आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेरक प्रसङ्ग : लिङ्कनको अठोट

बिहीबार, १४ मङ्सिर २०८०, ०९ : ५९
बिहीबार, १४ मङ्सिर २०८०

अब्राहम लिङ्कनको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी अमेरिकाको निकै चर्चित राष्ट्रपतिमध्येका एक हुन् भन्ने पनि धेरैलाई थाहा हुनुपर्छ तर उनी गरिब परिवारमा जन्मेर पनि कसरी त्यहाँसम्म पुग्न सफल भए भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । त्यसैले यहाँ यसै सम्बन्धी जानकारी प्रस्तुत गरिएको छ ।

लिङ्कन सानामा निकै गरिब थिए । जन्म नै गरिब परिवारमा भएको थियो । घरमा दुई छाक खानसमेत धौधौ पर्ने अवस्था थियो । यस्तो अवस्थामा सहज तरिकाले पढ्ने लेख्ने अवसर प्राप्त हुने कुरै थिएन तर उनकी आमा निकै मिहिनेत थिइन् । कडा श्रम गरी खाने अन्न जुटाउने र लिङ्कनलाई पढ्ने र लेख्ने व्यवस्था मिलाउने गर्थिन् । 

उनी चाहिन्थिन् आफ्नो जीवन गरिबीमा बिते पनि छोरा ठुलो मानिस बनेर देश र जनताका सेवा गर्न सकोस् । त्यसैले छोरालाई रातको खाना खाइसकेपछि चुलाको आगोबाट निस्केको अङ्गारले पाटीमा पढ्न र लेख्न सिकाउने गर्थिन् । 

निकै दिनको मिहिनेतपछि उनको श्रमको नतिजा देखिन थाल्यो । लिङ्कनले लेख्न र पढ्न मात्र थालेनन् यसको राम्रो संस्कारसमेत बस्दै गयो । 

जब उनी आफैँले पढ्ने र लेख्नेतर्फ रुचि देखाउन थाले तर भनेजस्तो पुस्तक भने पाउन सकेनन् । उनको नयाँ किताब किनेर ल्याउने हैसियत त यसै पनि थिएन नै । गरिब भनेर हेपिएकाले पुराना किताब दिन पनि हमेसी कोही चाहँदैनथे । तैपनि उनी हिम्मत हार्दैनथे र कुनै तरिकाले पुस्तक कपी जुटाएर पढ्ने गर्थे । 

यत्तिकैमा एक दिन उनले छिमेकी सेठजीको घरमा अमेरिकाको पहिलो राष्ट्रपति जर्ज वासिङ्टनको जीवनीसम्बन्धी पुस्तक छ भन्ने सुने । उनी जसरी भए पनि उनको जीवनी पढ्न चाहन्थे तर पुस्तक पाउने कसरी । त्यत्तिकै सेठजीले पत्याउने अवस्था थिएन । त्यसैले उनको घरमा गएर काम गर्न थाले । चार दिनसम्म काम गरेपछि जब ज्यालाको कुरा आयो तब सट्टामा सोही पुस्तक मागे । 

घरमा पुस्तक त्याएपछि उनले त्यसलाई दो-याइ ते-याइ पढे । यसबाट उनमा धैर्य र साहस मात्र बढेन उनीजस्तै बन्ने इच्छासमेत जागेर आयो र एक दिन सो पदमा पुगेरै छाड्छु भन्ने अठोट गरे । 

नभन्दै मनमा दृढ अठोट भएपछि गर्न नसकिने के रहेछ र । अनेक अप्ठ्यारा र व्यवधान झेलेर वकालत पढे । रातमा टुकीको उज्यालोमा पढ्थे र दिनमा अभ्यास गर्थे । जब उनी पढाइ पूरा गरी वकिल बने त्यसपछि निग्रो जातिको उद्धार कार्यमा जुटे । फलतः उनी एक दिन लामो समयदेखि कायम रहँदै आएको दास प्रथा अन्त्य गर्न सफल भए । यस बाहेक उनले गरेका अर्को महत्त्वपूर्ण कार्य भनेको अमेरिकाको गृहयुद्ध अन्त्य गर्नु पनि हो । 

त्यतिबेला अमेरिकामा लामो समयदेखि गृह युद्ध चल्दै आएको थियो । यस अघिका शासक कसैले पनि त्यसलाई शान्त पार्न सकेका थिएनन् तर लिङ्कनले आफ्ना धैर्य, साहस र सुझबुझपूर्ण व्यवहारद्वारा त्यसमा समेत सफलता पाएका थिए । त्यस बाहेक पनि उनले अमेरिकामा धेरै सुधारका काम गरेका थिए । यही सुधारवादी व्यक्तित्वका कारण आज पनि उनको चर्चा बरोबर हुने गरेको छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप