बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अब ट्राफिक लाइटले कन्ट्रोल गर्छ पोखराका चोकमा गाडी

बिहीबार, १४ मङ्सिर २०८०, १९ : ००
बिहीबार, १४ मङ्सिर २०८०

पोखरा । पोखराका केही चोकमा हेर्दा खिया लागेका पुराना फलामे पाइप देखिन्छ । केही पाइपमा ट्राफिक लाइटको भग्नावशेष पनि छन् । २२ वर्ष अघि पोखरामा पार्किङ ठेक्का लिएको पोखरा कमर्सियल अटो पार्किङ (पिक्याप)ले पहिलो पटक ट्राफिक लाइट राखेको थियो ।

जनयुद्ध र आन्दोलनको समय थियो । राम्रोसँग चल्न नपाइ लाइटहरु तोडफोड भए । त्यस यता पोखराको सवारी व्यवस्थापन ट्राफिक प्रहरीले गर्दै आएका छन् । यहाँ सवारी साधनको चाप बर्सेनि बढ्दो छ । प्रविधिमैत्री व्यवस्थापन नहुँदा भद्रगोल भइरहेको छ । समयसमयमा ट्राफिक लाइट राख्ने चर्चा चल्छ । महिनादिन नबित्दै चर्चा सेलाउँछ ।

अहिले भने सडक विभागले नै पोखराका प्रमुख चोकमा ट्राफिक लाइट जडान सुरु गरेको छ । पोखराका मुख्य चोकमा अहिले ट्राफिक लाइट राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

धेरै पहिलेदेखि नै लाइट राख्ने भनिए पनि बल्ल काम अघि बढेको हो । विभागले नै पोखराका प्रमुख ५ वटा चोकमा लाइट राख्ने काम गरिरहेको छ ।

पृथ्वीचोक, सिर्जनाचोक, सभागृहचोक, विरौटाचोक र जीरो किलोमिटरमा विभागले लाइट राख्न लागेको इन्जिनियर सीना अवलले जानकारी दिइन् । उनका अनुसार एक महिनाभित्र सबै लाइट जडान भइसक्ने छ ।

‘लगभग काम सकिएको छ । बढीमा एक महिनाभित्र सम्झौता अनुसारको काम पूरा हुन्छ,’ उनले भनिन्, ‘यसले पोखराको ट्राफिक व्यवस्थापनमा केही सहज हुनेछ ।’

सवारी चाप बढेसँगै दर्जनौँ ट्राफिक प्रहरी चोकमा दिनभरि सिठ्ठी फुकेर बस्न बाध्य छन् । पोखरा महानगरपालिकाले पनि थप ५ वटा चोकमा लाइट राख्न पहल थालेको छ ।

इन्जिनियर सुदिप दवाडीका अनुसार पहिलो पटकको टेण्डर फेल भएपछि पुनः टेण्डर निकाल्न लागिएको छ । ‘टेण्डर निस्किएको थियो । कम्पनीले आवेदन पनि हाले । तर योग्यता नपुगेपछि क्यान्सिल भयो,’ उनले भने, ‘रि टेण्डरमा जाँदैछौँ ।’

सवा २ करोडमा यसअघि टेण्डर निकालिएको थियो । रत्नचोक, राष्ट्रबैंक चोक, चिप्लेढुंगा र हल्लनचोकमा महानगरले लाइट राख्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यहाँको सवारी चाप थपिँदो छ ।

गण्डकी प्रदेशमा साढे ३ लाख गाडी दर्ता भएका छन् । त्यसबाहेक अन्यत्र दर्ता भएका गाडी पनि पोखरा आउँछन् । पर्यटकीय क्षेत्र भएकाले गाडीमै आएर घुमेर फर्किनेहरु पनि कम छैनन् । अब पोखराका सबैजसो चोकमा लाइटमार्फत गाडीको कन्ट्रोल हुनेछ ।

ट्राफिक लाइट बाहेक संवेदनशील क्षेत्रमा सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ । गाडीको सहज आवतजावतका लागि पोखरा महानगरपालिकाले चोकमा रहेका सालिकहरु हटाएर आइल्याण्ड घटाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप