सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बालकृष्ण समको जन्मघर पुगे बालेन, राष्ट्रिय सम्पत्ति जोगाउन महानगरले सहयोग गर्ने धारणा

शुक्रबार, २४ कात्तिक २०८०, २० : ३३
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रको सम्पत्तिको संरक्षण, मर्मत सम्भार गर्ने काममा महानगरपालिकाले सहयोग गर्ने बताएका छन् । शुक्रबार कमलपोखरीस्थित बालकृष्ण सम जन्मिएको (करिब १३० वर्ष पुरानो) भवनको निरीक्षण अवलोकन गर्दै उनले संस्कृति, परम्परा र सम्पदा बचाउने, सहरी क्षेत्रमा खुला स्थान जोगाउने र बढाउने कामलाई प्राथमिकता दिएको बताए । 

‘सरकारको स्वामित्वमा भएका जग्गा लिजमा लिएर खुला पार्क निर्माण गर्ने र सकेसम्म धेरै खुल्ला ठाउँ बचाउने कार्यक्रमलाई प्राथमिकता दिएका छौँ । त्रिपुरेश्वरमा खुला र जीवन्त सङ्ग्रहालय निर्माण गर्न थालेका छौँ । त्यहाँ परम्परागत र कलात्मक सिपसँग सम्बन्धित क्रियाकलाप हुनेछन् । यसबाट संस्कृति बचाउन र कला जोगाउन मद्दत पुग्नेछ । सबैले राष्ट्रका लागि काम गर्ने हो, मिलेर गरौँ,’ बालेनले भने ।

यो क्षेत्रमा शैक्षिक र बौद्धिक क्रियाकलाप सञ्चालन गर्न समकी भाञ्जी (घर जग्गाको स्वामित्ववाला) डिलाइट सिंहले २०७५ साल काठमाडौँ विश्वविद्यालय बालकृष्ण सम शैक्षिक गुठीलाई जमिन र भवन प्रदान गरेकी छन् ।  यसको तल्लो तलामा सिंह आफैँ बसोबास गर्छिन् । उनले भेटका क्रममा भनिन्, ‘पुर्खाबाट आएको सम्पत्तिको आधा भाग आमाले पाउनु भयो । आधा भाग घरमा काम गर्ने सहयोगीलाई दिइएको थियो । जमिन टुक्रा पार्दा मौलिकता संरक्षणमा कठिन हुने भएपछि २ करोड रुपैयाँ तिरेर उहाँलाई दिएको भाग पनि मैले नै लिएँ । त्यसपछि गुठीलाई दिएकी हुँ ।’

कुराकानीका क्रममा उनले समले स्थापना गरेको फोटो स्टुडियो, उनले कोरेका चित्र यही भवनमा रहेको बताइन् ।  विसं. १९९० सालको भूकम्प अघि भवन ४ तलाको थियो । माथिल्लो तलामा बार्दली थियो । त्यसलाई पुनर्निर्माण गरेर पूर्ववत बनाउँदा भन्दा माथिल्लो तला घटाउँदा बलियो हुने प्राविधिकबाट सुझाव प्राप्त भएपछि माथिल्लो तला घटाएर ३ तलाको बनाइएको सिंहले जानकारी दिइन् । 

२ रोपनी २ आना क्षेत्रफलमा २ वटा भवन छन् । पछिल्लो भवन काठमाडौँ विश्वविद्यालयले सबलीकरण गरेर सञ्चालनमा ल्याएको छ । प्रवेश गर्ने बित्तिकैको भवन सबलीकरण गर्नुपर्ने अवस्थामा छ । यसका लागि विश्वविद्यालयले प्रारम्भिक डिजाइन र लागत अनुमान तयार पारेको छ । संरक्षणका विषयमा विश्वविद्यालयका उपकुलपति भोला थापाले भने, ‘यस ठाउँलाई बौद्धिक बहस गर्ने, विशेषज्ञ तालिम दिने, संगीत र कलाको प्रशिक्षण प्रदान गर्ने, यस्ता विधामा अध्ययन अनुसन्धान गर्ने स्थलका रुपमा विकास गर्ने योजना छ ।’

उनीहरुले तयार पारेको योजना अध्ययन गर्दै प्रमुख शाहले यस शैक्षिक गुठीको गुठीयारका रुपमा महानगरपालिका आबद्ध भएर संरक्षणको काम गर्ने बताए ।  विश्वविद्यालयले तयार पारेको योजना पुनरावलोकनका लागि उनले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीलाई योजना प्रदान गरेका छन् । 

मेयर बालेनसँग सहरी योजना आयोगका उपाध्यक्ष राजभण्डारी, सल्लाहकार कुमार व्यञ्जनकार, आयोगका सदस्य बाबुराम भट्टराई, सुरज काफ्ले, शिक्षा विभागका प्रमुख सीताराम कोइरालासहित अधिकारीहरु सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप