शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

भागबन्डा मिलाउँदै लुम्बिनी प्रदेशका १३ अस्पताल विकास समितिका अध्यक्ष नियुक्त

शनिबार, २५ कात्तिक २०८०, १६ : ५८
शनिबार, २५ कात्तिक २०८०

बुटवल । अस्पताल विकास समिति खारेज गरेको एक महिना नपुग्दै लुम्बिनी प्रदेश सरकारले  फेरि सत्ता गठबन्धन दलको भागबन्डामा प्रदेशका १३ वटा अस्पतालका विकास समिति अध्यक्षलाई मनोनीत गरेको छ । स्वास्थ्य मन्त्रालयले प्रादेशिक २ अस्पताल र ११ वटा जिल्ला अस्पतालको विकास समिति अध्यक्षमा मनोनीत गरेको हो । 

१३ वटै अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गर्दा सत्तामा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र , लोसपा र एकीकृत समाजवादी पार्टी निकट व्यक्तिहरूलाई नियुक्त गरिएको छ । यसमध्ये सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेसलाई ६,माओवादीलाई ४, जसपा, लोसपा र एकीकृत समाजवादीलाई एक-एक अस्पतालको विकास समिति अध्यक्ष बनाएको हो । ती अध्यक्षहरूलाई मनोनीत गरेको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित अस्पताललाई बोधार्थ पठाइएको छ  ।

१३ वटै अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गरिएको स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अमरबहादुर वलीले बताए । उनका अनुसार  दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठलाई मनोनीत गरिएको हो । 

त्यस्तै प्युठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनीत गरिएको छ । त्यस्तै कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पताल भैरहवामा डा अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुम पूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजनलाई मनोनीत गरिएको हो  ।

2222222

कुन कुन दलको भाग कुन अस्पताल ?

लुम्बिनी प्रदेशमा एमाले सरकारको पालामा नियुक्त सबै अस्पताल विकास समिति खारेज गरेको एक महिना अझै सम्म पुगेको छैन । ती अस्पताल विकास समिति हटाउने बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र स्वास्थ्य मन्त्री राजु खनालको सहमतिमा हटाइएको थियो । उनीहरू दुवै जना विदेशमा रहेका छन् ।  

तर उनीहरूको सल्लाहमा नै नयाँ  विकास समिति अध्यक्षहरू नियुक्त गरेको लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री एवं प्रवक्ता सन्तोष पाण्डेयले रातोपाटीलाई बताए । यसरी भागबन्डा गर्दा सत्ताको नेतृत्व  गरेको नेपाली काँग्रेसले लुम्बिनी प्रदेश अस्पताल बुटवल सहित  ६ वटा अस्पताल विकास समिति पाएको छ ।  उसको भागमा प्युठान, रोल्पा,गुल्मी ,अर्घाखाँची,पाल्पाको रामपुर अस्पताल परेका छन् ।

दाङको राप्ती प्रादेशिक,नवलपरासीको परासी, पाल्पा, रुकुम पूर्वको र कपिलवस्तु अस्पतालको अध्यक्षमा माओवादी केन्द्रको भागमा परेका छन् ।  यस्तै साना दलहरूको भागमा २ वटा रहेका छन् । भीम अस्पतालमा भैरहवा लोसपा,पाल्पाको तानसेन अस्पताल नेकपा एकृीकृत समाजवादी पार्टीको भाग गरेको छ । 

अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली, २०८० को नियम ३ को उपनियम १ को खण्ड क बमोजिम स्वास्थ्य मन्त्रालयको प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा अर्थमन्त्री स्तरको बैठकले अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो।  

अहिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी अमेरिका भ्रमणमा रहेका छन् भने स्वास्थ्य मन्त्री राजु खनाल पनि उपचारको अमेरिका नै रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप