मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

रणनीतिक मधेस यात्रामा रवि : संयुक्त बैठक अघि आठ जिल्लामा सम्मेलन

संघीयता र नागरिकताबारे रास्वपाको विचार जनतासमक्ष प्रस्ट पार्छौँ : झा
मङ्गलबार, ०५ मङ्सिर २०८०, १९ : ५२
मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस केन्द्रित भएको छ । मङ्सिर ८ बाट रास्वपा मधेस प्रदेशका आठ जिल्लामा आमसभा गर्ने तयारीमा छ । पार्टी सभापति रवि लामिछाने सांसद मनिष झालाई साथमा लिएर तीन दिन लामो मधेस यात्रामा आठ जिल्लामा सभा गर्न लागेका छन् । मधेस यात्राको संयोजनको जिम्मा रास्वपाका उपसभापति डोलप्रसाद अर्याललाई दिइएको छ ।

रास्वपाले पहिलो दिन बारा–पर्सा, दोस्रो दिन रौतहट–सर्लाही, तेस्रो दिन सिरहा, सप्तरी र महोत्तरीमा सभा गर्ने सांसद झाले रातोपाटीलाई बताए । झाका अनुसार पहिलो दिन निजगढ र सिम्रौनगढमा सभा हुन्छ भने वीरगञ्जमा भेटघाट छ ।

यस्र्तै दोस्रो दिन रौतहटको गौर र चन्द्रनिगाहपुरमा सभा र सर्लाहीको लालबन्दीमा भेटघाट कार्यक्रम छ । तेस्रो दिन सिरहाको गोलबार, सप्तरीको हनुमाननगर र महोत्तरीको जलेश्वरमा भेटघाट कार्यक्रम तय भएको उनको भनाइ छ । मधेस यात्राका क्रममा मधेस प्रदेशकै राजधानी जनकपुर तथा धनुषा जिल्लामा भने सभा छैन ।

‘धनुषामा अहिले सभा हुँदैन । अहिले सभा गर्दा कोणसभा जस्तोमात्र हुन्छ । केही समयपछि मधेस प्रदेशका आठै जिल्लामा मान्छे उतारेर ठुलो सभा गर्न चाहन्छौँ,’ झा भन्छन् ।

मङ्सिर ७ मा विवादित माहौलका बिच ठुलो आमसभा गर्ने कुराले सन्देश राम्रो नजाने रास्वपाको बुझाइ छ । ‘केही मान्छेहरूले अप्रिय राजनीतिलाई अगाडि बढाइरहेका छन् । यस्तो बेलामा हामी यो कुरामा नअल्झिऔँ । भव्यसभा पछि गरौँला भन्ने छ,’ झाले भने ।

उनका अनुसार मङ्सिर १४ गते बिहान धनुषामा रास्वपाको प्रदेश कार्यालय उद्घाटनको कार्यक्रम छ । रास्वपाले मधेस यात्रापछि महोत्तरीको जलेश्वरमा मङ्सिर ११, १२ र १३ गते केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ ।

उक्त बैठकमा पार्टीको महाधिवेशन विधि सम्बन्धी थप छलफल हुने रास्वपाले जनाएको छ । रास्वपाले पहिलो पटक मधेसमा पार्टीका केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गर्न लागेको छ । रास्वपामा पदाधिकारीसहित ३९ र संघीय सांसद २१ जना छन् ।  

रास्वपाले २०७९ मङ्सिरको आम निर्वाचन र २०८० वैशाखको उपनिर्वाचनमा मधेसमा अपेक्षित मत पाएको थिएन । समानुपातिकतर्फ ११ लाख ३० हजार ३ ४४ मतसहित चौथो दल बनेको रास्वपा मधेस प्रदेशमा आठौँ स्थानमा थियो । उसले मधेस प्रदेशका आठ जिल्लाबाट ७२ हजार ९३५ मत पाएको थियो ।

मधेस प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमध्ये करिब २५ ठाउँमा मात्र रास्वपाले उम्मेदवार खडा गरेको थियो । मधेसमा रास्वपाका कुनै पनि उम्मेदवार प्रतिस्पर्धामा आउन सकेनन् । रास्वपाका कुनै पनि उम्मेदवारले मधेसमा ४ हजारभन्दा बढी मत पाउन सकेका छैनन् ।

बारा– २ को उपनिर्वाचनमा पनि रास्वपाका रमेश खरेलको जमानत जफत भएको थियो । जसपाका उपेन्द्र यादवले २८ हजार ४१५ मत ल्याएर जित्दा खरेलले २८ सय २९ मतमात्र पाएका थिए । रास्वपाले आफ्नो प्रभाव विस्तार रणनीति अनुसार मङ्सिरमा मधेस केन्द्रित छ ।

रास्वपाका सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटी भने यसलाई पछाडि परेका नागरिकमा आशा जगाउने रणनीति भन्छन् । ‘राजनीतिक दलले देशभरिको प्रतिनिधित्व गर्ने हो । पछाडि परेको समुदाय, प्रदेश, जिल्लाहरू केन्द्रित राजनीतिलाई प्राथमिकतामा राखेका छौँ । त्यहाँको भौगोलिक, सामाजिक कुराहरू हामीले सिक्ने मौका पाउँछौँ,’ उनी भन्छन्, ‘त्यो जिल्ला र क्षेत्रका नागरिकमा पार्टीले हाम्रो कुरा सुन्छ, हाम्रो दुःख देख्छ भनेर आशा पलाउँछ ।’

केन्द्रमा बैठक राख्ने परम्परालाई तोडेर रास्वपाले मधेसमा बैठक राखेको उनको भनाइ छ । मधेस केन्द्रित जसपा, लोसपा र जनमतका केन्द्रीय समिति बैठक काठमाडौँमै बसिरहेका बेला नयाँ राजनीतिक पार्टी रास्वपाले मधेस रोजेको छ ।

यता सांसद मनिष झाले मधेसमा रास्वपाप्रति आकर्षण बढ्न थालेको बताए । आम निर्वाचन सम्पन्न भएको एक वर्षको अवसरमा गरेको घरदैलो अभियानपछि उनी जनता समाजवादी पार्टी र जनम पार्टीप्रति अपेक्षा राखेकाहरू रास्वपातिर ढल्किन थालेको दाबी गर्छन् । झाका अनुसार पुराना नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीप्रतिको मोह भङ्ग भएको छैन भने कुनै आकर्षण पनि छैन ।

rabi in madhesh

‘पुराना दलसँगको अट्याचमेन्ट कायमै छ । जसपा र जनमतप्रति जति अपेक्षा गरिएको थियो, त्यो नभेटिएपछि अब हाम्रा लागि रास्वपा नै हो कि भन्ने धारणा नागरिकमा देखिन्छ,’ उनी भन्छन् ।

उनका अनुसार यसअघि रास्वपा पहाड केन्द्रित राजनीतिक पार्टी भन्ने थियो । ‘मधेसका लागि जसपा र जनमत हो भन्ने नागरिकमा अहिले चाहिँ मधेसका लागि पनि रास्वपा नै उपयुक्त होला जस्तो छ भन्ने मत पाइन्छ,’ उनले भने ।

मधेसमा संगठन विस्तार गर्न नागरिकहरूले आग्रह गरेको झाको भनाइ छ । ‘मान्छे पार्टी नेतृत्वबाट टीका लाएर भित्रिन चाहन्छ । रवि लामिछाने आए हामी पनि रास्वपामा जान्थ्यौँ भन्नुहुन्छ,’ उनले भने । लामिछानेको मधेस यात्रामा व्यापक पार्टी प्रवेश हुने रास्वपाको अपेक्षा छ ।

रास्वपाको संसदको उपस्थितिप्रति मधेसका जनता सकारात्मक रहेको झाले बताए । मधेसको मागमा रास्वपाप्रति दुई वटा कुराको भ्रम रहेको उनको बुझाइ छ ।

‘एउटा नागरिकताको प्रमाणीकरण हामीले विरोध गरेका थियौँ कि भन्ने किसिमको छ । त्यसलाई स्पष्ट गर्ने मौका पाएका छौँ । अर्को मधेसमा संघीयताबारे हामीप्रति प्रश्न छ,’ झा भन्छन्, ‘रास्वपाले संघीयताको अभ्यास गर्ने हो कि होइन भन्ने एक किसिमको आशङ्का छ । मधेस यात्रामा हामीले यी दुई विषयलाई प्रस्ट पार्छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप