सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

बालुवाटारमा अर्थतन्त्र सुधार गर्ने उपायको खोजी गर्दै सरकार

सोमबार, ०४ मङ्सिर २०८०, १३ : ३९
सोमबार, ०४ मङ्सिर २०८०

काठमाडौँ । सरकारले ‘स्ट्रेस’मा रहेको अर्थतन्त्र सुधारको उपायबारे खोजी गर्ने भएको छ । कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण नेपालको अर्थतन्त्र निरन्तर दबाबमा छ । सुरुवातमा विदेशी मुद्राको सञ्चितिमा नै संकटको बादल मडारिएको थियो । तर, बिस्तारै बाह्य अर्थतन्त्र लयमा फर्के पनि आन्तरिक अर्थतन्त्रमा भने दबाब कायमै छ ।

अर्थतन्त्रमा देखिएको यही संकट समाधानको खोजी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिउँसो ४ बजेट बालुवाटारमा छलफल बोलाएका छन् । छलफलमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, अर्थसचिव, गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायत सहभागी हुँदै छन् । छलफलबाट अर्थतन्त्रमा देखिएका समस्या समाधानको खोजी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

आन्तरिक अर्थतन्त्रमा देखिएको दबाबका कारणले सरकारले बजेटमार्फत लिएको राजश्व संकलनको लक्ष्य नै भेट्टाउन सकेको छैन । जसकारण, सरकारको दैनिक खर्च जुटाउनै मुस्किल परिरहेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार आजसम्म सरकारले २ खर्ब ९८ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । यो राजश्व, कर राजश्व, अनुदान, गैह्रकर राजश्व र अन्य आम्दानी समेत गरी हो ।

तर, आजसम्म ३ खर्ब ५५ अर्ब रुपैयाँभन्दा धेरै खर्च भइसकेको छ । यसले सरकारको आम्दानीको तुलनामा खर्च धेरै रहेको देखाउँछ । नेपालको अर्थतन्त्र आयातमा आधारित छ । यसको विदेशबाट हुने आयातका आधारमा उठ्ने भन्सार राजश्वबाट सरकारको दैनिक खर्च चल्छ । यस्तै, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता दिन समेत सरकार भन्सार राजश्वमै सीमित छ ।

तर, पछिल्लो समय विविध कारणले आयात घट्दा आन्तरिक अर्थतन्त्र नै सुस्ताएको छ । बजारमा आन्तरिक माग र खपत घट्दा आयातकर्ताले आयात गरिरहेका छैनन् । यस्तै, उद्योगधन्दाबाट समेत सो अनुसार उत्पादन भइरहेको छैन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल सरकारले तत्काल ब्याजदर घटाउन पहलकदमी लिनुपर्ने बताउँछन् ।

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘यतिबेला अर्थतन्त्र धेरै नै गहिरो संकटमा पुगिसकेको छ । यसलाई समाधान गर्नेगरी आज सरकारले छलफल बोलाएको छ । तर, यो छलफल सरकारी निकायहरुबीचको मात्रै हुनेछ ।’ यसपछि सरकारले सर्वदलीय छलफल समेत गर्न लागेको र त्यसपछि निजी क्षेत्रसहितको उपस्थितिमा वृहत् छलफल आवश्यक पर्ने ढकालको भनाई छ । उनले अहिलेको उच्च ब्याजदरको समस्या समाधान गरेर अघि बढेमा अर्थतन्त्रमाथिको संकट समाधान गर्न सकिने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप