बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा एचआइभी पोजेटिभ घट्दै

बिहीबार, १४ मङ्सिर २०८०, १९ : ५६
बिहीबार, १४ मङ्सिर २०८०

नेपालगञ्ज । बाँकेमा थप एक सय नौ जनालाई एचआइभी पोजिटिभ देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा १७ हजार तीन सय २८ जनामा एचआइभी परीक्षण गर्दा एक सय नौ पोजिटिभ भेटिएका हुन् । 

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा बिहीबार बाँकेमा आयोजना गरिएको पत्रकारसँंगको अन्तरक्रियामा स्वास्थ्य कार्यालय बाँकेका एचआइभी सम्पर्क व्यक्ति रविन्द्र साहले बाँकेमा अहिले पाँच सय ५६ एचआइभी सङ्क्रमितले एआरटी सेवा लिइरहेको जानकारी दिए । 

पाँच सय ५६ मध्ये चार सय १० बाँके जिल्लाका भएको बताइएको छ ।  भेरी अस्पतालमा सन् २००४ देखि एआरटी सेवा सुरु भएको हो । सरकारले एआरटी सेवा निःशुल्क रुपमा प्रदान गरिरहेको छ । बाँकेमा एचआइभी एड्सबाट अहिलेसम्म एक सय ७२ जनाको मृत्यु भएको तथ्याङ्क छ । भेरी अस्पताल नेपालगञ्जका एचआइभी सम्पर्क व्यक्ति डा सङ्केत रिसालले भेरी अस्पतालको २० नम्बर कोठाबाट रोग पहिचान, परामर्श र निःशुल्क औषधी वितरण गरिरहेको बताए । 

उनले परामर्शकर्ताद्वारा नियमितरूपमा गोप्य परामर्श दिइरहेको जानकारी दिए । “गुम्सिएर नबसौँ, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेर नियमित औषधी सेवन गरे रोग नियन्त्रण हुन्छ”, उनले भने । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बाँकेमा एड्स सङ्क्रमण दर घट्दो क्रममा रहेको बताइन् ।  

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले समाजमा एड्सप्रतिको नकारात्मक धारणा परिवर्तन हुँदै गएको बताउँदै समुदायस्तरमा परीक्षण र परामर्शलाई व्यापक बनाइएको जानकारी दिए । चन्दले नेपालगञ्ज उपमहानगरपालिकाले एचआइभी सङ्क्रमितलाई प्रोत्साहन भत्ता  दिँदै आएको बताए । 

एएचएफका कार्यक्रम संयोजक सञ्जय पौडेलले बाँकेमा एचआइभी सङ्क्रमणदरमा उल्लेख्य सुधार भएको जानकारी दिए । समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ भन्ने नाराका साथ डिसेम्बर १ तारिख अर्थात भोलि ३६औँ विश्व एड्स दिवस मनाइँदैछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप