बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
मङ्सिर ७ : दुर्गा प्रसाईं भर्सेस युवा संघ

प्रदर्शनको सुरक्षा व्यवस्थापन गर्न डीआईजी नेतृत्वमा कमाण्ड सेन्टर

दुवै समूहले भक्तपुरबाट जुलुस निकाल्दै, उपत्यकामा करिब ७ हजार प्रहरी परिचालन गरिँदै
बुधबार, ०६ मङ्सिर २०८०, १५ : २२
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । बल्खु र तीनकुनेमा बुधबार हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ । बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ ।

नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् ।

प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना सङ्कलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ । एकीकृत सुरक्षा योजना अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुनेछन् ।

प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर बनाइएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक प्रदेश सिंह हमाल र नेपाली सेनाका कर्णेल सहितको ‘संयुक्त टिम’ गठन गरिएको छ ।

प्रदर्शन स्थलमा सुरक्षा व्यवस्थापनको नेतृत्व काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले गर्दैछन् । बल्खु र तीनकुनेमा हुने प्रदर्शनमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिने काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए ।

एसएसपी खत्रीले भने, ‘सुरक्षा योजना अनुसार आवश्यक सुरक्षाकर्मी परिचालन गर्छौँ ।’

ड्रोनबाट निगरानी

प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ । तीनकुनेमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले ड्रोन प्रयोग गर्न असम्भव भएको काठमाडौँ एसएसपी भूपेन्द्र खत्रीले बताए । उनले भने, ‘बल्खुमा चाहिँ ड्रोन प्रयोग गर्छौँ ।’

काठमाडौँ प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानीका लागि थप दुई वटा ड्रोन उपलब्ध गराएको छ । प्रदर्शन स्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ ।

प्रदर्शनको समयमा अन्य सुरक्षा चुनौती नभएको तर, दुई समूहको बिचमा ‘मुठभेड’ हुन सक्ने सुरक्षा चुनौती रहेको सुरक्षा निकायहरूको विश्लेषण छ ।

दुवै समूहले भक्तपुरबाट जुलुस निकाल्दै

बिहीबार दुवै समूहले भक्तपुरबाट जुलुस निकाल्ने भएका छन् । युवा संघले सल्लाघारीबाट र प्रसाईं नेतृत्वको समूहले सानोठिमीस्थित एसओएसबाट जुलुस निकाल्ने भएका हुन् ।

युवा संघको जुलुस मोटरसाइकल सहित कोटेश्वर हुँदै च्यासलस्थित पार्टी कार्यालयमा पुग्नेछ । च्यासलबाट बागमती करिडोर हुँदै बिहान साढे १० मा युवा संघको जुलुस तीनकुने पुग्ने गरी रुट तय गरिएको छ ।

दुर्गा प्रसाईं नेतृत्वको समूहको जुलुस सानोठिमीबाट पेप्सीकोला हुँदै मित्रपार्क पुग्ने गरी रुट निर्धारण गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

ती अधिकृतले भने, ‘प्रसाईं नेतृत्वको समूहको जुलुस मित्रपार्कबाट भित्रीबाटो र चक्रपथबाट बल्खु पुग्ने गरी रुट निर्धारण गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप