शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
मालवाहक सवारी साधनलाई अवरोध

मालवाहक गाडी रोकेर धमाधम पार्किङमा पठाइयो

मङ्गलबार, ०५ मङ्सिर २०८०, १९ : ३२
मङ्गलबार, ०५ मङ्सिर २०८०

बारा । यातायात मजदुरहरूले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा मालवाहक सवारी साधन र खाली ट्रकहरूलाई अवरोध गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आजदेखि मालवाहक सवारी साधन गुड्न रोक लगाएपछि छिटफुट रूपमा गुडेका मालवाहक सवारी साधनलाई रोकेर पार्किङ गर्न लगाइएको हो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्रक चालक समितिका अध्यक्ष नवराज कार्कीले करिडोरमा सामान बोकेर आएका मालवाहक गाडीलाई रोकेर पार्किङमा राख्न पठाएको बताए । ‘उद्योग र ट्रान्सपोर्ट सञ्चालकहरूले आफ्नो फाइदाका लागि चालकलाई जबरजस्ती गाडी चलाउन लगाएका छन्, हामीले उहाँहरूलाई सामान लोड नगर्न भनेका छौँ,’ उनले भने, ‘यदि लोड भएका भए पनि चलाउन दिएका छैनौँ ।’

कार्कीका अनुसार भारतीय गाडी बन्द गर्न माग गर्दै आन्दोलन गर्नुपरेको हो । यस अतिरिक्त कवाडी करको नाममा नगरपालिकाहरूको दादागिरी बन्द गर्न पनि आफूहरूले माग गरेको उनले बताए ।

चाडपर्वका कारण लामो समयदेखि बन्द रहेका करिडोरका उद्योगहरू आजदेखि नियमित सञ्चालनमा आएका छन् । उद्योग सञ्चालनमा आएको पहिलो दिनमै कच्चा पदार्थ बोकेर आएका वा उद्योगबाट निस्किएका मालवाहक गाडी राजमार्गमा गुड्न अवरोध भएपछि समस्या भएको बताउँछन् जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा ।

ttt1

करिडोरमा सामान बोकेर आएका गाडीलाई बाटोमा रोक्नु गलत भएको शर्माले बताए । ‘राजमार्गमा भारतीय गाडीमा कसरी, कहाँबाट कहाँसम्म गुड्न दिने भन्ने नीतिगत रूपमा सरकारले निर्णय गर्ने विषय हो, आन्दोलनको नाममा यसरी राजमार्गमा सामान बोकेर आएका गाडीलाई रोक्दा गलत सन्देश जान्छ,’ उनले भने, ‘भोलिको दिनमा यसले उद्योगहरूमा पनि समस्या आउँछ ।’

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख तथा ट्राफिक प्रहरी उपरीक्षक सन्तोष भट्टराईले ट्रक चालकहरूको मागलाई आफूहरूले सम्बोधन गर्न नसक्ने बताए । उनले राजमार्गमा गुड्ने भारतीय गाडीको हकमा पनि चेकजाँच र कारबाहीमा कडाइ गरिएको बताए ।

‘उहाँहरूले ट्राफिक प्रहरीको ज्यादती बन्द गर्नुपर्‍यो भन्दै मकहाँ आउनु भएको थियो, हामीले कहाँ ज्यादती भएको छ भनेर भारतीय र नेपाली गाडीमा कसलाई कति कारबाही भएको भन्ने सबै प्रमाणसहित देखाइदिएपछि चुप लागेर जानुभयो,’ प्रहरी उपरीक्षक भट्टराईले भने, ‘राजमार्गमा भारतीय गाडी बन्द गर्नुपर्‍यो भन्ने उहाँहरूको माग हाम्रो लेबलबाट समाधान हुने विषय होइन, यो केन्द्रीय सरकारले गर्ने हो ।’

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ४ महिनामा १३४ वटा ओभरलोड बोकेका भारतीय गाडीहरूलाई कारबाहीका लागि यातायात कार्यालयमा लेखिपठाएको भट्टराईले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप