उजाड बस्ती र म
बस्ती उजाड छ
न्याउली र प्रकृतिको
सम्बन्ध तोडिएको छ
मौसम त वसन्तकै थियो
परन्तु,
एकतमास फुल्ने गुराँस
आज शून्य शून्य लाग्दै छ
आज किन हो ?
बस्ती न्यास्रिएको छ
हेर्दा हेर्दै,
मेरा आँखाका ढक्कन
ठप्प ढाकिए
परेला लोलाएका छन्
उजाड बस्ती एकटकले
मलाई घुरिरहेको छ
म के सहानुभूति दिऊँ उसलाई ?
बेरङको यो दुनियाँमा
म आफैँ निख्रिएको छु, रित्तिएको छु
उराठ लाग्दो त्यो बस्तीलाई
हराभरा बनाउने एउटा सपना थियो
म कस्तो जवाफ दिऊँ उसलाई ?
जब कि
म आफैँ अपूरो सपनाभित्र विलीन छु
सुनसान बस्ती
मलाई हिस्स्याइरहेको छ
बेचिएको उसको अस्मिता
फिर्ता गराउन वचनबद्ध थिएँ
उसको र मेरो समानताको सन्धि
इतिहासको पानामा
स्वर्ण अक्षरले कोरिएको थियो
किन्तु,
म भुइँ मान्छे
आज, निर्लज्ज टोलाई रहेको छु
कसरी भरोसा दिलाऊँ उसलाई ?
म आफैँ अभावले दबिएको छु, पिल्सिएको छु
जति गहिराइमा डुब्छु
उति बेचैन छु
खडेरीको यो मौसमभित्र
म आफैँ तङ्ग्रिएको छु, उजाडिएको छु
उजाड बस्ती
मलाई गिज्याइरहेको छ
जति हिँड्छु यो बाटो
उति लम्बिएको छ
कतै पछ्याउँछु त भविष्य
त्यो, यतै अल्झिएको छ
म भुइँ मान्छे
भुइँमै समेटिएको छु, ओइलिएको छु
बेसुरको यो सङ्गीत लहरीमा
म, ध्वनिसँगै बरालिएको छु
हावासँगै बतासिएको छु
उजाड बस्ती
मलाई टुलुटुलु निहालिरहेको छ ।
मुसिकोट–१, रुकुम पश्चिम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण