शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

घट्दो ब्याजदरको प्रभाव : निजी क्षेत्रतर्फको कर्जा प्रवाह १ खर्ब ९ अर्बले बढ्यो !

सोमबार, २७ कात्तिक २०८०, १७ : ५१
सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । निरन्तर घट्दो ब्याजदरका कारण पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा माग बढेको छ । आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९ अर्ब ३ करोड (२.३ प्रतिशत) ले बढ्न पुगेको हो । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा जम्मा ५९ अर्ब ११ करोड (१.३ प्रतिशत) ले मात्र बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.८ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

२०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.९ प्रतिशत र ३६.१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.३ प्रतिशतले, विकास बैंकहरुको १.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १.५ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

२०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । 

२०७९ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२ प्रतिशत र ६६.७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.४ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७ प्रतिशतले, नगद प्रवाह कर्जा १५.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १५.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.१ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ६.२ प्रतिशतले बढेको छ । 

तथापि, यता अधिविकर्ष कर्जा ३९.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १८.५ प्रतिशतले घट्न पुगेको केन्द्रीय बैंकको तथ्याङ्क छ ।

अन्तर बैंक ब्याजदर ६ प्रतिशत माथिले घट्यो

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा सरकारी ट्रेजरीसँगै, अन्तर–बैंक ब्याजदर र व्यक्तिगत कर्जाको ब्याजदरमा समेत तीब्र गिरावट आएको छ ।

२०७९ असोजमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.१४ प्रतिशत रहेकोमा २०८० असोजमा ४.९४ प्रतिशतमा झरेको केन्द्रीय बैंकले जनाएको छ । 

यसैगरी, बैंक तथा वित्तीय संस्थाहरु बिचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ असोजमा ८.५१ प्रतिशत रहेकोमा २०८० असोजमा २.२६ प्रतिशतमा झरेको बैंकले जनाएको छ ।

२०८० असोजमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.९४ प्रतिशत, विकास बैंकहरुको १२.३० प्रतिशत र वित्त कम्पनीहरुको १३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असोजमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.३४ प्रतिशत रहेको थियो ।

२०८० असोजमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.९० प्रतिशत, विकास बैंकहरुको ९.३६ प्रतिशत र वित्त कम्पनीहरुको १०.१९ प्रतिशत रहेको छ । 

२०७९ असोजमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.१६ प्रतिशत कायम भएको थियो । त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० असोजमा वाणिज्य बैंकहरुको १२.११ प्रतिशत, विकास बैंकहरुको १३.९१ प्रतिशत र वित्त कम्पनीहरुको १४.६१ प्रतिशत रहेको छ । २०७९ असोजमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.१९ प्रतिशत कायम भएको थियो ।

निक्षेप पनि १ खर्ब ५८ अर्बले बढ्यो

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप असोज मसान्तसम्म १ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ (२.८ प्रतिशत) ले बढेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २२ अर्ब ६९ करोड रुपैयाँ (जम्मा ०.४ प्रतिशत) ले मात्र बढेको थियो । 

वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

२०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.७ प्रतिशत, २६.७ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.६ प्रतिशत, २६.७ प्रतिशत र ५९ प्रतिशत रहेको थियो । 

२०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको छ । २०७९ असोज मसान्तमा यस्तो निक्षेपको अंश ३७ प्रतिशत रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप