मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंक रिपोर्ट

बजार महँगी नियन्त्रणमा आएन, मुख्य चाडपर्वको मौसममा चिनीको मूल्य वृद्धि १८ प्रतिशत !

शुक्रबार, २४ कात्तिक २०८०, १४ : ३८
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । उपभोग्य मुद्रास्फीति (बजार महँगी) अझै नियन्त्रणमा नआएको केन्द्रीय बैंकले जनाएको छ । शुक्रवार आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले असोज मसान्तसम्मको मुद्रास्फीति ७.५० प्रतिशत रहेको जनाएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको बैंकले जनाएको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ । 

समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दु गत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.२५ प्रतिशतले बढेको छ । 

समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६२ प्रतिशतले घटेको छ ।

२०८० असोज महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३ प्रतिशत, तराईको ५.६६ प्रतिशत, पहाडको ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ६.९३ प्रतिशत, ९.४२ प्रतिशत, ८.८४ प्रतिशत र ७.०७ प्रतिशत रहेको थियो ।

२०८० असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १३.७३ प्रतिशत रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप