बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको तयारी

शुक्रबार, ०८ मङ्सिर २०८०, १९ : ४०
शुक्रबार, ०८ मङ्सिर २०८०

लुम्बिनी । प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारले अन्तिम तयारी गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्त्व विभागको आयोजनामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्ताबेज, आधार, पुष्टाईका सम्बन्धमा  सरोकारवालाहरुसँग गरेको छलफलमा सरकारले तिलौराकोटलाई सूचीकृतका लागि अन्तिम तयारी गरेको जनाएको हो ।

तिलौराकोट कपिलवस्तुलाई विश्वसम्पदा सूचीमा सुचीकृत सम्बन्धमा विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्ताबेज, आधार र पुष्टाईका वियषमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किरातीले सरकारका तर्फबाट गौरवको आयोजनाका रुपमा सूचीकृतका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । तिलौराकोटमा नोभेम्बर २० देखि ३० तारिखसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको समूहले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्ताबेजलाई अन्तिम रुप दिने कार्यक्रम भइरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले गौतमबुद्ध हुर्किएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेर यसको महत्त्व विश्वव्यापी बनाउने बताए । उनले तिलौराकोटलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्दै विश्वसम्पदा सूचीमा सुचीकृतका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । ‘मापदण्ड अनुसार अन्तिम मनोनयन गर्नका लागि सरकारको तर्फबाट म संस्कृति पर्यटन मन्त्रीका रुपमा प्रतिबद्धता गर्दछु, तोकिएकै मितिमा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राखिनेछ,’ मन्त्री किरातीले भने ।

मन्त्री किरातीले तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकृतका लागि निरन्तर खोज अनुसन्धानमा लागेका विज्ञहरुलाई धन्यवाद दिँदै तिलौराकोटलाई विश्वव्यापी बनाउने बताए ।  लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले असोज १४ गते लुम्बिनीमा प्रधानमन्त्रीको विशेष पहलमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेसको लुम्बिनी भ्रमणले बुद्धजन्मस्थल लुम्बिनीको उचाइ विश्वमा एक पाइला माथि उठेको बताए ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री शुसिला श्रीपाली ठकुरीले तिलौराकोट विश्व सम्पदा सूचीका सुचीकृतका लागि सरकारका तर्फबाट आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाइन् । उनले तिलौराकोट जस्ता पुरातात्विक स्थलहरुको विकासको गति ढिलो भएको बताउँदै आगामी दिनमा त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्ध दर्शन र बुद्धको जीवनमा तिलौराकोट दरबारको निकै ठूलो महत्त्व रहेको बताउँदै विश्व सम्पदा सूचीमा सुचीकृत गर्नका लागि कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए । 

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचीकृत गर्ने कुरा सकरात्मक रहेको बताउँदै आफूहरुको तर्फबाट सक्दो सहयोग हुने बताए । उनले २५ वर्षसम्म कपिलवस्तुको खोज अनुसन्धानमा विज्ञहरु लागि परेको बताउँदै सम्पदा सूचीमा छिटो सुचीकृत गरी तिलौराकोटको विकास गर्न सुझाव दिए ।

कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले कुनैबेला कपिलवस्तुलाई राज्यले हेरेन भनेर आफैँ साइकल यात्रामा निस्केको स्मरण गर्दै तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकरणका लागि अन्तिम तयारी हुँदा निकै खुसी लागेको बताए । 

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव भरतमणि सुवेदीले यूनेस्को विश्व सम्पदा सूचीमा सूचिकृतका लागि सरकारकाले सबै पहल र कामहरु गर्ने बताउँदै दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय सरकार र कपिलवस्तुका सबै जनप्रतिनिधिहरुको साथ सहयोगको खाँचो रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप