सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यातना पाएरभन्दा गोली खाएर मर्ने निर्णय गरेपछि...

शुक्रबार, ०८ मङ्सिर २०८०, ११ : ०५
शुक्रबार, ०८ मङ्सिर २०८०

गुडिरहेको बस अकस्मात रोकियो । केही प्रहरी छिरेर खानतलासी गर्न थालेँ । प्रहरीले यात्रुका झोला खोलेरै छामछुम गरिरहेका थिए । म झसङ्ग भएँ । मेरो ध्यान आफूले बोकेको पेस्तोलमा गयो । पेस्तोलका कारण सबै साथीहरु गिरफ्तार पर्न सक्थ्यौँ । गिरफ्तारपछि यातना, हत्या र बेपत्ता जे पनि हुन सक्थ्यो, भइरहेकै थियो । 

एउटा प्रहरी मेरो सामु आइपुग्यो । मैले सानो प्लास्टिकको झोलामा सेन्डो र पेन्टीभित्र पेस्तोल लुकाएको थिएँ । आफूलाई सम्हाल्दै र प्लास्टिकभित्रको कपडा देखाउँदै मैले भनेँ, ‘सर ! यही कपडा हो । के हेर्ने !’ 
पेन्टी र सेन्डो देखेपछि हेरेर मात्रै जान्छ भन्ने मेरो आकलन थियो ।  

‘होइन के हेर्नु भाइ ! यसो छामौँ न,’ भन्दै प्रहरीले पोकोलाई हातले छाम्यो । झसङ्ग हुँदै एक शब्द नबोली पेस्तोलसहितको पोको हातमा लिएर गाडीबाट तल झ¥यो । मैले साथीहरू भएतिर आँखा डुलाएँ । साथीहरू मलाई हेर्दै मुखामुख गर्दै थिए । 

निश्चित भयो— म गिरफ्तार हुने भएँ । हतियार त जोगाउन सकिनँ । अब साथीहरूलाई कसरी जोगाउने भन्ने चिन्ता थपियो । के गर्ने, कसो गर्ने भनी अलमलमा थिएँ । सरासर त्यही पुलिसको पछिपछि बसको ढोकाबाट बाहिर निस्किएँ । पेस्तोल लिएर जाने पुलिसले बाहिर भएका पुलिसलाई मलाई पक्रनका लागि इसारा गर्यो । दुई प्रहरीले दुईतिर मेरा पाखुरामा समाते । 

हामी भरतपोखरीबाट पोखरा जाने बस चढेका थियौँ । कास्कीका ध्रुव अधिकारी (राजन), स्याङ्जा चापाकोटका हिमाल राना (कैलाश), दोलखा काटाकुटीका बद्री खड्का (विप्लव) चितवन खोलेसिमलका बुद्धिप्रसाद पाण्डे (बिगुल) र दारेचोकका सिद्धान्त चेपाङ लगायत आठजना साथीहरू थियौँ ।  बस खाली–खाली नै थियो, १०–१२ जना अन्य यात्रु थिए । हामी गाडीमा एक–अर्कालाई नचिनेझैँ गरी छरिएर बस्यौँ । सकेसम्म धेरै यात्रु भए हामीलाई छिप्न सजिलो हुन्थ्यो । सहचालकलाई पहिले नै चिनेका कारण आँखाको भाषाले कुरा मिलाई सबै साथीको भाडा मैले दिएँ । 

बस आफ्नै गतिमा गुडिरहेको थियो । बिहानै हिँडेकाले पानीबाहेक केही पनि खान पाएका थिएनौँ । छिटै पोखरा पुगेर होटलमा खाना खाएर पार्टी संगठनले दिएको काममा जाने योजना थियो । भोको पेट कच्ची बाटोमा बसले हल्लाउ“दा सबै आलस्य र थकित मुद्रामा थियौँ । बस कच्ची बाटो पार गरी पोखरा एयरपोर्ट पछाडि रातापैरो भन्ने स्थानमा आइपुगेको थियो ।

एक भ्यान प्रहरी बाटो छेकेर बसेको रहेछ । त्यस भूगोलमा पहिला कहिले पनि प्रहरी चेकिङ भएको थाहा थिएन । यद्यपि संकटकालको समय, कतिखेर कहाँ चेकिङ हुन्छ भन्ने थाहा हुँदैनथ्यो । यस्ता चेकिङका क्रममा निर्दोष नागरिक पनि गिरफ्तार हुन सक्थे । गिरफ्तारपछि यातना दिने, हत्या गर्ने र बेपत्ता पार्नेसम्मका घटना हुन सक्थे । यस्ता घटना सरकारी सेना र प्रहरीबाहेक कसैलाई जानकारी हुँदैनथ्यो ।

पेस्तोललाई मैले सुरुमा गोडामा निक्याप लगाएर त्यसैमा राखेको थिएँ । निक्याप सानो भएर दुखाएका कारण कसैले थाहा नपाउने गरी पेस्तोल झिकेर साथमा रहेको प्लास्टिकको थैलोभित्र राखेको थिएँ । प्रहरीलाई देखेपछि गल्ती गरेँछु कि भन्ने पनि लाग्यो । गोडामै भएको भए प्रहरीले देख्दैनथ्यो कि ! त्यसो त प्रहरीले यात्रुका शरीरमा नियालेर हेरेका र छामछुम गरेका पनि थिए । 

‘सर ! त्यो त कडा पो रैछ । कसरी पछारेर भाग्यो ? यस्तो माओवादी त मैले अहिलेसम्म देखेको थिइनँ । कमान्डर रहेछ कि क्या हो ?’ उसलाई झपार्दै अर्काे करायो– ‘चुप लाग् ! यतै कतै लुकेर बसेको होला, फेरि झम्टिन आइपुग्ला !’

पक्राउ परेपछि दायाँ बायाँ हेरेँ । गाडीको झ्यालबाट साथीहरू अ“ध्यारो र निन्याउरो अनुहार लगाउँदै मलाई हेर्दै थिए । पहिले गिरफ्तारीमा परेका साथीहरूले सुनाएका थिए– कस्टडीमा कहालीलाग्दो यातना भोग्नुपर्छ । 

यातनाको झट्का मेरो शरीरमा सञ्चार भएर आयो । सोचेँ– यिनीहरूले मलाई गिरफ्तार गरेर लगे भने अत्यधिक यातना दिएर मार्छन् । मारेनन् भने बेपत्ता पार्छन् । अत्यधिक यातना पाएर मर्नु वा बेपत्ता हुनुभन्दा यहा“बाट फुत्केर भाग्छु । लखेट्दै आउने क्रममा गोली ठोकेर मार्छन् । मर्ने नै भएपछि यातनाले मर्नुभन्दा सिधै गोली खाएर मर्नु ठीक हो ।

मलाई दायाँ–बायाँ समात्ने पुलिसलाई धकेलेर हुत्याइदिए“ र सकेको बल निकालेर अगाडि दौडिएँ । उनीहरू नभाग नभाग भन्दै चिच्याउँदै कराउँदै थिए । केही समयपछि फायर गरे । सायद उनीहरूले मेरो खुट्टामा ताकेर केही राउन्ड गोली चलाएका थिए । भाग्दै गर्दा मेरो अगाडि रहेको ढुंगामा गोली लाग्यो र उछिट्टिएको ढुंगाको टुक्राले मलाई लाग्यो । 

बाँच्ने झिनो आशाले सकेको बल निकालेर म भागिरहेँ । कच्ची रोड कटेर आँखा हस्पिटलपछाडि रहेको खेतको फाँटतिर बढ्दै जाँदा मेरोअगाडि एउटा सानो गोरेटो बाटो आयो । हतारमा म गोरेटो बाटो पछ्याउँदै अघि बढेँ । एउटा घरको आँगनमा पुगेर बाटो टुङ्गियो । अगाडि खेतको ठुलो फाँट देखेँ । कता जाउ“, के गरौँ सोच्दै थिए“ । मेरो पछिपछि प्रहरीहरू ‘चोर चोर समात् !’ भन्दै आइरहेका थिए । प्रहरीले ‘चोर चोर’ भनेको सुनेर त्यस घरका पुरुष मलाई समात्न तम्सिए । 

‘खबरदार ! मलाई समात्लास्, म माओवादीको कार्यकर्ता हुँ !’ मैले हडबडाउँदै भनेँ । उनले पनि सानो स्वरमा भने, ‘भाग भाग खेतैखेत सिधै जाउ ।’ ती अपरिचित न्यायप्रेमी दाजुले मेरो मनोबल थप बढाइदिए । 

नाङ्गो खुट्टा कहिले खेतको आली, कहिले खेतैखेत हुँदै म भागिरहेको थिएँ । घरी चिप्लिएर लड्थेँ । ६–७ वटा गरा पार गर्दा धान माड्दै र हल्लाउ“दै, पानी धमिल्याउँदै भागेको थिएँ । निहुरिएर हिँड्दा भने दाना हालिसकेको धानले मलाई छेल्थ्यो । अलिकति निहुरिएर दायाँ बायाँ हेरेँ– पुलिसले खेतको फाँटलाई घेरा हालिसकेको रहेछ । मेरो मनमा झट्ट आयो, ‘आत्तिएर दौडिनुभन्दा क्यामोफ्लाइजकोे युद्धकला प्रयोग गर्दा बाँच्न सक्छु । 

त्यसपछि म कतै पनि आफ्नो पद छाप नछोडी पुरै क्यामोफ्लज हुँदै २० मिटर जति अगाडि बढेँ र एउटा ठूलो खेतको गराको बिचमा गएर हिलोमा भासिएर बसेँ । प्रहरीहरू जनताको धान खेतलाई परेड स्थलझैँ बनाउँदै मेरो पिछा गरिरहेका थिए । परिस्थिति अनिश्चित थियो । मैले थोरै मात्रै पनि धैर्यता गुमाएँ भने जीवनको समाप्ति नजिकै थियो । 

भेटे भने ‘तैँले हामीलाई धेरै दुःख दिइस्, भोकभोकै दिनभरि हिलो खेतमा डुलाइस्’ भनेर पक्कै पनि कुटीकुटी मार्छन् । मनमा यस्तै कुरा खेलिरहेका थिए । आफ्नै परिवारलाई नभेटेको एक वर्ष जति भएको थियो । घरका बा–आमा, दाजुभाइ र गाउँका साथीहरूको याद आयो । एउटै थालमा खाना खाएका ती सहयोद्धा, जो मोर्चामा ढलेका थिए, उनीहरुले सुम्पेको जिम्मेवारीलाई सम्झिएँ । जनताले माओवादी पार्टीसँग गरेको अपेक्षालाई सम्झिएँ । सबैले मलाई कायर हुन होइन, बलिदान हुन प्रेरित गरे । 

पार्टीको योजनालाई गोप्य राख्न मृत्युलाई सहर्ष स्विकार्नुको विकल्प थिएन, यही मेरो कर्तव्य हो भन्ने अन्तिम निष्कर्ष निकालेँ । साथमा ३०–३५ हजार रुपैयाँ र एउटा पेजर थियो । केही गरी मलाई भेटे भने पेजरमा भएको मोबाइल नम्बरमार्फत पार्टी नेतृत्वसम्म पुग्न सक्छन् । पैसा र पेजरलाई गोडामा लगाएको मसल क्यापमा हालेर धान खेतको हिलोमा घुसारेँ । मनमा डर पैदा हुँदा पिसाब पनि धेरै लाग्दो रहेछ । कहाँ जाने वरिपरि कालले घेरा हालेर बसेको छ । बसेकै ठाउँमा कपडा पनि नखोली बसी–बसी पिसाब फेरेँ । पानी तिर्खा लाग्दा पिसाब फेरेको खेतको पानी खाएँ । 

पोखराजस्तो ठाउ“मा प्रहरीले खेतको गरा–गरा, कान्ला–कान्ला खोज्न सक्थ्यो । माथि आकाशबाट हेलिकप्टर ल्याएर पनि हेर्न सक्थ्यो । त्यसैले धानले बेरिएर बसेँ । दुई घन्टाजस्तो भएको थियो । मेरा पदचाप पहिल्याउँदै प्रहरी म भएतिर आइपुग्यो । 
एउटा प्रहरी करायो, ‘सर ! पानी धमिल्याउँदै यहा“सम्म आएको डोब रहेछ ।’ 

उसलाई अर्कोले आदेश दियो, ‘ख्याल गरेर हेर ! कतै यतै बसेको होला ।’ अर्कोले भन्यो– ‘सर ! त्यो त कडा पो रैछ । कसरी पछारेर भाग्यो ? यस्तो माओवादी त मैले अहिलेसम्म देखेको थिइनँ । कमान्डर रहेछ कि क्या हो ?’

उसलाई झपार्दै अर्काे करायो– ‘चुप लाग् ! यतै कतै लुकेर बसेको होला, फेरि झम्टिन आइपुग्ला !’ खेतको गराको बिचमा बसेर मैले सबै सुनिरहेको थिएँ । मनमनै सोचेँ– डर मलाई भन्दा पनि यिनीहरूलाई बढी लागेको रहेछ ।

केहीबेर उनीहरु यताउता भौँतारिए । केहीबेरपछि फाइरिङको आवाज आयो । मलाई ताकेरै ठोक्यो कि भन्ने लागेको थियो, होइन रहेछ । यतै कतै भए तर्सेर भाग्ला भनेर त्यसो गरेका रहेछन् । म अचल भई बसेको थिएँ । केही क्षणपछि कुनै चहल–पहल सुनिएन ।  दिनभर हिलो खेतमा गडेर बसिरहेँ । बिहानदेखि भोकभोकै भए पनि भोकको अनुभूति भएको थिएन । डरका अगाडि भोक पनि भाग्दो रहेछ । ज्यान बच्यो भन्ने भएपछि भोकको अनुभूति भयो । 

कतै टाढाबाट लुकेर हेर्दै बसेका पनि हुन सक्छन् । उठेर हिँड्ने आँट आएन । धान दुधिलो भएको रहेछ । त्यही दुधिलो धान चपाउँदै थुक्दै गरेँ, करिब आधा माना जति चपाएँ हुँला ।  अँध्यारोले छोपेपछि खेतबाट निस्किएँ । म सम्पर्कमा पुग्दा सबै साथीहरू मलाई खोज्न जानेबारे छलफल गर्दै हुनुहुँदोरहेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवीप्रसाद ढकाल ‘रवीन्द्र’
देवीप्रसाद ढकाल ‘रवीन्द्र’
लेखकबाट थप