शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मंसिर ७ को कार्यक्रम व्यवस्थापनमा दुर्गा प्रसाईंका ८६ जना संयोजक

मङ्गलबार, ०५ मङ्सिर २०८०, १४ : ५२
मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं र युवा संघले एकै दिन प्रदर्शनको कार्यक्रम गर्दै छन् । जिल्ला प्रशासन कार्यालयले माइतीघरमा निषेधाज्ञा जारी गरेर दुई समूहलाई फरक–फरक ठाउँमा प्रदर्शन गर्न ठाउँ तोकेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसँगको समन्वयमा दुर्गा प्रसाईं बल्खुमा कार्यक्रम गर्न सहमत भएका छन् ।

युवा संघ तीनकुनेमा कार्यक्रम गर्न राजी भएसँगै सम्भावित ‘मुठभेट’ टरेको सुरक्षा अधिकारीहरू बताउँछन् । प्रसाईंले लघुवित्त र सहकारी पीडितहरूको साथ लिएर प्रदर्शन गर्दै छन् । पूर्व राजा र अन्य अदृश्य शक्तिकेन्द्रले पनि प्रसाईंलाई साथ दिएको एक जना उच्च सुरक्षा अधिकारीले रातोपाटीलाई बताए । विभिन्न २८ वटा समूह र संस्थाहरूले दुर्गा प्रसाईंको कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।

प्रसाईंले कार्यक्रम व्यवस्थापन गर्न ८६ जना संयोजक तोकेका छन् । यातायात व्यवस्थापन र सर्वसाधारणलाई काठमाडौँमा उतार्ने गरी फरक जिम्मेवारी सहितका संयोजक तोकिएका हुन् ।

गृह प्रशासनले प्रसाईंले गर्न लागेको प्रदर्शनलाई सूक्ष्म ढंगले निगरानी गरिरहेको छ । उपत्यका बाहिरबाट प्रसाईंले ५ हजार मानिस काठमाडौँमा ल्याउने गृह प्रशासनको आकलन छ । तर, दुर्गा प्रसाईंले विदेशमा रहेका नेपालीहरू मध्येबाट मात्रै करिब २७ हजारले आफ्नो प्रदर्शनमा सहभागी जनाउन लागेको दाबी गरे । रातोपाटीसँग कुरा गर्दै प्र्रसाईंले भने–‘विदेशबाट मात्रै २७ हजार आउँदै छन्, बल्खुमा उद्घाटन गरेर देशभर आन्दोलन चर्काउँछौँ ।’

युवा संघले तीनकुनेमा गर्ने प्रदर्शनमा करिब २० हजार मानिस भेला हुने सुरक्षा निकायको आकलन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप