शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
गन्तव्य

पर्यटनको गन्तव्य ‘डुबरी ताल’, पौने २ करोडको लागतमा मिनी पार्क बन्दै

मङ्गलबार, १२ मङ्सिर २०८०, ०६ : १५
मङ्गलबार, १२ मङ्सिर २०८०

धनगढी । कुनैबेला झाडीले भरिएको, बस्तुभाउको आहालका रुपमा प्रयोग हुने कैलालीको डुबरी ताल अब पर्यटन गन्तव्यमा परिणत हुन थालेको छ । सरकारको १ करोड ७८ लाख ९८ हजारको लागतमा मिनी पार्क निर्माण हुन थालेपछि यो ताल आकर्षक गन्तव्यको रुपमा विकसित हुन थालेको हो ।

कैलालीको कैलारी गाउँपालिका–८, डुढियास्थित ताल जैविक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । जसमा मिनी पार्क निर्माणका लागि संघीय सरकारको ६० र कैलारी गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारी छ ।

कैलारी गाउँपालिकाका इन्जिनियर भरत चन्दका अनुसार मिनी पार्क निर्माणका लागि २०७८ वैशाख ९ गते गाउँपालिका र महादेव खिम्टी अञ्जना खड्का जेभीबिच सम्झौता भइ काम अघि बढाइएको छ । हालसम्म ९० प्रतिशत काम पूरा भएको इन्जिनियर चन्दले जानकारी दिए ।

तालको आधा भागलाई मिनी पार्क बनाउन थालिएको बताउँदै इन्जिनियर चन्दले ७ हेक्टर क्षेत्रफलको वरिपरि ९४० मिटर पर्खाल निर्माण, तालको उत्तर पूर्वी दिशामा प्रवेशद्वार र टिकट घर, दक्षिण–पश्चिमी दिशामा शौचालय निर्माण सम्पन्न भएको बताए ।

मिनी पार्क निर्माणसँगै ताल तथा त्यहाँको जैविक विविधताको संरक्षणमा टेवा पुग्ने र पर्यटन प्रवर्द्धन भइ आयआर्जनको बाटो खुल्नेमा स्थानीयले आशा गरेका छन् ।

शौचालय भवन फिनिसिङ, सौन्दर्यवद्र्धक बिरुवा रोप्ने र बिरुवाको सुरक्षाको लागि टि–गार्ड लगाउने कार्य बाँकी रहेको बताइएको छ ।

सामुदायिक वनसँगै रहेको सो तालको रमणीय दृश्यावलोकनका लागि वरिपरि पद मार्ग निर्माण गरिएको छ भने रमाइलो गर्न जानेहरुको सुविधालाई मध्यनजर गर्दै ६ वटा पिकनिक स्थल समेत बनाइएको छ ।

मिनी पार्कको निर्माण कार्य २०८० फागुन मसान्तभित्रै समापन गरिनुपर्ने सम्झौता भएकाले बाँकी कार्य सम्पन्न गरेर हस्तान्तरण गरिने गाउँपालिकाले जनाएको छ ।

Dubri taal1 (2)

मिनी पार्क निर्माणसँगै ताल तथा त्यहाँको जैविक विविधताको संरक्षणमा टेवा पुग्ने र पर्यटन प्रवर्द्धन भइ आयआर्जनको बाटो खुल्नेमा स्थानीयले आशा गरेका छन् । डुढियाका स्थानीय पुरन चौधरीले ओझेलमा रहेको र पुरिँदै गएको सो प्राकृतिक तालको संरक्षण हुने र पर्यटन प्रवर्द्धन भइ आयआर्जन गर्न सकिने आशा व्यक्त गरे ।

तालको आधा भाग भने माछा पालनको लागि ठेक्का दिइएको छ ।

ऐतिहासिक पक्ष

सो तालको ऐतिहासिक महत्त्व समेत रहेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार धेरै वर्ष पहिले सो ताल क्षेत्रमा केही स्थानीयले खेती गर्न थालेको सुनाउँछन् । केही वर्षसम्म खेती पनि गरियो । तर सो अवधिमा गाउँमा अनिष्ट हुन थाल्यो । मान्छेहरु धमाधम मर्न थाले । मरेका मानिसलाई त्यसै ताल क्षेत्रमा पुरिन्थ्यो ।

Dubri taal (2)

ताल क्षेत्रको अतिक्रमणलाई अझै निरन्तरता दिए पूरै गाउँ नै अनिष्टको दलदलमा डुब्ने गाउँलेहरुलाई सुझेपछि खेतीपाती गर्न छोडिएको बताइन्छ ।

कलान्तरमा अनिष्टको दलदलमा डुबाउने क्षेत्र नै सो ताल क्षेत्र रहेको भन्दै स्थानीयले ताल क्षेत्रलाई डुबरी भन्न थालिएको र नामकरण पनि भएको स्थानीयवासी बताउँछन् ।

Mini park2Dubri taal (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप