्रह गर्दै प्लास्टिकको माला बिक्रीमा रोक लगाएका छन् ।

sayapatri (2)

दाङको राप्ती गाउँपालिकाले सूचना नै निकालेर प्लास्टिकको माला बिक्रीमा रोक लगाएको छ । रुपन्देहीको सियारी गाउँपालिकाले दीपावली लगायतका चाडपर्वमा प्लास्टिकका माला तथा आयातित फूलको माला प्रयोग नगर्न आग्रह गरेको छ ।

स्थानीय स्तरमा उत्पादित फूलका मालाको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै किसानलाई सहयोग गर्न गाउँपालिकाले प्लास्टिकका मालामा प्रतिबन्ध लगाएको गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले बताए ।

sayapatri (3)

शीत भण्डारको अभाव

शीत भण्डार नहुँदा उत्पादित फूल भण्डारण गर्न नपाएर नोक्सानी बेहोर्नु परेको पुष्प व्यवसायी संघ, लुम्बिनी प्रदेश अध्यक्ष रमेश पाण्डे बताउँछन् ।

सरकारले किसानलाई उन्नत बिउ, मल, कृषि औजार, जग्गा, सहुलियत ब्याज दरमा ऋण, थोपा सिँचाइ, शीत भण्डार, ग्रीन हाउस लगायत प्रविधिमा सहयोग गर्नुपर्ने पुष्प व्यवसायीहरूको माग छ ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सयपत्री फूलको उत्पादन हुने गरेको छ । विशेष गरी तिहारका बेला बढी खपत हुने सयपत्री र मखमली फूललाई शीत भण्डारमा राख्न सके तिहारपछि हुने पूजा, बिहे लगायत अन्य अवसरमा प्रयोग गर्न सहज हुने कृषि प्राविधिक एवं फोकस मल्टी एग्रो कन्सर्न एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजेश कुँवरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप