आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

किसानले धानको मूल्य पाए, तर चेक नसाटिँदा हात रित्तै !

बुधबार, ०६ मङ्सिर २०८०, ११ : ३७
बुधबार, ०६ मङ्सिर २०८०

धनगढी । सरकारले निर्धारण गरेकै दरमै धान खरिद हुन थालेपछि कैलालीको टीकापुरमा सञ्चालित खाद्य गोदाममा धान बेच्ने किसानको लाइन लाग्ने गरेको छ ।

धान बेच्न आउने किसानलाई नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बैकिङ प्रणालीमार्फत भुक्तानी दिने गरेको छ । कम्पनीले कार्तिक १९ गतेदेखि धान बिक्री गरेका किसानलाई चेकमार्फत भुक्तानी दिने गरेको छ । तर समयमा चेक नसाटिने समस्याले किसान पीडित बनेका छन् ।

टीकापुर नगरपालिका–३, शंकरपुरका किसान तिर्थराज जोशीले बिक्री गरेको धानको चेक देखाउँदै भने, ‘धानको मूल्य त तोकिएकै दरमा पायौँ । तर चेक साट्न सकिएको छैन । समयमा साट्न नसकिँदा समस्या झेल्नु परेको छ ।’

कम्पनीले एक किसानबाट वडाको सिफारिसका आधारमा ३० क्विन्टलसम्म धान गरिद गरिरहेको छ । सोही आधारमा चेकमार्फत भुक्तानी गरिरहेको छ । कम्पनीको धान खरिद डिपो कार्यालय टीकापुरले धान बिक्री गरेका केही किसानलाई नेपाल बैंक लिमिटेड टीकापुरको चेक दिएको छ भने अधिकांश किसानलाई अहिलेसम्म धान बिक्री गरेको रसिदमात्र दिएको छ ।

यसरी चेक पाएका किसानहरु अहिले बैंकमा धाउने गरेका छन् । तर चेक नसाटिएपछि किसान मर्कामा परेका छन् ।

dd-d

किसानलाई दिइएको चेकमा नाम, रकम लेख्दा केरकार भएको, उक्त स्थानमा गल्तीलाई प्रमाणित नगरेको जस्ता समस्याका कारण बैंकले रकम भुक्तानी नगरेको हो ।

टीकापुर धान खरिद डिपो कार्यालयका प्रमुख पुष्पराज बजगाईले भने, ‘हाम्रो प्रादेशिक कार्यालय धनगढी हो । तर यहाँ त धान खरिद क्षेत्रमात्रै हो । चेकमा लेखापालले पनि साइन गर्नुपर्ने हो । धान खरिदमा खटिएको ममात्रै हो । मैले सोचेँ– चेकको पछाडि अफिसको छाप छँदैछ, मेरो साइनले मात्रै चेक साटिएला भन्ने लागेको थियो । तर बैंकले मानेन । चेक सुधार गरेर भुक्तानी हुन्छ ।’

सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ निर्धारण गरेको छ ।

टीकापुर धान खरिद डिपोमा अहिलेसम्म ४ हजार क्विन्टलभन्दा बढी धान किसानबाट खरिद भइसकेको छ । धान खरिद कार्य जारी छ ।

नेपाल खाद्य संस्थानले यस वर्ष कैलालीमा ६० हजार क्विन्टल धान गरिद गर्ने भएको छ । सोही लक्ष्य अनुसार कैलालीका ६ स्थानबाट धान खरिद गरिरहेको छ ।

Untitled-1-Recovered-Recovered-Recovered

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप