मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बागमती भ्रमण वर्ष घोषणा गरिँदै

प्रदेश भन्दा पनि नेपाल चिनाउने प्रयत्न हो: मन्त्री महर्जन
मङ्गलबार, १२ मङ्सिर २०८०, ०९ : ०३
मङ्गलबार, १२ मङ्सिर २०८०

मकवानपुर । बागमती प्रदेश सरकारले सन् २०२४ लाई भ्रमण वर्षको रूपमा मनाउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी वर्ष २०२४ मा अधिकतम पर्यटकहरू भित्राएर बागमती प्रदेशलाई पर्यटकीय रूपमा परिचित गराउने उद्देश्य अनुरूप भ्रमण वर्ष मनाउने तयारीमा जुटेको हो ।

प्रदेश सरकारले भ्रमण वर्ष मनाउने तयारी अनुसार गत कात्तिक २२ मा बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी तयारीमा जुटेको हो । प्रदेशका १३ जिल्लालाई समेटेर धार्मिक, सांस्कृतिक, साहसिक पर्यटनहरूलाई प्रोत्साहन हुने गरी संरचनागत रूपमा विकास गरी पर्यटन वर्ष मनाउने तयारीमा जुटेको हो । प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले पर्यटन वर्ष घोषणाको तयारीमा जुटेको हो । आगामी पुस महिनामा औपचारिक कार्यक्रम मार्फत भ्रमण वर्षको घोषणा गर्ने गरी पूर्व तयारीको कामलाई तीव्रता दिएको हो ।

हवाई मार्गबाट आउने अधिकांश विदेशी पर्यटक सङ्घीय राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएका कारण पर्यटकका लागि बागमती प्रदेश विशेष बन्ने सरकारको अपेक्षा रहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका १० मध्ये ८ सम्पदा बागमती प्रदेशमा रहेकाले पर्यटकहरू आकर्षित गर्न सहजता पुग्ने आङ्कलन गरिएको छ । पर्यटकीय गन्तव्य चितवनको सौराहा, लाङटाङ तथा जुगल हिमाल, सिन्धुपाल्चोक र रामेछापको सिमानामा रहेको सैलुङ पर्यटकीय, दोलखाको जिरी र कालिन्चोक, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाईंकुण्डले पर्यटक आकर्षित गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

धार्मिक र सांस्कृतिक रूपमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा पर्यटकीय क्षेत्रहरू प्रशस्तै छन् । बनेपा, पनौती, धुलिखेलसहित काभ्रेका पर्यटकीय पूर्वाधारले पर्यटकलाई आकर्षित गर्ने अनुगमन गरिएको छ । मकवानपुरको इन्द्र सरोवर ताल, चित्लाङ–दामन–पालुङ क्षेत्र, मकवानपुरगढी, चिसापानी, ढुंगे गढी, सिन्धुलीको सिन्घुलीगढी, हरिहरपुरगढी, चितवको उपरदाङगढीले इतिहासलाई विश्वसामु चिनाउन सक्ष्म हुनुको साथै विदेशी पर्यटकहरू आकर्षित गर्न सघाउ पुग्ने मन्त्रालयको अपेक्षा रहेको छ । पर्यटकीय सम्भावना भएर पनि आवश्यक पूर्वाधार र प्रचार प्रसारको कमीले ओझेलमा परेका स्थानहरूको उजागर गर्न भ्रमण वर्ष सार्थक हुनेछ ।

प्रदेशको पर्यटकीय गन्तव्यहरूको उजागरसँगै व्यवस्थापन र आर्थिक समृद्धिमा नागरिकहरूलाई जोड्न भ्रमण वर्ष मनाउने तयारी गरिएको बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले बताए । प्रदेशका पर्यटकीय सम्भावना बोकेका स्थानहरूमा आन्तरिकसँगै बाह्य पर्यटकहरू भित्राउने सरकारको योजना अनुसार भ्रमण वर्ष घोषणा गर्ने तयारी भइरहेको उनले बताए ।

pukar maharjan

‘प्रदेशमा पर्यटकीय गन्तव्यका थुप्रै पर्यटकीय पूर्वाधारहरू प्रवर्द्धनका लागि प्रदेश सरकारले भ्रमण वर्ष मनाउने तयारी गरेको हो । धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थल, साहसिक खेल, पर्वतारोहण, हस्तकला, कृषि, पर्यटकीय पदमार्ग, हिल स्टेसन, ऐतिहासिक गढी, पार्क तथा तालहरू, व्यापार मेला लगायतका क्षेत्रको प्रवर्द्धन गर्दै आर्थिक उपार्जनमा जोडिन भ्रमण वर्ष महत्त्वपूर्ण साबित हुनेछ ।’ उनले भने ।

भ्रमण वर्ष मनाउनका लागि बैठकले पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० समेत स्वीकृत गरेको उनले बताए । भ्रमण वर्षका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको र उक्त बजेटलाई विभिन्न शीर्षकमा ब्रेक डाउन गरेर काम अघि बढाउने तयारी गरिएको उनको भनाई छ । हाल भ्रमण वर्षमा पर्यटक आकर्षित गर्न गरिने विभिन्न क्रियाकलापको लागि योजना तयार पार्ने प्रक्रिया चलिरहेको उनले बताए ।

प्रदेशका १३ जिल्लाका विशेष क्षेत्रहरूलाई समेटेर पर्यटक आकर्षित गर्ने योजनाहरू तयार पार्ने काम भइरहेको उनको भनाई छ । नागरिकह्रुलाई आर्थिक रूपमा सबल बनाउन भ्रमण वर्ष महत्त्वपूर्ण हुने भएकाले कार्यक्रमहरूमा सबै नागरिकहरूलाई जोड्ने प्रकृतिका हुने उनले बताए ।

‘हामी प्रदेश चिनाउने भन्दा पनि देश चिनाउने प्रयत्नमा जुटेका छौँ । पर्यटकीय रूपमा बागमती प्रदेशसँगै अन्य प्रदेश उत्कृष्ट गन्तव्य हो । भ्रमण वर्ष बागमती प्रदेश लक्षित नभई सिङ्गो देशका लागि फलदायी हुन्छ । सिङ्गो नेपालको धार्मिक, सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटहरु देखाएर आम नागरिकहरूलाई सहभागी गराएर भ्रमण वर्ष मनाउने सरकारको तयारी हो । विशेषगरी बागमती प्रदेशको काठमाडौँ उपत्यकाको धार्मिक, सांस्कृतिक, मकवानपुर, नुवाकोट र सिन्धुलीको ऐतिहासिक क्षेत्र, चितवन, काभ्रे, दोलखा र धादिङको प्राकृतिक वातावरण, सिन्धुपाल्चोक र रसुवाको पर्वतीय तथा साहसिक पर्यटनलाई प्राथमिकता दिइने छ ।’ उनले भने ।

संरचनागत सुधारका प्रयास पनि भ्रमण वर्षको कार्यक्रम अन्तर्गत समावेश गर्ने तयारी गरिएको मन्त्री महर्जनले बताए । भ्रमण वर्षका लागि बजेट अपुग हुने भएकाले सरकारसँग थप बजेट माग गर्ने तयारी भएको उनले बताए । भ्रमण वर्षका लागि करिब १० करोड रुपैयाँ बजेट खर्च हुने उनको भनाई छ ।

२ पटक घोषणामा नै सीमित भयो भ्रमण वर्ष

बागमती प्रदेश सरकारले यस अघि २ पटक भ्रमण वर्ष घोषणा गरे पनि सफल हुन सकेको थिएन । प्रदेश सरकारले चितवनको सौराहाबाट भ्रमण वर्षको कार्यक्रम घोषणा गरे पनि सफलता मिल्न सकेको थिएन ।

प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप भ्रमण वर्षको घोषणा गरे पनि विभिन्न कारणले बिचमा नै रोकिन पुगेको थियो । सङ्घीय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० अन्तर्गत बागमती प्रदेश सरकारले २०७६ पुस १६ गते सोराहमा धूमधामका साथ भ्रमण वर्ष घोषणा गरेको थियो ।

घोषणा लगत्तै कोभिड–१९ महामारीका कारण कार्यक्रम नै रद्द गर्नुपरेको थियो । कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण लामो समय देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था बन्यो र पर्यटन व्यवसाय नै धराशायी बन्न पुग्यो । पर्यटकको आवागमन ठप्प हुँदा सङ्घीय सरकारले भ्रमण वर्षको घोषित कार्यक्रम फिर्ता भएको थिए । सौराहामा झाँकीसहित ¥याली सहित हात्ती चोकबाट गैडाचोकमा पुगेर सभा गरेर तत्कालीन बागमती प्रदेशका सभामुख सानुबाबु श्रेष्ठ, वन पर्यटनमन्त्री अरुण नेपालले भ्रमण वर्षको लोगो अङ्कित बेलुन उडाएका भ्रमण वर्ष घोषणा गरेका थिए । 

प्रदेश सरकारले उक्त अवसरमा सौराहासहित चितवन विमानस्थल, मकवानपुरको इन्द्र सरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम गरेको थियो । प्रदेश सरकारले भ्रमण वर्षका लागि १ अर्ब ६५ करोड रुपैयाँ बजेट पर्यटन प्रवर्द्धनका योजनाहरू पनि अघि सारेको थियो ।

सोही वर्ष प्रदेश सरकारले पर्यटन दशक मनाउने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको थिएन । प्रदेश सरकारले पनि प्रदेश पर्यटन दशक २०२०–२०३० घोषणा गरेको थियो । कोभिड–१९ महामारीको जोखिम लम्बिँदै गएपछि प्रदेश पर्यटन दशकको घोषणा पनि अलपत्र परेको थियो ।

प्रदेश सरकारले गत २०७९ असोज ११ गते पुनः सौराहाबाट प्रदेशस्तरीय घुमफिर वर्षको घोषणा गरेको थियो । कोरोनाले थलिएको पर्यटनलाई उकास्न सरकारले घुमफिर वर्ष घोषणा गरेको थियो ।

तत्कालीन समयमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्ड, संसकृति पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले घुमफिर वर्षको औपचारिक घोषणा गरेका थिए । सो समयमा बेलायतबाट नेपाल घुम्न आएका ६ जना विदेशी पर्यटकलाई स्वागत गर्दै घुमफिर वर्षको उद्घाटन गरिएको थियो ।

प्रदेशभित्र रहेका पर्यटकीय गन्तव्यको विकास गर्ने र स्थापित गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटक भित्राउने योजनाका साथ प्रदेश सरकारले घुमफिर वर्ष घोषणा गरेको थियो ।

घुमफिर वर्षमा प्रदेशको महत्त्वपूर्ण पर्यटकीय तथा धार्मिक सम्पदामा सौराहा, मेघौली, नारायणगढ, मकवानपुरगढी, चित्लाङ, मार्खु, इन्द्र सरोवर, गोसाईंकुण्ड, लामटाङ, शैलुङ, कालिन्चोक, गौरीशंकर हिमाल, पाँचपोखरी, शिवालय क्षेत्र, पशुपतिनाथ, गुहेश्वरी, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, रुवीभ्याली, गणेश हिमाल, स्वयम्भू, नुवाकोट दरबार, सिन्धुलीगढी, हरिहरपुरगढी, नगरकोट, पनौती, धुलिखेल लगायतका गन्तव्यमा पर्यटक लैजाने योजना समेत बनाइएको थियो ।

घुमफिर वर्षको अवसरमा सौराहाका होटेल व्यवसायीहरूले २० प्रतिशत छुटको घोषणा समेत गरेका थिए । तर, आर्थिक सङ्कट र चुनावी वर्षका कारण प्रदेश सरकारको उक्त योजना समेत रोकिन पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप